बुटवल/नवलपरासी : गौतम बुद्धको अखण्ड अस्थिधातु रहेको भनिएको नवलपरासीको रामग्रामको उत्खननमा बुद्वविहारको भग्नावशेष भेटिएको छ। पुरातत्वविद्हरूले प्राचीन पोखरी र विहारको भग्नावशेष फेला पारेका हुन्।
रामग्राममा अस्थिधातु रहेको बौद्ध ग्रन्थहरूमा लेखिए पनि बास्तविक रामग्राम कहाँ हो भन्ने पुष्टि भएको छैन। हालको उत्खननबाट रामग्राम पुष्टि हुने संकेत भेटिएको पुरातत्वविद्हरूले बताएका छन्। स्तूपाको खोजी गर्दै लुम्बिनी विकास कोष, पुरातत्व विभाग, युनेस्कोले रामग्रामको उत्खनन गरिरहेका छन्। उत्खननमा दुह्राम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रोफेसर तथा विद्यार्थीहरूले सहयोग गरिरहेका छन्।
रामग्राममा १९९७ सालमा छोटो अवधिको र सन् १९९८ देखि २००४ सम्म अलि लामो गरी दुई चरणमा उत्खनन भएको थियो। त्यसयता सन् २०२३ नोभेम्बर १ तारिखदेखि ३० सम्म उत्खनन गरिएको हो।
बौद्ध अनुसन्धानकर्ता बसन्त महर्जनका अनुसार बुद्धको महापरिनिर्वाणपश्चात् अस्थिधातु आठ भाग लगाई मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वेठदीप, पावा र कुशीनगरलाई दिइएको थियो। सोही अस्थिधातु निदान गरी आआफ्नो ठाउँमा स्तूपको निर्माण भएको थियो। महर्जनका अनुसार अस्थिहरू यसरी विभिन्न ठाउँमा छरिएर रहँदा संरक्षण नहुने ठानी त्यस बेलाका प्रभावशाली भिक्षु महाकश्यप महास्थवीरको पहलमा राजा अजातशत्रुको समयमा ती स्तूपमा केही बाँकी राखी मगध साम्राज्यको राजधानी राजगिरमा ल्याइएको उल्लेख महावंश (श्रीलंकाली वंशावली) मा छ।
८४ हजार स्तूप बनाउने अभियानका क्रममा सम्राट अशोक भिक्षु महाकश्यपले बाँकी छाडेका अस्थिधातुहरू संकलन गर्न हिँडेका थिए। तर, रामग्राम स्तूपको संरक्षण गरेर बसिरहेका नागहरूले अस्थिधातु झिक्न नदिएको प्रसंग पनि सोही वंशावलीमा उल्लेख छ। अन्य स्थानका अस्थिधातुहरू खण्डित गरी हजारौं स्थानमा छरिएपछि रामग्रामको अस्थिधातु अखण्ड रूपमै रहेको छ।
रामग्राम स्तूपको उत्तर पश्चिमपट्टी गरिएको उत्खननबाट प्राचीन बिहारका भग्नावशेष र पोखरी भेटिएको उत्खननकर्ताले जानकारी गराए। विज्ञहरूको टोलीले २० दिनदेखि रामग्राम स्तूप उत्खनन र पण्डितपुरमा भौगर्भिक सर्भे गरेको थियो। पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले रामग्राममा प्राचीन विहारका भग्नाअवेष पर्खाल, पोखरी र अन्य प्राचीन सामग्रीहरू फेला परेको जानकारी दिए। उनले रामग्राम स्तूपको बारेमा हजारमिटरभन्दा बाहिरीको क्षेत्रमा पनि अनुसन्धान गर्नुपर्ने बताए। उनले पण्डितपुरमा गरिएको भौगर्भिक सर्भेले जमिनमुनि प्राचीन सहर रहेको देखिएको उनले बताए। उनले कोलिय राज्यको सहरका रूपमा पण्डितपुर हुनसक्ने आधारहरू देखा परेको बताए।
उत्खनन र भौगर्भिक सर्भेका बारेमा बेलायतको दरहम् विश्वविद्यालयका प्रा. डा. रविन कनिङघमले रामग्राम स्तूप निकै महत्वपूर्ण प्राचीन सम्पदा भएकाले यहाँको महत्व पुष्टिका लागि उत्खननले ठूलो सहयोग गर्ने बताए। उनले आफूहरू प्राविधिक रूपमा रामग्राम स्तूपका प्राचीन संरचनाहरू पत्ता लगाउने भए पनि यसको संरक्षण स्थानीयहरूले नै गर्नुपर्ने बताए।
रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बुद्धको अस्थिधातु रहेको रामग्राममा सरकारले प्राथमिकताका साथ उत्खनन र संरक्षणको काम गर्नुपर्ने बताउँछन्। ‘अहिले भएको उत्खननबाट फेला परेका प्राचीन अवशेष र संरचनाले उत्साही बनाएको बताउँदै यस्ता उत्खननको मात्रा बढाउनुपर्छ, उनले भने। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले रामग्राम स्तूपमा गरिएको भौगर्विक सर्भेमा देखिएको संरचनालाई अहिले गरिएको उत्खननले पुष्टि गरेको बताए।
उनले बुद्वविहारका भग्नावशेष पर्खाल, पोखरी फेला परेकाले रामग्राम स्तूपको पुरातात्विक महत्व थप उजागर भएको बताउँदै लुम्बिनी विकास कोषले रामग्राम स्तूपको विकासलाई गति दिने गरी योजना बनाएको बताए। उनले रामग्राम स्तूप क्षेत्र कोषकै कार्यक्षेत्रभित्रमा पर्ने भएकाले यसको व्यवस्थापनका लागि स्थानीय स्तरमा उठेका सवाललाई सम्बोधन गर्नेसमेत प्रतिबद्धता जनाए।
रामग्राममा भेटिएका पुरातात्विक भग्नावेशष र वस्तुहरूको कालअवधि (समय) पत्ता लगाउनका लागि यो पटकको उत्खननले सहयोग गर्ने लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले बताए।