भूकम्प प्रभावित क्षेत्रमा दलका स्वयंसेवक

कोही भग्नावशेष खोतल्दै, कोही अस्थायी आवास बनाउँदै

कोही भग्नावशेष खोतल्दै, कोही अस्थायी आवास बनाउँदै
सुन्नुहोस्

सरकारी प्रयत्नले मात्रै भत्केका संरचना व्यवस्थापन गर्ने र पुरिएका खाद्यान्न, लत्ताकपडा, गरगहनालगायतका सामग्री निकाल्न सम्भव नभएपछि प्रमुख दलहरू त्यस कार्यमा सक्रिय भएका छन्।

जाजरकोट : भूकम्प गएको दुई साता पुग्न लाग्यो। तर, जाजरकोट र रुकुमपश्चिमका बासिन्दाले भत्किएका घरबाट मालसामानसमेत झिक्न सकेका छैनन्। त्यसैकारण उनीहरू त्रिपालमुनि ‘जेनतेन’ दैनिकी गुजारिरहेका छन्। सरकारी प्रयत्नले मात्रै भत्केका संरचना व्यवस्थापन गर्ने र पुरिएका खाद्यान्न, लत्ताकपडा, गरगहनालगायतका सामग्री निकाल्न सम्भव नभएपछि प्रमुख दलहरू त्यस कार्यमा सक्रिय भएका छन्। 

प्रमुख विपक्षी एमालेले आफ्नो भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का ७५ जना स्वयंसेवकलाई भग्नावेश व्यवस्थापन र पुरिएका सामग्री निकाल्न परिचालन गरेको छ। पोलिटब्युरो सदस्य एवं जिफन्टका केन्द्रीय अध्यक्ष विनोदकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले शुक्रबारदेखि काम पनि सुरु गरिसकेको छ।

एमालेका स्थानीय कार्यकर्ता र पीडितले उनीहरूलाई सघाइरहेका छन्। ‘अहिले ७५ जना स्वयंसेवकले काम गरिरहेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘अरू साथीहरू पनि आउँदै हुनुहुन्छ। कम्तीमा सय जनाले १५ दिन काम गर्ने लक्ष्य राखेका छौं।’ भत्किएका घरहरूको भग्नावशेष व्यवस्थापन गर्ने र बाटोघाटो बनाउन आफूहरू सक्रिय बन्ने श्रेष्ठले बताए। ‘भग्नावशेष सफा गरेर डेन्जर जोनबाट मुक्त गरिदिन्छांै,’ उनले भने, ‘पुरिएका मालसामान पनि निकालिदिन्छौं।’

भग्नावशेष सफा गरेर अस्थायी टहरा बनाउन लायक ठाउँ बनाउने र सम्भव भएसम्म भत्किएका घरका सामान प्रयोग गरेर अस्थायी टहरा पनि बनाउने लक्ष्य रहेको उनले बताए। जिफन्टका स्वयंसेवकले भूकम्पले भत्किएका घरबाट उत्खनन गरेर मालसामान, छानाका ढुंगा, काठलगायतका सरसामान निकाल्ने काम गरिरहेका छन्। जिफन्टले जस्तै पुरिएका संरचना सरसफाइमा सहयोगी हातहरूको जाजरकोटमा जरुरी रहेको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए। ‘हामी विपद्मा छौं,’ प्रमुख घर्तीले भने, ‘खोज तथा उद्धारको काम सकिए पनि भत्किएका भौतिक संरचना व्यवस्थापनमा सहयोगको खाँचो छ।’  

कात्तिक १७ को भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिमका ६० हजार परिवार त्रिपालमुनि छन्। जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले १ सय ५४ जनाको ज्यान लिएको थियो। करोडौंको भौतिक संरचना ध्वस्त पारेको थियो। तर, पर्याप्त जनशक्ति नहुँदा भत्किएका घरका मालसामान र काठ÷ढुंगा निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। 

सत्तासीन कांग्रेसले पनि एक हजार स्वयंसेवक परिचालन गर्ने जनाएको छ। जाजरकोटका पार्टी सभापति वेदराज सिंहले कांग्रेसले एक हजार स्वयंसेवक परिचालन गरेर कम्तीमा ५ सय अस्थायी घर बनाउने योजना बनाएको जानकारी दिए। भूकम्पबाट पीडितहरूको व्यवस्थापन सहजीकरणका लागि कांग्रेसले दुई महामन्त्रीको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको थियो। 

त्यसपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कात्तिक २३ गते भूकम्प प्रभावित क्षेत्रमा पुगे। उनीहरूले स्थानीय स्रोतसाधन प्रयोग गरेर नमुना अस्थायी आवास पनि बनाए। माओवादी केन्द्रले केही दिनमै पुनर्निर्माणमा स्वयंसेवक परिचालन गर्ने जनाएको छ। अस्थायी संरचना निर्माण र भत्किएका संरचनाका भग्नावशेष हटाउन केही दिनमै कर्णालीका १० वटै जिल्लाबाट आवश्यक स्वयंसेवक परिचालन गर्ने तयारी रहेको कर्णाली प्रदेश कमिटी सदस्य अमरसिंह राठौरले बताए।

नेकपाले जाजरकोट नलगाड नगरपालिका–१ चिउरीका कले कामीको अस्थायी घर बनाइदियो। काठको अस्थायी टहरा बनाउन नेकपाका महासचिव विप्लव र पार्टीका प्रवक्ता प्रकाण्ड आफंै जुटेका थिए। दुई दर्जन स्वयंसेवक भत्किएका संरचनाबाट समान निकाल्न खटिरहेको जिल्ला इन्चार्ज विराजन शाहीले बताए। 

भूकम्पपीडितको सहयोगका लागि दलहरूको भूमिका सकारात्मक भए पनि पर्याप्त नभएको स्थानीयको गुनासो छ। तत्काल भत्किएका संरचना र भग्नावशेष हटाई अस्थायी र स्थायी आवासको व्यवस्था गर्ने स्थान बनाउने, स्थायी संरचनाका लागि आवश्यक अनुदानको ब्यवस्था गर्नुपर्ने, चिसो, भोक र रोगबाट बचाउन पहल गर्नुपर्ने भेरी नगरपालिका–१ जाजरकोटका कृष्ण जंग शाहले बताए। हुन त, भूकम्प गएको भोलिपल्टै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रभावित क्षेत्रमा पुगेका थिए। तीन दिनपछि राष्ट्रपति रामचन्द्र पौडेल पनि पुगे। 

एमालेले भूकम्पपीडितका लागि भनेर प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड, कांग्रेस र माओवादी केन्द्रले ५०/५० लाख रुपैयाँ सहयोग गरे। एकीकृत समाजवादीले २५ लाख दियो। विप्लव नेतृत्वको नेकपाले जिल्ला दैवीप्रकोप उद्धार समितिलाई एक ट्रक राहत सामग्री हस्तान्तरण गर्‍यो। 

कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भूकम्पको एक सातासम्म सुर्खेतमा रहेर राहत तथा उद्धारमा प्रत्यक्ष निर्देशन दिए। माओवादी केन्द्रका उपमहासचिव तथा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत पनि पीडितको घरदैलोमै रहेर खोज उद्धार र राहत वितरणको कार्यमा प्रत्यक्ष सरिक भए। पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पनि प्रभावित क्षेत्रमै बसेर खटिए। नेकपा एमालेका पोलिटब्युरो सदस्यद्वय निरज आचार्य र भैरबसुन्दर श्रेष्ठ, एकीकृत समाजवादीका उपमहासचिव एवं भौतिकमन्त्री प्रकाश ज्वाला पनि प्रभावित क्षेत्रमा पुगेर राहत र उद्धारका लागि आवश्यक निर्देशन दिए।

कांग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाह र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह तत्काल खोज, उद्धार र व्यवस्थापनमा खटिए। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने घटना भएको पर्सिपल्ट पुगेर अवस्था अवलोकन गरी फर्किए। पार्टीकी सांसद डा.तोसिमा कार्की भने भूकम्पबाट घाइतेको उपचारमै क्रियाशील छिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.