आबुधावीस्थित नेपाली दूतावासको प्रधानमन्त्रीले गरे निरीक्षण, सेवा प्रभावकारी बनाउन निर्देशन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले युएईको आबुधावीस्थित नेपाली दूतावासको निरीक्षण गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८)मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री दाहालले बिहीबार दूतावासको निरीक्षण गरेका हुन्।
उनले युएईका राजदूतसहित कार्यरत कर्मचारीहरूसँग अन्तर्क्रियासमेत गरेका छन्। युएईमा रहेका नेपाली समुदायको हितमा काम गर्न प्रधानमन्त्रीले निर्देशनसमेत दिए। उनले दूतवासले प्रदान गर्ने सेवालाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री दाहालले शनिबार अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्दैछन्। उनले हिमालमा देखिएको समस्या निराकरणका लागि विश्व समुदायको ध्यानकर्षण गराउने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।