अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने प्रहरीको फन्दामा
काठमाडौं : वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको टिकापुर घर भइ हाल काठमाडौंको कोटेश्वर बस्ने २८ वर्षीय रमेश न्यौपाने नयाँ बानेश्वरस्थित सिभिल अस्पतालबाट पक्राउ परेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले पीडितले दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा न्यौपाने बानेश्वरबाट पक्राउ गरेको जानकारी दिए।
पीडित गणेश अधिकारीसमेत पाँचजनालाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने बहानामा प्रतिव्यक्तिबाट ४५ लाख लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक तीन लाख तबल हुन्छ भनी प्रलोभनमा पारी ४५ लाख रुपैयाँले लिइ न्यौपाने फरार रहेका थिए।
रकम लिइ न्यौपाने फरार भएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन्। थप अनुसन्धान र कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।