खेल संघ वर्गीकरण गर्ने राखेपको तयारी
काठमाडौं : खेल क्षेत्रमा लामो समय क्रियाशील खेल विज्ञलाई समेट्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई वर्गीकरण गर्ने तयारी सुरु गरेको छ। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ परिच्छेद २ को नियम ३ बमोजिम समिति र राखेपका सदस्यसचिवबाट खेलको वर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद्मा पेश गर्ने व्यवस्था भए अनुरुप राखेपका पूर्व सदस्यसचिव युवराज लामाको संयोजकत्वमा सात सदस्यीय खेलको बर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको छ।
कार्यदलको सदस्यमा राखेपका पूर्व उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सहमहासचिव पीताम्बर तिम्सिना, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा, माउन्टेन स्पोर्ट्स संघका अध्यक्ष गोविन्दप्रसाद भट्टराई छन्। प्राविधिक प्रतिनिधिमा रञ्जन थापा तथा सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई छन्।
खेल संघलाई क्रियाशील बनाइ खेलकुद गतिविधिलाई प्रभावकारी बनाउन सदस्यसचिव घिसिङले कार्यदल गठन गर्ने निर्णय गरेका हुन्। कार्यदलले विस्तृत अध्ययन गरी २१ दिनभित्र सदस्यसचिव घिसिङ समक्ष प्रतिवेदन पेश गर्नुपर्ने छ।