कर छली बढ्दा राजश्व घट्यो
जनकपुरधाम : मधेस प्रदेशका जिल्लाहरूमा पछिल्लो समय कर छली गर्ने परिपाटी बढ्दै गएको तथ्यांकले देखाएको छ।
गरिरहेको व्यापार व्यवसायमा समेत कम मुनाफा देखाउने, भन्सारबाट सामान आयात गर्दा न्यून बिजकीकरण, भ्याट छली, आयकर छली र करको दायरामै नआउने जस्ता परिपाटीले गर्दा राजश्व संकलन प्रभावित हुँदै गएको छ।
आन्तरिक राजस्व कार्यालय जनकपुरले बिहीबार १२औं राष्ट्रिय कर दिवसका अवसरमा आयोजना गरेको कर सप्ताहको समापन समारोहमा कार्यालयद्वारा सार्वजनिक गरिएको तथ्यांक अनुसार अधिकांश करदाताहरू करको दायराभन्दा बाहिर रहेको देखाइएको छ।
धनुषा, महोत्तरी, सिन्धुली र सर्लाही कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय जनकपुरअन्तर्गत आयकर तर्फ करदाताको संख्या ३६ हजार ३७२ रहेको छ भने मूल्य अभिवृद्धि करतर्फ ७ हजार ८९१ करदाता छन्।
अन्त शुल्क तर्फ १ हजार ४७१, व्यक्तिगत तर्फ ८१ हजार ६७ र सरकारी तर्फ ५९९ कर दाता छन्। जसमध्ये आयकर बक्यौता मात्रै ३४० करदाताको रहेको छ। जुन रकम ३१ करोड ९१ लाखभन्दा बढी रहेको छ। त्यसैगरी मुअ कर बक्यौता रहेका करदाताको संख्या ३५४ रहेको छ। जसको कुल बक्यौता ६५ करोड ८९ लाखभन्दा बढी रहेको आन्तरिक राजश्व कार्यालयका कार्यालय प्रमुख किशोर बर्तौलाले जानकारी दिए।
‘करदाताहरू करको दायरामा नआउनु र समयमा कर नबुझाउनुले सम्पूर्ण अर्थतन्त्रलाई नै प्रभावित गर्छ,’ कार्यालय प्रमुख बर्तौलाले भने, ‘कुनै पनि प्रकारले कर छलि गर्नु अपराध हो र यसलाई निरुत्साहित गर्न हामीले सामाजिक जनचेतना फैलाउने कार्यक्रमहरू नियमित संचालन गरिरहेका छौं। ’
अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०७९/८० मा आन्तरिक राजश्व कार्यालय जनकपुरलाई ३ अर्ब ७० करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेकोमा कार्यालयबाट कुल ३ अर्ब ४४ करोड अर्थात् लक्ष्यको ९३ प्रतिशत राजस्व संकलन मात्र गर्न सकिएको कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ।
त्यसैगरी चालु आर्थिक वर्ष २०८०/०८१ को कार्तिक महिनासम्मको राजस्व संकलनको लक्ष्य रु १ अर्ब १० करोड रहेकोमा सो अवधिमा रु ९२ करोड अर्थात लक्ष्यको ८४ प्रतिशत मात्र राजश्व संकलन हुन सकेको हो। चालु आवको कुल वार्षिक लक्ष्य ४ अर्ब ४७ करोड अर्थात गत आवको भन्दा करिब २१ प्रतिशतले बढेको कार्यालयले जनाएको छ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले कर छली मात्र व्यापारी वर्गबाट नभई कर्मचारी, जनप्रतिनिधि र समाजका विभिन्न पक्षहरूबाट भइरहेको दावी गरे। ‘इमान्दार व्यापारीहरूले सक्दो कर बुझाउने प्रयास गर्छन्। तर, केही यस्ता छन् जो करको दायराभन्दा बाहिर बसी चलखेल गरिरहेका छन्। भ्रष्टाचारबाट आर्जन गरिएका अकुत सम्पत्तिहरू र काला धन लुकाएर राखेकाहरूले बढी कर छलि गरिरहेका छन्,’ अध्यक्ष महासेठको भनाइ थियो।
साताव्यापी कर सप्ताहअन्तर्गत सबैभन्दा बढी कर बुझाएका करदाताहरूलाई कार्यालयले सम्मान समेत गरेको हो। सम्मानित हुने उत्कृष्ट करदाताहरूमा उद्योग क्षेत्रबाट जनकपुर रिफाइनरिज प्रालि, व्यापार क्षेत्रबाट नाथ इम्पेक्स प्रालि, बैंक तथा वित्तीय संस्था क्षेत्रबाट जानकी फाइनान्स कम्पनी लिरहेका छन्।
त्यसैगरी महोत्तरी जिल्लाबाट रक्षा ट्रेडर्स एण्ड सप्लार्यस, सर्लाही जिल्लाबाट द साहारा लोन सेविंग्सको ओपरेटिब सोसाइटी लिमिटेड रहेका छन्।