राजविराजमा कैदीको मृत्यु
राजविराज : सप्तरी जिल्ला कारागार राजविराजमा कैद भुक्तान गरिरहेका एक कैदीको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ।
कारागारमा कैद रहेका राजविराज नगरपालिका–१५ मुसहर्नियाका ६५ वर्षीय नन्दी भनिने नन्दलाल मण्डलको मृत्यु भएको निमित्त कारागार प्रशासन प्रमुख सदानन्द दासले जानकारी दिए। राजविराज नगरपालिका–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी शव लुकाएको आरोपमा २०७९ कात्तिक १६ गतेदेखि पुर्पक्षमा थुनान रहेका मण्डललाई फागुन १८ गते जिल्ला अदालतले ३ वर्षका लागि कैद सजायको फैसला गरेको थियो।
जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले मण्डललाई हत्या आरोपमा साढे २ वर्ष कैद र शव लुकाएकोमा थप ६ महिना कैद गरी ३ वर्ष कैद सजाय भएको हो। दमको दीर्घरोगी रहेकाले निरन्तर उपचार गरिरहेका मण्डलको पछिल्लो समय खुट्टा समेत सुन्निएको कैदीहरूले जानकारी दिए। कैदीहरूले बताएअनुसार बिहानको खाना खाएर केहीबेर आराम गरेपछि शौचालय गएका मण्डल निक्लेर ट्युवेलमा हातखुट्टा धोइरहेका बेला एक्कासि लडेका थिए।
उनलाई तत्काल गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको कारागार प्रशासनले जानकारी दिएको छ। शव सोही अस्पतालमा रहेको छ।
मण्डललगायतले हत्या गरी फालेको बेचनीको शव २०७५ जेठ ३१ गते उनकै घरको शौचालयको सेफ्टी ट्यांकमा सडेगलेको अवस्थामा फेला परेको थियो। भारत पञ्जाबको जालन्धरबाट २४ वर्षपछि ०७२ असार ११ गते घर फर्केको भनिएका सूर्यनारायण साहले ०७२ सालमै छिन्नमस्ता गाउँपालिका–६ लालापट्टी खुदीबखारीकी बेचनीसँग विवाह गरेका थिए।
उक्त घटनामा मृतकका देवर ३५ वर्षीय मुर्जा भनिने पञ्चदेव साह, निजकी पत्नी ३१ वर्षीया प्रमीलादेवी साह, निजका दाजु डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका ३६ वर्षीय सत्यनारायण साह, राजविराज १५ का २४ वर्षीय धर्मेन्द्र साह र ५० वर्षीय थापा भनिने जिवछ साह ०७५ असार र साउनमा पक्राउ परेका थिए।
उनीहरू पाँचै जना ०७५ भदौ ६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए। अदालतको इजलाशले ०७८ भदौ २७ गते पञ्चदेव र प्रमिलालाई जन्मकैद सजाय भयो। सत्यनारायण साहको हकमा ३ वर्ष कैद सजाय फैसला भएकोमा फैसला मितिमा कैद भुक्तान भएकोले रिहा भएका थिए।
सोही दिन थुनामा रहेका सोही ठाउँका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय जिवछनारायण साहले अभियोगबाट सफाइ पाएका थिए। अदालतमा ०७८ पुस १९ गते हाजिर भएका ३५ वर्षीय जयनारायण साह सोही दिनदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा गएकोमा ०७९ भदौ २९ गतेको इजलाशबाट सफाइ पाएका थिए।
अदालतमा हाजिर भई पुर्पक्षका लागि कारागारमा थुनामा रहेका सोही ठाउँका ५० वर्षीय ताराचन्द्र साह र ६४ वर्षीय गोपीचन्द्र साहले अभियोग दावीबाट सफाइ पाए। ताराचन्द्रसँगै अदालतमा हाजिर भएका नन्दलाल मण्डल भने दोषी ठहर भएका थिए।