विराटनगरबाट लागूऔषधसहित दुई जना पक्राउ
विराटनगर : विराटनगरबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१२ का ३४ वर्षीय विजय खतिवडा र सुनसरीको धरान उपमहानगरपालिका–५ का ४१ वर्षीय सारक तामाङ पक्राउ परेका हुन्।
भारतबाट लागूऔषध खरिद गरेर पैदल नै नेपाल आउँदै गर्दा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई विराटनगर–१६ हुलास चोकबाट दिउँसो २:४५ बजेतिर पक्राउ गरेको हो।
खतिवडा र तामाङको साथबाट एभिल, फेनारगन, लुपिजेसिक र डाइजापाम गरी ३०/३० एम्पुल लागूऔषध बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।