तिहारको रौनक छैन भूकम्प प्रभावित क्षेत्रमा

तिहारको रौनक छैन भूकम्प प्रभावित क्षेत्रमा
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित। तस्बिर : राजेन्द्र कार्की।
सुन्नुहोस्

जाजरकोट : हिन्दु नेपालीहरुको महान चाड तिहारको रौनक देश विदेशमा छाएको। देउसी भैलो खेल्ने, सेल रोटी पकाउने, नाचगान गर्ने, दाजुभाइलाई टीका लगाउने लगायतका उल्लासपूर्ण वातावरणले नेपालीहरुको मनमा हर्सोल्लास छ। तर भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा भने तिहारको कुनै रौनक छैन । 

यसपाली भूकम्प प्रभावित क्षेत्रमा देउसी भैलो खोलिएन । पीडितले न त सेल रोटी नै पकाए । त्रिपाल मुनी कसरी बाँच्ने भनेर चिन्ता परिरहेको बेलामा आएको तिहारको कुनै रौनक छैन । न मादल बजेका छन् न त डेकमा अन्य संगित नै । गाँउहरु सुनसान छन् ।

null

 
भूकम्पको झड्काले घर भत्किएपछि तिहारको लागि भनेर लगाइएका सयपत्री समेत लत्रिर ओइलाउन थालेका छन् । बस्ने घर भत्किएपछि भेरी नगरपालिका १ रिम्नाकी मनिसा चलाउने खुला चौरमा त्रिपाल टाँगेर गुजरा चलाउन बाध्य छन् । उनी बसेको डिलैमा सयपत्री फुलेको छ तर मनिसालाई यतिबेला न सयपत्री जोगाउने चासो छ न माया नै । उनी आफ्नो ज्यान कसरी जोगाउने भन्ने पिरोलोमा छन् । 

५ जनाको जहान घरवारविहीन भएको छ ।  श्रीमान कालापार(भारत) गएका छन् । चार छोरा छोरीको लालनपालन गर्दै आएकी उनको भूकम्पले घर भत्कियो । भएको लत्ताकपडा र खाद्यन्न सबै पुरियो । 'कमाई छैन । छोराछोरी साना छन् । के खाएर बाँच्ने हो’, उनले भनिन्, ‘जेठी छोरी हिजोदेखि बिरामी छ । चिसोले १७ वर्षकी छोरीलाई ज्वरो आउन थालेको छ । यस्तो अवस्थामा कसरी तिहार मनाउनु । भूकम्पले हामी सबैको सातो लगेको छ । फेरि पनि हल्लाइरहेको छ । छोराछोरी त्रासमा छन् । यस्तो अवस्थामा आएको तिहारले हामीलाई गिज्याइरहेको जस्तो लागिरहेको छ ।’

nullपश्चिम रुकुम आठविसकोट नगरपालिका १४ छेपारेकी ६० वर्षीया सरस्वती जैसी  शोकमा छिन्। ३ नाती नातिना र बुहारी गुमाएकी उनी गहिरो पीडामा छिन् । तिहारको कुनै रौनक छैन । त्रिपालमुनि बास छ । घर भत्किएर काठ र ढङ्गाको भग्नावशेष मात्र छ । 'छोरो कालापार भारत गएको थियो । ८ वर्षकी नातिनी र  म सँगै सुतेका थियौं । बुहारी र अरु नातीनातिनी अर्को कोठा सुतेको थिए । १७ कार्तिकमा मध्यरातमा एक्कासी आएको भूकम्पले चार जनाको ज्यान एकै चिहान बनायो । म काठले छेकेर बाँचे ।  साना लालावाला मरेर म बाँच्नुको के नै अर्थ छ र', उनले भनिन् ‘यस्तो बेला आएको तिहारले मन धरधरी रुन्छ । के गर्नु पापी दैवले हाम्रो सबै खुसी खोस्यो ।’

nullभूकम्पमा घर भत्किएपछि नलगाड नगरपालिका १ पालीकी १६ वर्षीया भुमिका पुन घरमै पुरिइन्। गाँउलेले उद्धार गरेर बचाए । सँगै सुतेकी बहिनी विनिताको मृत्यु भयो । अहिले पनि भुमिकालाई त्यही घटनाले झस्काइरहेको छ । बहिनी गुमाउँदाको पीडा एकातिर छ भने आफैं पनि घटनामा परेकोले उनी बेलाबेला त्यही घटना सम्झेर झस्किने र बर्वराउने गर्छिन् । 

उनको घरमा ढपमक्क सयपत्री फुलेका छन् तर बहिनीको शोकमा उनीहरुको तिहार यसपालि हुँदैन। उनको गाँउमा तिहारको कुनै रौनक छैन । बहिनीसहित यसपाली उनीहरु देउसी खेल्ने तयारी गरिरहेका थिए । तर देउसी खेल्ने सपना पूरा नहुँदै भूकम्पले बहिनीलाई निल्यो । 

nullयी त केही प्रतिनिधी पात्र मात्र हुन् । जाजरकोट र रुकुम पश्चिममा गरी करीब ६० हजार बढीले घर छोडेर त्रिपालमा बसेका छन् । केहीले त्रिपालमै टिका लगाउने गर्ने योजना बनाएका छन् । सदरमुकाम खलंगा स्थित कस्तुरी बोडिङ्गको चौरमा त्रिपालमा बसिरहेकी कल्पना खत्रीले भाइलाई बोलाएर त्रिपालमै टीका लगाउने योजना बनाएकी छन् । 

nullजताततै शोक छ । तर पनि आफ्नो परम्परा त्रिपालमै भए पनि निरन्तरता दिने योजनामा कल्पना छिन् । बाहिर तिहारको रौनक नभए पनि त्रिपाल भित्रै भए पनि सामान्य टिकाटालो गर्ने योजनामा धेरै भूकम्प पीडित रहेका नलगाड नगरपालिका ४ का वडाध्यक्ष वद्री पन्तले बताए । कतिपयले भने भूकम्पको पीडामा यसपाली टिका नगर्ने बताएका छन् । पूर्व अर्थमन्त्री जनार्दन शर्माले यसपालि शोकमा तिहारको टीका नलगाउने जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.