ओलीले गरे बागलुङ कालिकाको दर्शन

ओलीले गरे बागलुङ कालिकाको दर्शन
सुन्नुहोस्

बागलुङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरको दर्शन गरेका छन्।  

मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा बिहीबार  बागलुङ आएका ओली र उनकी श्रीमती राधिका शाक्यले विशेष पूजा आराधना गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए।

पूजा आराधनापछि कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले काठबाट बनाइएको मन्दिरको मूर्ति उपहार दिएका थिए। अध्यक्ष ओलीसहित मन्दिर पुगेका उपमहासचिव प्रदीप ज्ञवाली लगायतको टोलीलाई गुठी व्यवस्थापन समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए। 

अध्यक्ष ओलीले मन्दिरमा राखिएको आगन्तुक पुस्तिकामा सुझावसहित हस्ताक्षर गरेका छन्। बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हो। मन्दिरमा देशभरीका दर्शनार्थीहरू र छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गर्दछन्। 

मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोका रूपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास रहेको अध्यक्ष खड्काले बताए।

बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरूको मनले चिताएको कुरा पुग्छ भन्ने बिश्वास रहँदै आएको छ। मन्दिरको दर्शन गर्न जानेहरू विशेष गरी पुत्र नहुनेलाई पुत्रफल, सन्तान नहुनेलाई सन्तान, विवाह नभएकालाई उचित बरवधु, परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ।

कालिका भगवती मन्दिरमा वर्षको दुई पटक चैते दसैं र वडा दसैंमा दर्शनार्थीहरूको भिड लाग्ने गर्दछ। मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरी नै दर्शनार्थीको चहलपहल हुने गर्दछ। 

मन्दिरमा प्रत्येक मंगलबार, शनिबार र अष्टमी लगायत विभिन्न तिथिहरूमा भक्तजनहरूको बढी भीड लाग्ने अध्यक्ष खड्काले बताए। माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरूको भीड कम हुने गरेको अध्यक्ष खड्काको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.