काठमाडौं र चितवनको खेल बराबरीमा सकियो
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करणअन्तर्गत साविक विजेता काठमाडौँ रेजर्स र चितवन एफसीबीचको खेल बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। खेलमा पहिलो अग्रता भने चितवनले लियो। चितवनले खेलको ८६औँ मिनेटमा गोल पहिलो अग्रता लियो। चितवनका लागि नवयुग श्रेष्ठले गोल गरे। तर चितवनको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा काठमाडौंले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए। काठमाडौंका जुनियर एकेनगुएले एक गोल फर्काएर खेललाई बराबरीमा ल्याएका हुन्। यससँगै काठमाडौंले प्रतियोगितामा दुई खेलबाट ४ अंक जोडेको छ। चितवनले भने १ अंक जोडेको छ। काठमाडौंले पहिलो खेलमा इलामलाई पराजित गर्दै विजयी भएको थियो। यता चितवन भने पोखरासँग पराजित भएको छ।