स्वास्थ्य क्षेत्रलाई नीतिगत र कानुनी हिसाबले सुधार गर्छौं : मुख्यमन्त्री कार्की
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य क्षेत्रलाई नीतिगत र कानुनी हिसाबले सुधार गरिने बताएका छन्।
स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गरेर जान प्रदेश सरकार तत्पर रहेको उनको भनाइ छ।
२४ औं राष्ट्रिय दन्त सम्मेलनको शनिबार विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर अघि बढ्ने बताएका हुन्। उनले भने, ‘हामी नीतिगत र कानुनी हिसाबले सुधार गर्ने तयारीमा छौं।’
प्रदेशमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न भिन्नै स्वास्थ्य ऐन ल्याउने प्रदेश सरकारको सोचाइ रहेको चर्चा गर्दै उनले स्वास्थ्य ऐनमार्फत प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले स्रोत साधनले भ्याएमा प्रदेशका अस्पतालमा पनि दन्त चिकित्सक राखिने बताए।
नेपालमा रहेका दन्त चिकित्सक जनशक्तिहरूलाई विदेश पलायन हुनबाट रोक्न हाम्रा अस्पतालका सुधार र व्यवस्थापकीय क्षमतालाई बढाएर काम गर्नुपर्ने कार्कीले औंल्याएका छन्। सम्मेलनमा देशभरका करिब ३ सय दन्तचिकित्सक भेला भएका छन्।
सम्मेलनमा १६ जना वरिष्ठ दन्तचिकित्सकले विविध प्रविधि र अहिलेको अवस्थाका बारेमा प्रस्तुति गर्ने तयारी छ। सम्मेलनबाट आगामी दिनमा गर्न सकिने काम, नयाँ प्रविधि र आमनागरिकलाई सचेतना जोगाउने विषयका साथै उपचारका सन्दर्भमा आएका नयाँ ‘केसस्टडी’ का विषयमा छलफल हुने आयोजकको भनाइ छ।
सम्मेलनमा दाँतको उपचारमा प्रयोग गरिने मेसिन र विभिन्न प्रविधि सम्बन्धी उपकरणहरू समेत प्रदर्शन गरिएका छन्।
प्रतिक्रिया दिनुहोस !