नेपालका आरुष भट्टराईले जिते ‘ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल’अवार्ड
काठमाडौं : मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल’अवार्ड जितेका छन्। नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशका प्रतिस्पर्धीलाई पछाडि पार्दै पुरुष समूहको उपाधि हासिल गरेका हुन्।
स्याली क्राउन ब्युटी कन्सल्टेन्सले आयोजना गरेको ‘ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल २०२३’ कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टलिजेन्ट र ग्रान्ड विनर किड्स युनिभर्स विधामा जित हात पारे।
यस कार्यक्रममा नेपालसहित भारत, मलेसिया लगायत देशका बालबालिका सहभागी भएका थिए। प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन समेत प्रवर्द्धनसमेत गरेका थिए। आरुषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनलको उपाधि हासिल गरेकी थिइन्। प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए। प्रतियोगितामा सहभागी दुवै बालबालिकाको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी हुन्।
यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्धारा काठमाडौंमा आयोजित ‘किड्डी फेस अफ द इयर २०२३’ का सिनियर केटा समूहको उपाधि हासिल गरेका थिए। एल्भिरा ‘लिटिल प्रिन्सेस इन्टरनेशनल २०२३’ को पनि विजेता हुन्।