न्याय मरेको रहेनछ
दुखजिलो गरेर हुर्काएको छोरो कलेज पढ्दै थियो। छोरोले पढेर जागिर खाई सुख देला भन्ने बेलामा त्यस्तो घटना भयो। मेरो एउटा मात्रै छोरा हो। छोरा त मारियो तर न्याय नपाइने हो कि भनेर दिनरात छटपटी हुन्थ्यो। चिन्तै चिन्तामा, पिरैपीरमा साढे तीन वर्ष बित्यो। न्यायका लागि काठमाडौंसम्म पुग्यौं।
माइतीघर मण्डलामा धर्ना दियौं। जुलुस निकाल्यौं। के नै पो गरेनौं र ? श्रीमान तारेक थाम्न रुकुमपश्चिम जाँदा–जाँदा हैरान भइसक्नुभएको थियो। अपराधी बचाउन नेताहरू नै लागेका छन् भन्ने हल्ला थियो। त्यस्तो कुरा सुन्दा मन निकै दुख्थ्यो। हामी गरिबलाई कसले पो हेर्छ र भन्ने लाग्थ्यो। अनि रातदिन छोराकै सम्झनाले सताउँथ्यो।
अपराधमा संलग्नलाई सजाय मिलेको छ। जन्म कैद भएको छ। मेरो छोराको हत्या गर्ने हत्याराहरू आजीवन काराबास नै बसेको सुन्न र देख्न पाऊँ । कुनै पनि बहानामा नछुटून्। केही अपराधीलाई सजाय कम भएको पाएका छौं। युवती र उनकी आमालाई दुई वर्ष मात्र सजाय भएछ। तर, पनि अदालतको फैसलाप्रति सन्तुष्ट छौं। अदालतप्रति हाम्रो उच्च सम्मान छ। ४२ महिनासम्म पनि फैसला नहुँदा न्यायको आस मरिसकेको थियो। तर, ढिलै भए पनि आएको फैसलाले न्याय मिलेको अनुभूति भएको छ।
(नेपाली, सोती घटनामा हत्या गरिएका नवराज विककी आमा हुन्।)