अर्जेन्टिना र ब्राजिल पराजित
ब्युनर्सआयर्स : फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा विश्व फुटबलका महारथी अर्जेन्टिना र ब्राजिल पराजित भएका छन्। शुक्रबार बिहान भएको खेलमा विश्व विजेता अर्जेन्टिना उरुग्वे र ब्राजिल कोलम्बियासँग पराजित भएका हुन्।
अर्जेन्टिनाको घरेलु मैदान ला बम्बनेरामा भएको खेलमा पाहुना टोली उरुग्वेले २–० को जित निकालेको हो। उरुग्वेलाई प्रभावशाली जित दिलाउन रोनाल्ड आराउजो र डार्विन नुनेजले एक÷ एक गोल गरेका थिए। खेलको ४१औं मिनेटमा आराउजोले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए।
माटियास भिनाको पासलाई सदुपयोग गर्दै उनले उत्कृष्ट गोल गरेका थिए। त्यसपछि ८७औं मिनेटमा नुनेजले गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरेका थिए।
यस्तै अर्को खेलमा कोलम्बियाले ब्राजिललाई २–१ गोलले पराजित गरेको हो। कोलम्बियाको घरेलु मैदानमा ब्राजिलले खेलको चौथो मिनेटमै ग्याब्रिएल मार्टिनेलीको गोलमा अग्रता लिएको थियो। त्यसपछि खेलको अन्तिम १५ मिनेट सम्हालिन नसक्दा ब्राजिलले पराजय बेहोरेको हो। ब्राजिलको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै लुइस डियाजले ७५ र ७९औं मिनेटमा गोल गर्दै कोलम्बियालाई जित दिलाएका थिए।
हारका बाबजुद विश्व विजेता अर्जेन्टिना शीर्ष स्थानमै छ। अर्जेन्टिनाले पाँच खेलमा १२ अंक जोडेको छ। पाँच खेलमा १० अंक जोडेको उरुग्वे दोस्रो स्थानमा छ। पाँच खेलमा नौ अंक जोडेको कोलम्बिया तेस्रो र पाँच खेलमा सात अंक बटुलेको ब्राजिल पाँचौं स्थानमा छ।