अलंकार र उपमा देउडा गीतका सम्पत्तिा हुन्। निकै मेहनतका साथ तयार पारिएका मौलिक भाकाहरू कता हराउँदै छन् ?
कर्णालीमा पुल छैन टीकापुर ताल् पण्यो
२०२१/०२२ सालतिरको गीत हो यो। कैलालीको टीकापुरमा तत्कालीन मन्त्री खड्गबहादुर सिंहले राजा महेन्द्रको सल्लाहअनुसार टीकापुरमा बस्ती बसाले। पहाडका मानिसहरूलाई बसाइँसराइको व्यवस्था मिलाए। हालको टीकापुरको सहरी योजना त्यसबेलाको अवधारणा हो। साथै टीकापुर बगैंचाको निर्माण गरी नेपाल (काठमाडौं) बाट राजा, राजपरिवार र अन्य मान्छेलाई स्वास्थ्य सुविधा दिलाउन र अवलोकन गर्न उचित व्यवस्था पनि खड्गबहादुर सिंहले गरे।
टीकापुर बगैंचा राजा महेन्द्रको निर्देशनमा निर्माण भएको थियो। झन्डै तीन बिघामा निर्मित सो बगंैचा हालसम्म पनि पर्यटकीय दृष्टिले उचित गन्तव्य मानिन्छ। छेउमा कर्णाली नदी बगिरहने, आकर्षक रुखबिरुवा, मैदान र खरले छाएका आकर्षक घरहरूको शोभाले शोभित देखिन्छ टीकापुर बगैंचा। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बजारबाट दक्षिणमा पर्दछ टीकापुर शहर। जहाँ अछाम जिल्लाका मानिसको बसोबासको बाहुल्य छ। कैलालीका अन्य ठाउँभन्दा कर्णाली नदीका कारण यो ठाउँमा गर्मी कम महसुस हुन्छ।
त्यसबेला कैलाली, कञ्चनपुर, बर्दिया, कोहलपुरजस्ता तराईंका भूभागमा बस्नु भनेको काल निम्त्याउनु हो भन्ने गर्थे बुढापाका। प्रचण्ड गर्मीका कारण सर्प, बिच्छीहरूको टोकाइको डर, औंलोको प्रकोप आदि कारण पहाडी मूलका मानिस सित्तैमा खाली जमिन पाए पनि बस्न रुचाउँदैन थिए त्यसबेला। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया (जसलाई नयाँ मुलुक पनि भनिन्छ) का धर्तीपुत्र मानिएका चौधरीहरूले भने जाडो, गर्मी सबै सहेर बसेका थिए।
उनीहरूको संस्कृति पहाडी मूलका बासिन्दाको भन्दा फरक छ। माघी थारु जातिको महŒवपूर्ण पर्व हो। मादल बजाएर आफ्ना प्राचीन संस्कृतिका गीतहरू गाउनु पिता, पुर्खाहरूले लगाउँदै आएका लुगाकपडा, गरगहना पहिरिएर सामाजिक संस्कारमा देखा पर्नु थारू जातिको विशिष्ट सांस्कृतिक गुण मानिन्छ। त्यसबेलादेखि थारुहरू आफ्नै रीतिरिवाजका गीतमा रमाउँदै आएका छन्।
हाल देउडा, होलीमा पनि रमाउने गरेको देखिन्छ। बसाइँसराइको क्रममा पूर्वमा झापा, मोरङ, सुनसरीदेखि चितवन, मकवानपुर, कपिलवस्तुलगायत सुदूरपश्चिमका तराईंका जिल्लामा पहाडी मूलका हाम्रो एउटै शैली देखिन्छ। समावेशिताको यो सद्भावपूर्ण नमुना पनि हो। आफूसँगै संस्कृति र संस्कार बोकेकोले भावर प्रदेशमा विस्तारै पहाडी गीत र संगीतले प्रवेश पायो। सुदूरपश्चिममा देउडा गीत र अन्य विविध संस्कृतिले मौलाउने मौका पाएको पनि यही कारणले हो। ती गीतमा त्यसबेलाको भावर क्षेत्रको रहनसहन जनजीविका र बसाइँसराइका विविध पक्षलाई बुढापाकाले र देउडिया (गीत रचना गर्ने व्यक्ति) हरूले दुरुस्त उतारेको पाइन्छ।
हात्तीले मचण्काई ल्यायो लाल्झाडीका केला
सम्झन्छु धुणुक्क रुन्छु साई सम्झेका बेला
लालझाडी (कञ्चनपुरको घनघोर जंगल) केराहरूका लागि प्रख्यात मानिन्छ। त्यसबेला तराईका चारकोशे झाडीमा गैंडा र हात्तीको बासस्थान थियो। अहिले लालझाडीमा मानवबस्तीका कारण जंगली जनावरहरूको उपस्थिति देखिन्न। बर्दिया राष्ट्रिय निकुञ्जबाहेक शुक्लाफाँटा निकुञ्जमा पनि हात्ती, गैंडाको कमी आएको देखिन्छ। उसबखत हात्तीले केरालगायत अन्य बाली नष्ट गरिदिन्थे। जनावर र औलोको डरले भावरमा बस्ने मानिस जन्मभूमि पहाडको चिसो हावापानी, फलफूल र साई (लोग्ने मानिस) सम्झेर धुणुक्क रुने गर्थे। गीतले यही सन्देश दिन्छ।
यसैगरी भावरको गर्मीले दुःख पाएकी महिलाले पहाडको सम्झना गर्दै यस्तो गीत गाउँछिन् –
फल काफल् पाकिग्या हुन् मेरा माइती देश
सम्झी झाया मेरी इजु (आमा) आउला पुल्ती भेष
तीसको दशक अघिसम्म अस्पताल, बिजुली, सडक आदि कुनै पनि सुविधा नहुँदा भावर प्रदेशका मानिसहरूलाई जीवनयापन गर्न कठिन थियो। बिरामी परेको खण्डमा कि त भारतभूमि जानु पर्दथ्यो कि त जडीबुटी सेवन गर्नु पर्दथ्यो। त्यसबेला एउटा गीताङ्गीले बिरामीलाई देखेर भन्यो –
बिच्छीले टोक्याको मान्छे बाँच्न्या हो कि होइन
मेरा पहाड नगैकन मन्का जसो भैन।
बझाङ, बाजुरा, डोटीका मानिस तीसको दशकतिर नुन, तेल, कपडाका लागि भारतको टनकपुर जाने गर्दथे। यता कर्णाली र अछाम, दैलेखका मानिसहरू चिसापानीको बाटो हुँदै कटासे (हाल बजार सो बजार बन्द गरिएको छ) टीकापुर, सत्ती जाने गर्थे। टनकपुर जाने मानिसलाई गाउँघरमा हटारु भनिन्थ्यो। हटारुहरू शारदा ब्यारेज (वनवासाको पुल, जुन पुल अंग्रेजहरूले बनाएका थिए) भएर अहिलेको जस्तै ओहोर—दोहोर गर्थे। गड्डाचौकीमा भन्सार थियो। सोझा नेपाली हटारुलाई ठगठाग गरी तर्साउने भारतीय सीमा कर्मचारीहरूको त्यसबेलाको काम देखेर एक जना हटारुले सुनाएको देउडा गीत यस्तो छ –
ठौर ठौर पुलिस बस्या वन्बासाका पुल
घर झाउ कि यै बसौंकि भन् पदमका फूल।
अलङ्कार र उपमा देउडा गीतका सम्पत्ति हुन्। देउडा गीतले भारतीय प्रहरीलाई पदमको फूलको संज्ञा दिएको छ। तर, पनि हटारुलाई दुःख दिन उनीहरूले छोडेका छैनन्। यस्ता किसिमका भावर प्रदेशका घटनाले पहाडका गीताङ्गीलाई दुःख दिइरहेको छ। ४०/४५ वर्षदेखि सेती महाकालीका पहाडी बासिन्दाको बसाइँसराइको प्रमुख गन्तव्य बन्दै आइरहेको छ कैलाली जिल्लाको सदरमुकाम धनगढी, आसपास र कञ्चनपुर जिल्लाका जमिनहरू।
कुनै बेला कौडीमा नबिक्ने जमिन अहिले काठमाडौंको महँगो ठाउँ जस्तै भइरहेछ। विस्तारविस्तार हरेक सुविधा प्राप्त भएकाले पनि यसो भएको हुन सक्छ। कसैलाई माथामाथ कसैलाई पुर्पुरोमा हात बनिरहेछ धनगढी र कञ्चनपुरका बस्तीहरू। यही सन्दर्भलाई लिएर एक जनाले गीतमा भावव्यक्त गर्यो।
‘धनगढी धनगढीभन्दा धनगढी धन् छ कि
मेराई जसो पहाड् बस्न्या साई तम्रो मन् छ कि ?
धनगढीको महँगी, गर्मी, लामखुट्टेको टोकाइ, मलेरियाको प्रकोपलगायत नानाथरी रोगव्याधीबाट ग्रस्त एक जना गीताङ्गीले पहाडमा बस्दै आएकी आमालाई सम्झेर यसो भने –
पहाड पड्कन्या धारा जलेवा नान्नाकी
कैल्यै सुदिन् फर्कन्नाकी यसाई दिन् झान्नाकी ?
आमा ! यसै दिन झान्नाकी ?
पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु कञ्चनपुर जिल्लाको गड्डाचौकी ऐतिहासिक ठाउँ हो। कञ्चनपुरको भन्सार कार्यालय यही छ। २०२८ फागुनमा यो पंक्तिकार त्यहाँ पुग्दा महाकाली नदीको तीरैमा भारतीय सुरक्षा बल बसेको थियो। २०४५ सालमा गीति क्यासेटको सन्दर्भमा पुग्दा सो सुुरक्षा बल झन्डै आधा किलोमिटर नेपाल भूमिमा सरेको देखियो। २०५७ सालतिर नेपालको भूमि मिचेर जंगी पिल्लर हटाएर एक किलोमिटरसम्म अतिक्रमण गरेको प्रस्टै देखियो। हाल सो बलमिचाइँले भारतीयहरू झन्डै दुई किलोमिटर जति नेपाली भूमिमा अन्तर्राष्ट्रिय कानुनविपरीत बसिरहेछन्। यता नेपाल सरकार भने दुवै देशका प्रधानमन्त्री बीचको सम्बन्ध र नेपाल भारतको सांस्कृतिक सम्बन्ध सुमधुर रहेको भनी मक्ख परिरहेछ। यसबारे देउडा गीताङ्गीले भने –
भारत् भन्नु ठूलो माछो नेपाल खाई हेल्यो
गड्डाचौकी भारतीले घर् पनि लाई हेल्यो।
कैलाली कञ्चनपुरमा पहाडी मूलका मानिसको बसोबास दिनप्रतिदिन बढ्दो छ। २०४५ सालदेखि २०६० सालसम्म देउडा गीतका मौलिक गीति क्यासेट सुदूरपश्चिममा पंक्तीकारले गीति क्यासेट वितरण गर्दा तराई तथा तराईवासी पहाडी मूलका असंख्य नरनारी घरको सम्राईले गीत सुनिरहन्थे। अब क्यासेटको जमाना हरायो। मोबाइलमा यूट्युबको जमानामा आयो। निकै मेहनतका साथ तयार पारिएका ती मौलिक भाका कता हराउँदै छन् ?
जुन राष्ट्रिय चिन्ताको विषय हो। साथै गौरापर्व बिसुपर्वजस्ता पर्वहरूले यो ठाउँमा प्रवेश पाएकाले भावर भूमि पहाडी संस्कृतिले रंगीन भएको भने देखिन्छ। यही भावलाई गीतमा पोखिएको पाइन्छ –
भाग्यमानी सहर बस्या मोटर घुइकाउँदा छन्
अभागी पहाडका कुना भारी चुइकाउँदा छन्।