ठेगान

कता छन् लोकप्रिय १० कवि ?

कता छन् लोकप्रिय १० कवि ?

साहित्यको एउटा विधा हो कविता। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाइ र ध्वनि, अनि तिनका अर्थहरूका माध्यमले कलात्मक बनाइन्छ। तिनै कला दिने व्यक्ति हुन् कवि।

कविताको माध्यमबाट मनका बह पोख्नेमात्रै नभई, मुलुक र समाजमा क्रान्ति ल्याएका उदाहरण धेरै छन्। तर, पछिल्लो समय त्यहीँ शब्दमा शक्ति दिने केही चर्चित कवि गुमनाम छन्। आजको अंकमा तीमध्ये १० कविको ठेगान अन्नपूर्णकर्मी रविन भट्टराई ले खोजेका छन्।

शब्द खेलाउन माहिर काइँला

- वैरागी काइँला

सानो छँदा बोलाउने नाम काइँला थियो उनको। फुपू र बज्यूहरूले ‘ओझाहाङ’ भन्दथे रे। तर, जन्मकुण्डलीमा लेखियो ‘बझाङ’। अनि, विद्यालयमा गुरु कृष्ण शर्माले राखिदिए तिलविक्रम नेम्वाङ। नाममा अदलबदल भइरहने चर्चित कवि हुन् उनी। विभिन्न समयमा दिइएका परिचय गौण राख्दै उनी आफैंले सन् १९६२ देखि ‘वैरागी काइँला’ भन्ने परिचय नै सधैंका लागि कायम गरे। पाँचथर पौवामा १९९६ साउन २५ मा जन्मिएका उनको यही नाम नेपाली कवितामा नमेटिने बन्यो। उनी थोरै कविता लेखेर धेरै नाम कमाउने भाग्यशाली कवि हुन्।

अहिले उनी विभिन्न कारणले शब्द खेलाएर कविता बनाउँदै नामलाई निरन्तरता दिन नयाँ कवितामा लेख्ने अवस्थामा छैनन्। उनले थोरै कविता लेखे तर खँदिला, गम्भीर र उत्कृष्ट लेखे। पाठकका निम्ति घतलाग्दो र बिर्सन नसक्ने लेखे। क्याम्पसस्तरीय अध्ययनकालमै कवितामा प्रसिद्धि कमाएका उनी आफ्नो समयका प्रखर प्रयोगवादी कवि हुन्। यो क्षेत्रमा उनले आयमेली कविका रूपमा प्रसिद्धि कमाए। सिकारु कविका निम्ति अनुकरणीय र प्रेरणाका स्रोत भए। जति कविता लेखे, प्रायः सबै लोकप्रिय भए। उनले स्नातक तहसम्मको औपचारिक शिक्षा हासिल गरे। उनी आयामेली आन्दोलन (२०२०) मार्फत साहित्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकारको रूपमा चिनिन्छन्। यस्तै, उनी ‘मन्थन साहित्य संस्था’ ‘शताब्दी काठमाडौं’ जस्ता संस्थाका सल्लाहकार भए। २०४७ सालमा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य भएका थिए।

दुरुह र विलक्षण बिम्बहरूमा भाषाको चामत्कारिक विलास गर्ने कवि काइँला २०६२–६३ को जनआन्दोलनका सक्रिय सहभागी पनि हुन्। उनी २०६६ देखि २०७० सम्म प्रज्ञा–प्रतिष्ठानका कुलपतिका रूपमा कार्यरत थिए। उनले ‘रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार’ पनि प्राप्त गरे। किराँत लिम्बू जातिमा रहेको धर्मशास्त्र मुन्धुमबारे पाँच दशकदेखि निरन्तर खोज, अनुसन्धान, लिपिबद्ध गरी दर्जनभन्दा बढी कृति प्रकाशन गरेका स्रष्टा काइँलाले २०७५ को जगदम्बाश्री पुरस्कार पाए, लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरेबापत।

२०१८ सालमा ईश्वरबल्लभ सम्पादक र काइँला प्रकाशक भएर ‘फूल पात पतकर’ पाक्षिक पत्रिका दुई अंक निकाले। तर, ‘तेस्रो आयाम’को प्रकाशनपछि नै कविका रूपमा आफू परिचित भएको उनको स्वीकारोक्ति छ। उनको चर्चित कविता ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’, ‘अन्धा मान्छेहरू र हात्ती’, ‘वैरागी काइँलाका कविताहरू’ कैयौं पाठकका निम्ति ‘एडिक्सन’ नै हो। यति ठूलो उचाइ र पाठकबाट प्रेम पाएका काइँला भने आफूलाई बित्थामा अरूले कवि मानेकोमा गुनासो गर्छन्। ख्यालख्यालमै अरूले भनिदिएर कवि बनेको उनी सुनाउँछन्। पछिल्लो समय रोगले च्यापेपछि उनी घरमै आराम गरिरहेछन्।

सरस्वतीका भक्त सरुभक्त

- सरुभक्त

लामो कपाल। कम बोल्ने स्वभाव। सफा अक्षर कापीमा लेख्न सक्ने गुण। अनि, शब्दहरूलाई नेपाली साहित्यको जुनै विधामा पनि न्याय दिएर समेट्न सक्ने खुबी भएका कवि हुन् ‘सरुभक्त’। वास्तविक नाम भक्त श्रेष्ठ भए पनि उनी सरस्वतीको भक्तका रूपमा सरुभक्त भएर साहित्यको समुद्रमा छाल ल्याए। अन्य विधामा सँगै कवितामा दम राखे।

नेपाली साहित्यको क्षेत्रमा उनको योगदान अतुलनीय छ। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले बर्सेनि गर्ने नाट्य महोत्सवमा पुरस्कृत भए र पाएको पुरस्कार पनि बहिष्कार गरेका उनले उपन्यासमा मदन पुरस्कार नै पाए। नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको नाट्य विभागको प्राज्ञ भए। संगीत नाट्य एकेडेमीको कुलपति भए। उनी कति थोक भए थोरै शब्दमा अटाउँदैन। सरुभक्त पोखराको बगरमा पिताजीको पुख्र्यौली घरमा बस्थे। उनले पढेको क्याम्पस हो, पृथ्वीनारायण।

पोखरामा पोयुसा अर्थात् पोखरेली युवा सांस्कृतिक परिवारले गतिविधि गर्न थालेपछि उनको कलम अझै तिखारियो रे। पोखराका कवि भूपि शेरचन प्रज्ञा प्रतिष्ठान पुगेपछि राजाबाट बक्सिस हुने शीर्षकमा कविता लेखेर कविता उत्सवको प्रतियोगिता धेरै भए। केही पछि उनी पढ्न काठमाडौं हानिए। यतै रहेर साहित्यमा जमे। उनी एक युवतीसँगको एकोहोरो प्रेमको उपहार आफ्नो नाम ठान्छन्। उनले प्रेमका आवेग र अतृप्तिलाई साहित्यिक ऊर्जाको रूपमा प्रयोग गरेका छन्। ‘पागल बस्ती’ उपन्यास चर्चित बन्यो। जसले मदन पुरस्कार पायो।

सरुभक्तले जे लेखे संग्रह बने। सरुभक्तको ‘तरुनी खेती’ प्रकाशित भएपछि एक झमट निकै आलोचना भयो। केही नेपाली महिला लेखक आक्रोशित भए, त्यस उपन्यासको विपक्षमा देखिए। उनी सफल गीतकार पनि हुन्। जो निकै चर्चित र लोकप्रिय भए। 

अहिले उनी पहिले जति त लेख्दैनन्। तर, विभिन्न साहित्यिक कार्यक्रममा सक्रिय उपस्थिति छ। अविवाहित कवि उनी अक्षरका पुजारी नै हुन्भन्दा फरक पर्दैन। उनका कविता विधातर्फ बोक्सीको आह्वान र घोषणापत्र (कविता संग्रह) २०४०, कवि, प्रेमी र पागल (कविता संग्रह) २०५०, प्रयोगशालाभित्र (कविता संग्रह) २०५८, इतर समय (कविता संग्रह) २०६१ छन्।

सुख–दुःख जसराजका शब्द

जसराज किराँती

काठमाडौं, धरान र इटहरीमा भेटिरहने कवि हुन् जसराज किराँती। त्यसैले त उनको कवितामा समग्रता भेटिन्छ। जन्मथलो खोटाङ, बुइँपा भए पनि उनी सबै क्षेत्रका प्यारा छन्। उमेरले ८० कटे उनी। अहिले पनि ढिँडो, च्याँख्ला, मोही र कोदोको रक्सी खान मन लाग्छ रे। काठमाडौं जोरपाटीमा बस्छन्, कविता लेखनमा पहिले जति नलागे पनि साहित्यिक कार्यक्रममा जाउँ जाउँ लाग्न छाडेको छैन उनलाई।

जीवनका सबै हिउँद–बर्खा खोटाङकै सेरोफेरोमा बिताएका जसराजले साहित्यकर्मको बीजारोपण पनि त्यहीँ गरे। जीवनका उकाली–ओराली काट्दै सुख–दुःखका कविता त्यहीँ लेखे। खोटाङमै तीन कविताकृति प्रकाशित भए। त्यसैले उनलाई खोटाङ बाहिरका पाठकमा कवि जसराज किरातीको नामले परिचय दियो। उनले केही वर्षअघि ‘प्रेम साहित्य सम्मान’ पनि पाए। यद्यपि, उनको कवि परिचय अझैसम्म लुकेको छ। खोटाङ बुइँपाका चाम्लिङ राईका सन्तान हुन् जसराज। २००१ साउन १७ गते धनहर्क र धर्मलक्ष्मी राईका एक्लो सन्तान भएर जन्मिए उनी। १४ वर्षमा जसराजले बल्ल क, ख लेख्न सिके रे। त्यति नै बेला गाउँमा विद्यालय खुल्यो र उनले पढ्न पाए। जसलाई ठूलो सौभाग्य मान्छन् जसराज।

आईए पढेपछि भने उनी भाँडा बेच्न हिँडेनन्। बरू आफू पढेको स्कुलमा पढाउँदै, सामाजिक गतिविधिमा संलग्न हुँदै समय बिताए। विस्तारै कविता लेखनमा पनि उनको मन लहसिएको थियो। बुइँपास्थित गाउँ बस्ने क्रममा तीन पटक उपप्रधानपञ्च भए उनी। आफू पढेको विद्यालयका शिक्षक गोरखबहादुर श्रेष्ठले साहित्यिक पुस्तक पढ्न दिएसँगै जसराजको मन साहित्यतिर मोडियो। गोरखबहादुर चर्चित जनगायक रामेशका दाजु थिए। उनैको प्रेरणामा साहित्यका किताब पढेको जसराज सुनाउँछन्।

यद्यपि कविता लेख्ने उत्प्रेरणा कहाँबाट आयो, स्वयं जसराजलाई थाहा छैन। २०२२ सालदेखि निरन्तर कविता लेखिरहेका छन् उनी। २०३७ सालमा साहित्यकार परशु प्रधान सिडियो भएर खोटाङ आएको मौकामा मात्रै उनको पहिलो कवितासंग्रह ‘उज्यालो खोज्ने आँखाहरू’ प्रकाशित भयो। परशु र बासु शशीको त्यो गुण जसराज कहिल्यै बिर्सिंदैनन्। २०५७ मा दोस्रो कविता संग्रह ‘जसराज किरातीका कविता’ प्रकाशन गरे। उनका कविता साहित्यिक पत्रिकामा छापिन थाले। २०६५ मा उनको तेस्रो कवितासंग्रह ‘जसराज किरातीका प्रतिनिधि कविता’ छापियो। त्यसबेलादेखि अब जाग्नुपर्छ भन्ने सोचका साथ उनले आफ्नै खर्चमा ‘जसराज किराती प्रतिभा पुरस्कार’ स्थापना गरे। देशका चर्चित युवाकविहरूलाई प्रोत्साहन गर्न यो पुरस्कारको दिइरहेको उनको भनाइ छ।

जो कविताले परिवर्तन देख्छन्

मञ्जुल

कवि मञ्जुल साहित्यको त्यसमा पनि कविता विधाका एक खम्बा नै हुन् भन्दा धेरै हुँदैन। अझै नयाँ पुस्तालाई दन्त्यकथाजस्तो लाग्ने पात्रमध्येमा पर्छन् मञ्जुल। नेपाल राष्ट्र बैंकको छँदाखाँदाको जागिर छाडेर गीत–संगीतका माध्यमबाट समाज परिवर्तन गर्न गाउँघर डुल्ने एक पात्र हुन् उनी। तर, पछिल्लो समय मञ्जुल अचानक सेलाएको अनुभव धेरैको छ। पछिल्लोपटक २०६८ सालमा उनले आत्मकथा पुस्तक ‘पहाडजस्तो–बाटोजस्तो म’ सार्वजनिक गरेका थिए। त्यसपछि उनको साहित्य पढ्न नपाएका धेरै छन्।

‘छेकुडोल्मा’ जस्तो सशक्त उपन्यास लेखेका मञ्जुल चर्चित कविको अग्रस्थानमा छन्। उनका समूहले गाएको ‘गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ’ जस्ता गीत आज पनि लोकप्रिय छन्। ‘थाहा नभएको रोग’का कारण केही वर्ष उनी लेखपढ बन्द गर्नेमात्र होइन, घरबाहिर पनि निस्कन छाडेका थिए। एक वर्षअघि चिकित्सकले उनलाई उमेरजन्यबाहेक अरू रोग नभएको प्रमाणित गरेपछि पुनः सक्रिय छन्। उनी अहिले पनि सार्वजनिक कार्यक्रममा पनि देखिन थालेका छन्। ७८ वर्ष पार गर्दैगर्दा उनको साहित्यको चाख पनि उत्तिकै छ। कवि मञ्जुलको ‘ब्रह्माण्ड कविको घर’ कविता संग्रह कोरियाली भाषामा अनुवाद भएको छ। उनको नेपाली साहित्यको भण्डार भर्नमा ठूलो योगदान छ। नेपाली साहित्यिक आकाशका उज्ज्वल नक्षत्र कवि मञ्जुलको वास्तविक नाम मेघराज शर्मा नेपाल हो। उनको जन्म २००३ फागुपूर्णिमाका दिन पिता टीकाबल्लभ नेपाल र माता जमुना नेपालको महिलो छोराको रूपमा भोजपुर गोगनेमा भएको हो।

आफ्नो घर भोजपुर पोखरेमा भए पनि मावल गोगनेमा जन्मिएका उनको कान्ति पूर्णिमाको जून जस्तै उज्यालो बोकेर चम्किरहेको पाइन्छ। २१ वर्षको कलिलो उमेरमा नै ‘छेकुडोल्मा’ जस्तो चर्चित उपन्यास लेखेका मञ्जुलका साइँली मोरीलाई (गीतसंग्रह), गायक यात्री (कवितासंग्रह), सम्झनाका पाइलाहरू (यात्रा संस्करण), मञ्जुलका नयाँ कविताहरू, सिद्धिचरणहरू, मृत्यु, चोकटी र बाल्यकालसँग खेल्दै (कविता संग्रह), पहाडजस्तो म, बाटोजस्तो म (संस्मरण) आदि कृति प्रकाशित छन्। उनी व्यथित काव्य पुरस्कार, उत्तम पुरस्कार, सिद्धिचरण काव्य पुरस्कार, साझा पुरस्कारलगायतका राष्ट्रिय पुरस्कारबाट पुरस्कृत तथा पाँच दर्जनभन्दा बढी संघसंस्थाबाट सम्मानित छन्। वाम आन्दोलन र विचारसँग नजिक रहेर एक समय काम गरेका उनका रचना शोषित पीडित, गरिब, दुःखी जनताका पक्षमा जीवन्त बनेर उभिएका छन्।

...अनि उनको कविता गीत भयो
आमा हुन
आमा हुन साह्रै असजिलो छ
पहाड जस्तो
उचाइमा पुगेर मैदान भै दिनुपर्ने...

नेपथ्यले गाएको यो गीत आजभन्दा आठ वर्षअघि नेपथ्यको युट्युब च्यानलमा अपलोड गरिएको थियो। यो चर्चितमध्येको एक गीतमा पर्छ। तर, यो वास्तवमा कविता थियो कवि तीर्थ श्रेष्ठको। यो कवितालाई अनुमतिबिना गीत बनाउँदा नेपथ्यका अमृत गुरुङले उनीसँग माफ नै मागेको सम्झन्छन् तीर्थ। तर, गीत सार्वजनिक भएपछि श्रेष्ठको चर्चा पनि चुलियो। कवि मनु मञ्जिल पर्वतको दोबिल्ला भन्ने ठाउँमा गाडीबाट ओलिएर अर्थर भन्ने गाउँमा जाने क्रममा उनले ‘आमा’ कविता लेखेका थिए रे। त्यसो त श्रेष्ठको चर्चा आमा गीतबाट मात्र भएन। उनी सानैबाट कविता लेख्न रुचाउँथे। नेपाली भाषा साहित्यमा कलम चलाउने श्रेष्ठले गीत, गजल, मुक्तक र अन्य विधामा पनि कृति सार्वजनिक गरिसकेका छन्।

२०१६ कात्तिक १६ गते कास्कीको पोखरामा धर्मप्रसाद र योगमायाको जेठो सन्तानका रूपमा जन्मिए तीर्थ। कविता चर्चित भए पनि उनी जन्मदिने आमासँग हुर्किन पाइनन्। जसले हुर्कायो, उनले जन्म दिएकी होइनन्। उनले कान्छीआमा पूर्णलक्ष्मीबाट कहिल्यै नराम्रो व्यवहार भोग्नु परेन। उनी अहिले आफूलाई नाफाको जीवन बाँचिरहेको भन्न रुचाउँछन्। भन्छन्, ‘आफ्नै मलामी देख्ने मान्छे पनि म नै पहिलो हुँला।’ २०१६ मा जन्मिएका उनी दोस्रोपटक जन्मिएको भन्न रुचाउँछन्। केही समयअघि मृत्युलाई नजिकबाट नियालेर फर्किएको मान्छे हुन् उनी। उनको स्वास्थ्यमा अचानक समस्या देखिएर बेहोस भएपछि थप उपचार गर्न हेलिकप्टरबाट काठमाडौं लाने क्रममा अनुहारमा स्लाइन ड्रप खसेर बिउँझिएका थिए। अहिले पनि उनी 
आराम गरेर बसेका छन्।

कक्षा ३ मा पढ्दै गर्दा विद्यालयको भित्तेपत्रिकामा उनको पहिलो कविता छापियो २०३९ सालमा। सरल भाषामा गहन अभिव्यक्ति दिन सक्ने उनको कविताको शक्ति हो। उनको धर्सैधर्साको चक्रव्यूहमा (कविता संग्रह) मदन पुरस्कारको लागि पनि छनोट चरणमा परेको थियो। यसबाहेक उनका तीर्थ श्रेष्ठका कविताहरू, जिन्दगीको कुरुक्षेत्रबाट कविता संग्रह, मञ्जुल र कुमार आलेसँग पाइलाका नीबहरूले संयुक्त कविता संग्रह, महाभारतका गीतहरू तथा जिन्दगीको गोधूलीमा (मुक्तक संग्रह), मेरै हिमालजस्तो (गीत संग्रह) प्रकाशित छन्। उनी राष्ट्रिय प्रतिभा पुरस्कार, मोती युवा पुरस्कार, शिरोमणि पुरस्कार, बासु शशी स्मृति पुरस्कार, पहलमान सिंह स्वाँर स्मृति प्रतिभा पुरस्कार, भूपि स्मृति साहित्य पुरस्कार आदि पाएका छन्।

भोगाइलाई उतार्ने कला

मञ्जु काँचुली

साहित्यकार भीमनिधि तिवारीकी कान्छी सुपुत्री मात्रै उनको परिचय होइन, एक सहित्य क्षेत्रकी नक्षत्र नै हुन् मञ्जु काँचुली। साहित्यिक धरातलमा आफ्नै स्वाभिमानमा गर्व गर्न जानेकी उनी अनुभूतिलाई शब्दमा शक्तिशाली उतार्न सक्दा चर्चित साहित्यकार बनिन्। उनका कविता र कथाहरू समसामयिकताभित्रका बिम्बपूर्ण प्रभावशाली हरफहरू हुन्। कवितामा आफ्नै खालको सम्प्रेषण व्यक्त गर्न सिपालु कवयित्री मञ्जुको पछिल्ला कृति त छैनन् तर यस क्षेत्रमा योगदान उच्च छ। उनी अहिले केही कार्यक्रममा हिँड्छिन्, नयाँ पुस्तालाई प्रेरणा दिन्छिन्।

काँचुली उपनाम झुन्ड्याएर साहित्यजगत्मा प्रवेश गरेकी यिनी डिल्लीबजार, काठमाडौंमा माता भुवनेश्वरीकै माया पाएर २००७ माघमा जन्मेकी हुन्। विश्वास र विवेकलाई हुर्काएर कठिन जीवनपथमा लड्दै–भिड्दै लागिपरेकी मञ्जुले नेपाली विषयमा एमए प्रथम श्रेणीमा सर्वप्रथम भएर आफ्नो क्षमता देखाएकी थिइन्। नेपाली कविता क्षेत्रमा उल्लेखयोग्य प्रतिभाका रूपमा सुपरिचित छन् मञ्जु। बीएको अध्ययनमा अंग्रेजी साहित्यको विशेष अध्ययन गर्न पाएर पनि यिनी साहित्यमा लहरिँदै गइन्। साहित्यसेवा र लेखन क्षेत्रमा आएकीमा सन्तुष्ट नै रहेकी यिनी आफ्नै अनुभूति र भोगाइले पनि तीव्र साहित्यिक अभिव्यक्ति पोख्न सक्षम र सक्रिय छन्।

मञ्जुका प्रकाशित पुस्तकहरूमा किरणका छालहरू (कवितासंग्रह), केही माया केही परिधि (कथासंग्रह), मेरो जीवन मेरो जगत् (कवितासंग्रह), मञ्जु काँचुलीका कथा (कथासंग्रह), टु सिस्टर्स (कवितासंग्रह), पलकभित्र–पलकबाहिर (कवितासंग्रह), आत्मप्रतीत (कवितासंग्रह) आदि छन्। कवितामा उनको भाषाप्रयोग सुन्दरमात्र छैन, शैलीको छनोटमा यिनले देखाएको कलात्मकता विशिष्ट छ।

शब्दमा ‘दम’ दिने कुन्ता

कुन्ता शर्मा

सर्वाधिक चर्चित कविता ‘पोथी बास्नु हुँदैन’ उनै कवि कुन्ता शर्माको सिर्जना हो। अहिले पनि उनी यो कविता भनेर माहोल तताउँछिन्। समयसापेक्ष अझै कविताको भाव रहेको बताउँछिन्। तर, पछिल्लो समय उनका कविता जन्मिएका छैनन्। उनी कार्यक्रममै व्यस्त भइरहेकी छन्। २००३ भदौ १ गते शनिबार जन्मिएकी उनी पुरुषद्वारा नारीहरूप्रति गरिएका थिचोमिचो माथि कविताका माध्यमबाट कडा रूपमा उत्रिइन्। यसरी कवितामार्फत व्यंग्यप्रहार गर्ने कुन्ता शर्मा नेपाली साहित्यकी सशक्त नारी हस्ताक्षर हुन्। 

मनहरि र टुकमाया चौलागाईंकी छोरी कुन्ता शर्मा पेसाले शिक्षिका हुन्। उनले २९ वर्षसम्म विभिन्न विद्यालयमा अध्यापन गरेको देखिन्छ। विद्यालयहरूमा उनले पढाउँदा तत्कालीन सरकारले दुःख दिन सरुवा गर्दा सरुवा गरेकै स्थानमा पठाएको देखिन्छ। त्यसपछि उनी राजनीतिमा लागिन्। हुन त उनी विद्यालयमा पढाइरहेकै बेला पनि भित्रभित्रै सक्रिय रूपमा राजनीतिमा थिइन्। त्यसैले उनले कति ठाउँ पुगेर दुःख पाएको र कतिपय ठाउँमा सुख पाएको देखिन्छ। उनी प्रत्यक्ष रूपमा २०५६ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचित भइन्। त्यसबेला उनी नेपाल कम्युनिस्ट पार्टी एमालेको टिकटबाट सांसद भएकी थिइन्। त्यसपछि उनले जनहित र महिलासम्बन्धी समस्याहरूलाई संसद्मा पेस गरेको कुरा उनी भन्ने गर्छिन्। २०५६ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा बिजयी हुनुभएकी शर्मा राजनीतिक जीवनमा पनि उत्तिकै सफल महिलाको रूपमा चिनिन्छिन्।

मोफसलबाट तीसको दशकमै प्रकाशित साहित्यिक पत्रिका ‘संकल्प’ की प्रकाशक–सम्पादक हुन् कुन्ता शर्मा। उसो त उनको ‘हेरिडेटी’ नै काव्यिक हो। हजुरबुवा र बुवाले सुनाएका केही कविता उनी कण्ठस्तै सुनाउँछिन्। ५२ वर्ष अघिबाट कविता लेखेर २०५२ सालमा प्रथम कविता कृति ‘म उभिएको ठाउँ’ का २५ कविता र केही फुटकर कविताबाहेक कविका थप काव्य कृति आएका छैनन्। आफूमाथि अमानवीय व्यवहार भएकाले कुन्ताको कवित्व जाग्यो। उनले ‘पोथी बास्नु हुँदैन’ शीर्षकको कविता लेखिन्। यही कविताले कुन्ता शर्मालाई कवित्वको उचाइमा पुर्‍याएको देखिन्छ।

जब कविता अचानक छापियो

उषा शेरचन (भट्टचन)

राजतन्त्र हुँदै गणतान्त्रिक व्यवस्थासम्म निरन्तर कलम चलाउने साहित्यकारमा पर्छिन् उषा शेरचन (भट्टचन)। उनका कवितामा अझै बढी ‘दम’ छ। छोरी पढाउनु अपराधसरह ठानिने त्यो समयमा स्नातक तहसम्म अध्ययन गरेकी उनले ती अनेक बाधा छिचोल्दै आफूलाई साहित्यिक, व्यावसायिक तथा सामाजिक रूपमा स्थापित गराइन्। २०४८ सालमा ‘नजन्मेका आस्थाहरू’ कवितासंग्रह प्रकाशन गरेकी उनका ‘अक्षरहरूका शिविरबाट’ (मुक्तक संग्रह, २०५६), ‘सर्वकालीन पीडा र जागृतिका शंखघोष’ (कविता संग्रह, २०६३), ‘तेस्रो रंग’ (कथा संग्रह, २०७०), ‘आधि’ (उपन्यास, २०७६) कृति प्रकाशित छन्। ‘गुञ्जनको वार्षिक मुखपत्र’, ‘नारी साहित्यको विधागत इतिहास’ देखि ‘देवकोटा शताब्दी अभिलेख’लगायत दर्जनौं कृतिको उनले सम्पादन गरेकी छन्।

पहिले यति सक्रिय उनी अहिले चुपचापजस्तै छन्। पुख्र्यौली थलो मुस्ताङ–थाकखोलाकी उषा शेरचन थकाली समुदायबाट राष्ट्रियस्तरमा प्रसिद्ध भएकी प्रथम महिला साहित्यकार हुन्। उनी सातैबाट कविता लेख्थिन् रे। तर, आफैंभित्र मात्र सीमित राख्थिन्। स्नातक तह जन्मथलो पोखराको पृथ्वीनारायण क्याम्मसमा पढिन्। त्यहाँ उनका सहपाठी साहित्यका विविध विधाहरूमा समानुपातिक रूपमा कलम चलाउन सक्ने बहुमुखी प्रतिभाका धनी सरुभक्त थिए। त्यसै क्याम्पसमा अर्का युवा कवि तीर्थ श्रेष्ठ, कवि तथा गीतकार प्रकट पंगेनी शिव, गीतकार तथा कवि विनोद गौचन पनि थिए। र, विनोदले उनको कविताको कपी देखे र सुटुक्कै जिन्दगी कविता सारेर गोरखापत्रमा पठाइदिए। एक्कासि उनको कविता गोरखापत्रमा छापिएको कुरा साथीबाट सुन्दा उनी छक्क परिन् रे। त्यसपछि उनको साहित्यमा यात्रा सुरु भएको थियो।

आफ्नै कवितामा दंगदास विक्रम

डिल्लीविक्रम इङ्वाबा

डिल्लीविक्रम इङ्वाबा नाम नै उनको साहित्यमा विक्रम सुब्बा बनेर उदायो। २००९ पुस २० गते पाँचथरको फिदिम ६, बोदिनमा जन्मिएका कवि विक्रमको कविताले साहित्यप्रेमीको मनमा छोइरह्यो। परिवारका एक्लो छोरो विक्रम साहित्यबाहेक विकाससम्बन्धी तालिम दिन पनि पोख्त मानिन्छन्। विदेशीलाई भाषा सिकाएको लामो अनुभव छ उनीसँग। भाषासम्बन्धी अनुसन्धानमा पनि सम्मिलित सुब्बाले नेपालका धेरै दुर्गम ठाउँको पनि यात्रा गरेका छन्। तर, पछिल्लो समय साहित्य विधाबाट गुमनाम जस्तै छन्। उनका ‘शान्तिको खोजमा’ (खण्डकाव्य), ‘कविको आँखा कविताको भाका’ (कवितासंग्रह), ‘सगरमाथा नांगै देखिन्छ’ (कवितासंग्रह), ‘सुम्निमा पारुहाङ’ (मुन्धुम काव्य), ‘कन्साइस लिम्बू ग्रामर एन्ड डिक्स्नरी’, ‘विक्रम सुब्बाका कविता र गीतहरू’, ‘निरंकुश जुँगाविरुद्ध’ ले धेरैको मन जितेको छ।

लेखिसक्ने बित्तिकै हरेक कविलाई आफ्नो कविता सानदार, बिछट्टै गज्जबको कविता लेखें भनेर दंग लाग्थ्यो रे उनलाई। अनि भन्छन्, ‘लाग्नु पनि पर्छ। यही दंगदास पार्ने बिन्दासेपन नै कविता र कविको नातालाई निरन्तर बलियो बनाउने भिटामिन ऊर्जा हो। तथापि, यो बेहोसी उमंगको क्षण हो।’ उनी थप्छन्, ‘भर्खर बच्चा जन्मेका बेला आमाले बच्चामात्र देख्छिन्। बच्चाको जिउभरिका फोहोर, साल, नाल, रगत लत्पतिएको देख्दिनन्। उमंगको पहिलो जोडदार आँधी गुज्रेर गएपछि, आमाको मनस्थिति नर्मल अवस्थामा आएपछि आमाले बच्चाको जिउको फोहोर देख्न थाल्छिन्। कविले पनि लेखिसक्नेबित्तिकै कवितामा कुरा दोहोरिएको, बिम्ब र प्रतीकहरूको तालमेल नमिलेको, मिथकको प्रयोग अति भएको, शब्द छनोट र वाक्य गठन नमिलेको आदि केही देख्दैन।’ उनका यस्ता मीठा तर्क धेरै छन्। सुन्नेले भन्छन्, ‘आगामी दिनमा पनि कविता र तर्क आइरहनु पर्छ है कवि विक्रम।’

उकुसमुकुस शब्दमा उतार्ने मीन

मीनबहादुर विष्ट

‘साला पहाडमें क्या है’ कविता संग्रहले एक समय बजार नै ततायो। हो त्यहीँ कविताका सर्जक हुन् कवि मीनबहादुर विष्ट। उनको भनाइ नै हो– ‘कविताको शक्ति भनेकै मुटु हल्लाउन सक्नु हो।’ र, उनी त्यस्तै पनि लेख्छन्। तर, त्यसपछि उनले मुटु हल्लाउने कविता लिएर त्यति देखिएका छैनन्। विगत चार दशकअघिदेखि नै खरो र बिम्बात्मक कविता लेख्दै आएका कवि विष्टले आफूले लेखेका कविता छापिएपछि तत्कालीन पञ्चायती प्रशासनले दिएको दुःख पछिल्लो पटक सुनाएका थिए।

आफूले लेखेका कविता स्वाभाविक रूपमा प्रस्फुटन भई जन्मिएको बताउँदै लामो समयदेखि काव्यकारिताबाट टाढा रहेको आफूलाई बारम्बार घच्घच्याइएकोले यो कृति आउन सकेको बताउँछन् उनी। उनी अहिले पनि आपूm कवितामा केही राम्रो दिने सोचमा गुमनाम छन्। २०३० को दशकदेखि सक्रिय शक्तिशाली कवि थिए उनी। आलोचनात्मक चेतका कवि विष्टका कवितामा देशको चिन्ता र सामाजिक विसंगतिप्रति प्रहार पाइन्छ। बीचमा केही दशक कविता लेखनबाट टाढिएका उनको पछिल्लो कवितासंग्रह साला पहाडमें क्या है नै हो। २०११ सालमा प्यूठानमा जन्मिएका उनले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट शिक्षा नीति विषयमा विद्यावारिधि गरेका छन्।

विष्टको प्रारम्भिक लेखन विद्यालय तहदेखि नै भयो। पोखरा क्याम्पसमा पढ्दा उनले केही कविता लेखे र सुनाए। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा प्रवेश गरेपछि भने अलि राम्रो साहित्यिक माहोल पाए। प्रकाशनका हिसाबले वेदना पत्रिकामा उनको पहिलो कविता ‘सहर मेरो सहर’ छापिएको थियो। यो २०३६/०३७ सालतिरको कुरो हो। २०३६ सालपछि जब ‘साला पहाडमें क्या है’, ‘गाउँको पाठशाला’, ‘जर्साबको कुकुर’, ‘म पुनः गिरफ्तार भएको छु’ लगायत कविता छापिए। त्यसपछि पाठक, समीक्षक, सम्पादक/प्रकाशकबाट सकारात्मक प्रतिक्रिया पाउन थाले र उनले लेखिरहे। अब पनि केही लेख्ने सोचमा देखिन्छन् उनी।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.