दाहाल नेतृत्वको सरकार विदेशीहरूका लागि कम्फर्टेबल : महासचिव पोखरेल
मुगु : नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको नेतृत्व गरेका पुष्पकमल दाहाल नेतृत्वको सरकार जनताको हितमा नभएको बताएका छन्। उनले दाहाल नेतृत्वको सरकार विदेशीहरूको लागि कम्फर्टेबल भएको आरोप लगाएका हुन्।
नेकपा एमाले मुगु जिल्लाको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सरकार दलाल, पुँजीपतिहरूका लागि कम्फर्टेबल भएको बताए। ' एमालेले भारत भ्रमणमा गएका बेला प्रचण्डलाई नेपालको हितमा सम्झौता गरेर आउन र चुच्चे नक्साका बारेमा कुरा उठाउन सल्लाह दिएको थियो। तर प्रधानमन्त्रीले भारत रिसाउँला भनेर कुरा नै उठाएन,' उनले भने।
राष्ट्रिय पोसाकममा भारत भ्रमणमा गए प्रचण्ड गेरुबस्त्र धारण गरेर देश फर्किएको उनको आरोप छ। उनले भारतलाई रिझाउन प्रचण्डले नेपालको हितमा कुनै काम नगरी १५ वटा मुर्रा राँगा लिएर फर्किएको बताए।
महासचिव पोख्रेलले नेपाली राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस लामो इतिहास बोकेको बताउँदै अहिले दुई वर्षमा प्रधानमन्त्री नेतृत्वका लागि माओवादीको पुच्छर समाउँदै हिँडेको बताए। उनले गठबन्धन सरकारकै कारण अहिले अदालत अदालतजस्तो नभएको आरोप लगाए।
उनले राजसंस्था फर्काउन भन्दै केही राजावादीहरूले नौटंकी गरिरहेको बताए। राजसंस्था फर्काउने कुनै सम्भावन नभएको बताउँदै उनले देशको बिग्रँदो अर्थतन्त्रको मुख्य कारक सरकार भएको बताए।