देशभरका कारागारमा योग शिविर सञ्चालन
काठमाडौं : कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ। आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीलाई लक्षित गर्दै सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने अभियानअन्तर्गत देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको हो।
नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ। यसअघि नक्खु, भीमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भइसकेको छ। - रासस