पाखैभरि फूलबारी, घरभरि माला उन्नेको भीड

पाखैभरि फूलबारी, घरभरि माला उन्नेको भीड
सुन्नुहोस्

तानसेन : पाखैभरि फूलबारी। फूलबारीमा फूल टिप्नेको लावालस्कर। घरभरि ४ सय जना माला उन्ने भीडभाड बनाएर फूल खेतीमा गाउँमा भविष्य देखेका छन् पाल्पाका अर्जुन देवकोटाले। 

पाल्पा पूर्वखोला गाउँपालिका-२ राक्सेका उनले निराशामा परिणत भएको गाउँमा फूल खेतबाट आशाको बिउ रोपिदिएका छन्। उनको फूलबारीमा फूल टिप्ने र घरमा माला उन्नेहरूको मेला नै लागेको छ। 

सयौ व्यक्तिले एकै पटक फूलबारीमा फूल टिप्ने घरै भरी बसेर माला उनेको दृश्यले सिंगो पूर्वखोला गाउँ नै उज्यालो बनाएको छ। भाइटीकालाई लक्षित गरेर देवकोटाले ५६ रोपनी क्षेत्रफलमा पाखैभरी फूल खेती गरेका छन्। 

भाइटीका नजिकिँदै जादा देवकोटाको फूलबारीमा गाउँभरिका सयौ व्यक्तिहरू फूल टिप्न र माला उन्न व्यस्त देखिएका हुन्। लामो समय वैदेशिक रोजगारमा रहेका देवकोटा गाउँघरका बाझिएका जग्गाबाटै सुगन्ध फैलाउने अभियानाका साथ फूल खेतीमा लागेको बताए। 

अर्जुनले सुरु गरेको  काममा श्रीमती पुष्पाले पूर्ण रूपमा सघाएकी छन्। १० वर्षसम्म कोरियामा रोजगारी गरेर स्वदेश फर्किएका देवकोटा आफ्नै जन्मथलो फर्की, बाझिएको जग्गामा फूल खेती गरेर गाउँपालिकामै नमुना कृषक भएका छन्। 

कोरोना संक्रमण र लकडाउनको कारण जन्मथलो छोडी बुटवलमा डेरा गरी बसेका देवकोटा दम्पतिलाई फूल खेतीले गाउँमा हाइहाई बनाएको छ। फूल खेतीको कारण चर्चामा आएका देवकोटा दम्पतिले फूल खेती बढाउन गाउँमा बाझिएका जग्गा भाडामा लिएका छन्। 

आगामी वर्ष कम्तीमा एक सय रोपनीभन्दा बढी जग्गामा फूल खेती गर्ने योजना बनाई बाझिएका जग्गा भाडामा लिएको पुष्पा देवकोटाले बताइन्। बेरोजगार भई बसेका गाउँका युवाहरूलाई बाझिएको जग्गामा फूल खेतीमा सहभागी गराउने योजना देवकोटा दम्पतिले बनाएका छन्। 

देवकोटाको फूलबारीबाट भाइटीकालाई लक्षित गरेर  २० हजार भन्दा बढी माला तथा केही गाडी फूल बुटवल, चितवनको बजारमा गइसकेको छ। फूल खेतीमा हालसम्म ११ लाख रुपैयाँ लगानी गरेका देवकोटाले तिहारमा मात्र २५ लाख रुपैयाँको कारोबार हुने अपेक्षा राखेका छन्। 

देवकोटाले गरेको फूलखेतीले गाउँका युवाहरूलाई उत्साहित बनाएको छ। खेतबारी बाझो राखी बसाइसराई गरेका युवाहरूले देवकोटाले पौरख देखेर  गाउँघरमै फर्कि कृषिकर्म गर्ने योजना बनाएका छन्। विविध कारण बाझिएको जग्गामा देवकोटासँग मिलेर कृषि कर्म गर्ने स्थानीय युवा प्रकाश देवकोटाले बताए। 

फूल खेती गरेर गाउँभरि उत्साह थपेका देवकोटाको प्रेरणाले युवा वर्गलाई होइन पाका पुस्तालाई समेत सक्रिय बनाएको छ। पहाडमा केही भएन, पैसा कमाउन, सहर बजार तथा विदेशै जानुपर्छ, गाउँघर छोड्नै पर्छ भन्ने मान्यता देवकोटा तोडिदिएका छन्। उजाडिँदै गरेको गाउँघर, बाझिँदै गएको खेतबारी, थोत्रिदै भत्किँदै गएका घरघोटहरूले पुनर्जीवन पाउने आशा देवकोटाको कामले गराएको स्थानीय रामप्रसाद आचार्यले बताए। 

गाउँघरका बाँझो जमिनबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ। विदेशमा मात्र होइन स्वदेशमा पनि सजिलै लाखौ रुपैयाँ कमाउन सकिन्छ भन्ने उदाहरण बनेका देवकोटा जस्ता नव उदयमान कृषकहरूलाई स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले टिकाई राख्ने वातावरण बनाई दिनु पर्छ। उनीहरूको कामप्रति सबैले सहयोग र हौसल्ला बढाएमा लाखौं उदयमान कृषकहरू कृषि कर्ममा थपिने छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.