छठका व्रतालुले सुरु गरे निर्जला व्रत
वीरगन्ज : छठ पर्वको दोस्रो दिन शनिबार साँझदेखि व्रतालुहरूले खरना विधि पूरा गरेर निर्जला व्रत सुरु गरेका छन्। सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने उपासना र लोक आस्थाको पर्व छठ विधिवत् रुपमा शुक्रबारबाट सुरु भएको हो।
छठपर्वको पहिलो दिन शुक्रबार नहायखाय विधि सम्पन्न गरिएको थियो। कात्तिक महिनाको शुक्ल पक्षको चतुर्दशी तिथिका दिन बिहान व्रतालुहरूले बिहानै नहायखाय विधि अर्थात नुहाएर खाएका थिए। त्यो दिन व्रतालुहरूले नुहाइ धुवाइ गरी चोखो भई प्याज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए।
कात्तिक शुक्लपक्षको पञ्चमी तिथि अर्थात् पर्वको दोस्रो दिन शनिबार साँझ खरना विधि गरिएको छ। खर्नाका दिन शनिबार साँझ व्रतालु महिला र पुरुषहरूले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर (रसियाव), रोटी ,केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठी मातालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गरेका छन्। यसरी खरना विधि सम्पन्न हुन्छ।
त्यस्तै षष्ठी तिथि अर्थात पर्वको तेस्रोदिन अस्ताउँदो सूर्य र सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत् रुपमा समापन हुन्छ। अन्त्यन्तै निष्ठा र कठोर पर्वका रुपमा मानिने छठमा व्रतालुहरू खरनाको दिनदेखि निराहार व्रत बस्छन्।
वीरगन्जमा शनिबार साँझ खरना गर्दै छठका व्रतालुहरू। तस्बिरः क्रान्ति शाह,वीरगन्ज