आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनीत एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।
काठमाडौं : सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाई अर्थात् २० सांसद् आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन् । विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छवर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसद्को कार्यकाल सकिँदै छ ।
नेपाली कांग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ रायमाझी, नेकपा (एमाले) बाट इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई, (नेकपा माओवादी केन्द्र)बाट बिना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा) बाट प्रमिला कुमारी, नेकपा (एकीकृत समाजवादी) बाट नन्दा चपाइँ र सिङबहादुर विश्वकर्मा, स्वतन्त्र डा. खिमलाल देवकोटा तथा र मनोनित डा विमला पौड्यालको कार्यकाल सकिन लागेको हो ।
बैठकले जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माणका लागि सुरक्षा निकायलाई परिचालित गर्ने निर्णय गरेको छ । जिल्लामा जनशक्ति अभाव भएमा प्रमुख जिल्ला अधिकारीको मागका आधारमा थप जनशक्ति खटाउने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।
बैठकले नेपाल इञ्जिनीयरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्नेगरी उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने निर्णयसमेत गरेको छ । –रासस