गाँजा खेती नष्ट गर्दै प्रहरी
मलंगवा : सर्लाहीको उत्तरी क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका-१४ नारायण खोलामा लगाइएको करिब १५ बिगहाको गाँजा खेतीलाई शुक्रबार प्रहरीले नष्ट गरेको छ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको नेतृत्वमा पुगेका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले गाँजा खेती नष्ट पारेको छ। चुरे पहाडको भिर पाखा तथा फाँटहरूमा लगाइएका गाँजाको बिरुवालाई प्रहरीले काटेर नष्ट बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारले बताए।
अन्कन्टार ठाउँमा गाँजा खेती गरिएको सूचना पाएपछि नष्ट गर्न हामी पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण धितालले बताएका छन्। १ सय ५० जनाको प्रहरी टोली पुगेर गाँजा खेतीलाई नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेटक्बाटर र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गाँजा नष्ट गरेको प्रहरी उपरीक्षक धितालले जानकारी दिएका छन्।
कसैले नदेख्ने ठाउँमा गाँजा खेती गरिएको छ। व्यावसायिक रूपमै त्यहाँका मानिसहरू खेतीमा लागेको धितालले बताए। गाँजा लगाएको ठाउँ चारैतिरबाट डाँडाले छेकिएको छ। गाँजा लगाएको खेतमा पनि बाहिरबाट कसैले नदेखोस् भनेर मकै बाली लगाएको छ।
बिना सुराकीको आधारमा त्यस्ता ठाउँमा पुग्न सजिलो नभएको धितालले बताए। सबै ठाउँमा पुगेर गाँजा खेतीलाई नष्ट गरिने प्रहरी उपरीक्षक धितालले बताए। बाहिरको मानिसहरूको लगानीमा त्यस ठाउँमा गाँजा खेती गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताएका छन्।
बाहिरका मानिसहरू खेत ठेक्का लिएर गाँजा खेती गर्ने गरेको छ। बिउ देखि लिएर प्राविधिक टोली पनि बाहिरबाट आउने गरेको छ। त्यहाँका स्थानीयवासीहरू केबल गोडमेल गर्ने, पानी लगाउने र ढुवानी मात्र गर्ने गरेको छ। दुर्व्यसनीबाट समाजलाई बचाउनका लागि हामी लागुऔषधका रूपमा रहेको गाँजा खेतीलाई नष्ट गरेका छौं।
गाँजा नष्ट गर्न प्रहरी गाउँमा पुग्दा मानिसहरू घरबाट निस्केका थिएन्। कसको खेतबारी हो त्यो पनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ। महिलाहरूलाई सोध्दा उनीहरू पनि खेतबारी बारे जानकारी दिन नमाने पछि वास्तविक जग्गाधनीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
विगतका वर्षहरूमा पनि प्रहरी त्यस ठाउँमा पुगेर गाँजा खेती नष्ट गरेको छ।