जलवायु परिवर्तनको प्रहार हिमालमा
फुट्न सक्छन् ४७ हिमताल
गत कात्तिकमा नेपाल भ्रमणमा आउँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार शिविर पुगे। जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा परेको असर तथा हिमालको अवस्थाबारे बुझे र स्थानीयसँग यसबारे संवाद पनि गरे। त्यसपछि एक कार्यक्रममा भने, ‘जलवायु परिवर्तनले धेरै ठाउँमा हिमपहिरो गइरहेको छ। साना देशलाई प्रतिकूल असर पारेको छ। प्रभावितलाई अझै बढी आर्थिक कोष चाहिएको छ। त्यसका लागि म अरू देशसँग आफ्ना कुरा राख्नेछु।’
गुटेरेसको यो प्रतिक्रियापछि हिमालमा हिउँ पग्लिएको र हिमाल काला भएको विषयले धेरै चर्चा पायो। यता हिउँ पग्लिएपछि बढेका हिमतालको जोखिमको चर्चा भने खासै भए। दुबईमा मंसिर १४ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८)मा नेपालका प्रधानमन्त्री नै पुगेर हिमालका दुःख सुनाए, अनि, फर्किए। तर, जोखिमपूर्ण हिमतालको चर्चा कम भयो। त्यहीँ चर्चा कम भएको हिमतालहरू अहिले जोखिमपूर्ण अवस्थामा छन्। कुनै पनि समय विस्फोटको खतरामा छन्। यो खतरा एक स्थान होइन देशभर नै रहेको एक अध्ययन ले केही वर्षअघि नै अनुसन्धान गरी सार्वजनिक गरिसकेको छ।
जोखिममा रहेको इम्जा तालको गहिराइ नापिँदै। साभार : इसिमोडको प्रतिवेदनबाट
कहाँ छन् विस्फोट हुन लागेका ताल ?
सन् २०२० मा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी)ले एक प्रतिवेदन नै सार्वजनिक गरेर नेपाल हिमताल र हिमनदीबाट ठूलो जोखिममा रहेको बताएको थियो। उक्त प्रतिवेदनमा समेटिएका एक दर्जन ताल त ताप्लेजुङकै कञ्चनजंघा क्षेत्रमा छन्। सिजेमा लगायतका केही पोखरी र हिमताल पछिल्लो समय विस्फोटको जोखिममा रहेको बताइन्छ। कारण– ‘हिउँ पग्लिएर तालमा पानीको मात्रा दैनिक बढिरहेको छ।’ गत असोज १७ मा मात्रै सिक्किममा कञ्चनजंघा क्षेत्रकै हिमताल फुटेपछि बाढी आएको थियो। सैयौंको ज्यान गयो अर्बौंको क्षति भयो। यस्तो सम्भावना नेपालतर्फ बढी रहेको विज्ञ बताउँछन्।
उक्त समय सार्वजनिक गरिएको प्रतिवेदनमा नेपाल, तिब्बत र भारतमा ४७ वटा ‘सम्भावित खतरनाक हिमताल’ रहेको बताइएको छ। ती हिमतालहरू फुट्नसक्ने जोखिम देखिएको हो। त्यसमध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल ‘सबैभन्दा बढी सम्भावित खतरनाक’ रहेको इसिमोडले उक्त प्रतिवेदनमा लेखेको छ। सो समय उक्त प्रतिवेदनबारे इसिमोडले ट्वीट गर्दै लेखेको थियो, ‘पछिल्लो प्रतिवेदनले नेपालका सबैभन्दा बढी सम्भावित खतरनाक हिमतालहरू च्छो रोल्पा र इम्जा रहेको पत्ता लगाएको छ। लगातारको संवेदनशील र नियमित अनुगमनको खाँचो देखिन्छ।’
इसिमोड र यूएनडीपीले झन्डै तीन वर्ष लगाएर गरेको अध्ययनअनुसार कुनै पनि समय फुट्न सक्ने धेरै हिमतालको पहिचान भएको थियो। सो अध्ययनले नेपालभित्रै तथा चीन र भारतमा रहेर पनि मानव बस्तीलाई क्षति पुर्याउन सक्ने ३ हजार ६ सय २४ ग्लेसियर हिमताल पत्ता लगाएको थियो । यसमध्ये कोशी बेसिन (जलाधार) अन्तर्गत धेरै हिमताल देखिएका छन्। कोशी बेसिनअन्तर्गत ६४ हिमताल भेटिएको छ। यसै जलाधार क्षेत्रमा ताप्लेजुङका हिमताल पनि पर्छन्। यस्तै, कर्णाली बेसिनमा १ हजार १ सय २८ र गण्डकी बेसिनमा ४ सय ३२ हिमताल जोखिममा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।
स्याटलाइट इमेज (भूउपग्रहमार्फत लिइएको तस्बिर) र अरू धेरै माध्यमबाट गरिएको अनुसन्धानले ४७ वटा हिमताल कुनै पनि समय फुटेर नेपालतर्फको मानव बस्तीलाई ठूलो क्षति पुर्याउन सक्ने उच्च जोखिममा देखिए। यसबाट धेरै क्षति हुन सक्ने सम्भावना कोशी बेसिन अर्थात् कोशी तटीय क्षेत्रका बस्तीमा देखिएको छ। कोशी बेसिनअन्तर्गत ४२ वटा हिमताल कुनै पनि समय फुट्ने उच्च जोखिममा रहेको इसिमोडको रिपोर्टमा छ। यसमध्ये २५ हिमाल चीनतर्फ पर्छ भने २१ वटा नेपालभित्रै पर्छ।
इसिमोडले हिमतालको बढिरहेको दर, त्यसवरपरको भौगोलिक अवस्थिति, हिउँपहिरो आउन सक्ने सम्भावनालगायत धेरै कुरालाई आधार बनाई जोखिमपूर्ण हिमतालको पहिचान गरेको थियो। सन् १९७७ देखि हालसम्म नेपालका तीन नदीका जलाधार क्षेत्रमा २६ वटा हिमताल विस्फोटका घटना भएका छन्। तीमध्ये १४ वटा नेपालतर्फ भएका हुन्।
उक्त प्रतिवेदनले सबैभन्दा बढी कोशी बेसिनका हिमताल रहेको बताए पनि तीनवटा गण्डकी र दुइटा कर्णाली बेसिनका पनि जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ। राजनैतिक सीमाका हिसाबले यस्ता खतरनाक हिमतालमध्ये सबैभन्दा बढी २५ वटा तिब्बतमा छन्। त्यस्तै नेपालमा २१ वटा र भारतमा एउटा यस्तो हिमताल रहेको प्रतिवेदनमा उल्लेख छ।
हिउँ पर्ने समय नै फेरियो
पहिरोको जोखिममा रहेको ताप्लेजुङको ओलाङ्चुङगोला बस्ती। तस्बिर : रविन भट्टराई।
केही वर्षअघिसम्म मंसिर दोस्रो साताबाट नै ताप्लेजुङको ओलाङचुङगोलाका घरका छाना हिउँले ढपक्क ढाकेको हुन्थ्यो। हिउँको भार अत्याधिक भएपछि काठको छाना चुइँचुइँ कराउँथे। यसको संकेत हो– ‘छानालाई हिउँको भार अत्याधिक भयो।’ अनि, स्थानीय टाँसी दोर्जे शेर्पा घरको छानामा चढ्थे र हिउँ फुटाएर झार्थे। उनले हिउँ झारेको देखेपछि स्थानीय अन्य युवाहरू पनि आ–आफ्ना घरका छानामा चढ्थे र हिउँ झार्न सुरु गर्थे। तर, अब यो अनुभव पनि कथा जस्तो भएको बताउँछन् टाँसी। भन्छन्, ‘अहिले त हिउँ नै बाक्लो पर्दैन र पर्ने ठेगान पनि हुँदैन। पहिले त छानाको हिउँ झार्दा भुइँमा मान्छे जत्रो थुप्रो हुन्थ्यो,’ उनले यो अनुभव काठमाडौंमा बसेर सुनाए।
टाँसीले भनेझै अहिले हिमाली क्षेत्रमा हिउँ पर्ने ठेगान छैन। पहिले स्थानीय अकाशमा कुहिरो हेरेको भरमा हिउँ पर्ने÷नपर्ने अनुमान लगाउँथे। अहिले उनीहरूको अनुमानले मेल खाँदैन। शेर्पा भन्छन्, ‘पर्ला भनेको समयमा पर्दैन। नसोचेको समयमा तीन फिटभन्दा धेरै पर्छ।’ उनका अनुसार पहिले आकाशको बादलको रूप हेरेर हिउँ पर्ने अनुमान गर्दै याक र चौंरी संकलन गर्न शेर्पाहरू खर्क जान्थे। ‘अहिले पर्दैन होला भने बस्यो हिउँ बर्सन्छ। पर्छ भनेर याक चौंरी भेला पर्यो, एक हप्तासम्म पर्दैन,’ अर्का स्थानीय ताम्जि शेर्पा भन्छन्।
यहाँका स्थानीयले घाँस हुने खर्कमा याक र चांैरी छाडेका हुन्छन्। हिउँ नपरेसम्म त्यहीँ चर्ने भएकाले उनीहरू २÷३ दिनसम्म पनि लिन जाँदैनन्। जब हिउँ पर्ने खालको मौसम देखा पर्छ, स्थानीयले याक र चौंरी संकलन गरेर ल्याउँछन् र गोठमा सुरक्षित राख्छन्। हिउँ परेपछि सबै घाँस पुर्ने र याक, चौंरी पनि बसेकै ठाउँमा पुरिने भएकाले हिउँ पर्नु अघि नै संकलन गर्नुपर्छ। नत्र, याक चौंरी हराएर ठूलो क्षति बेहोर्नुपर्छ। त्यसैले आकाशमा कुहिरोको अवस्था हेरेर याक चांैरी संकलन गरिन्छ। तर, अहिले यो अवस्था नरहेको शेर्पा बताउँछन्। ‘कुहिरो रातो, रातो भएर फाटेको अवस्था देखियो भने भोलि अथवा राति हिउँ पर्छ भन्ने अनुमान पहिले सही हुन्थ्यो। अहिले त्यस्तो अवस्था छैन। यस्तो मौसम हुँदा पनि हिउँ पर्दैन,’ उनले भने।
इन्टरनेसनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) को कञ्चनजंघा ल्यान्डस्केप इनिसियटिभ नामक संरक्षण कार्यक्रममा लामो समय कार्यक्रम प्रमुख भएर काम गरेका टाँसी दोर्जी शेर्पा पछिल्लो समय जलवायु परिवर्तनको असर यहाँको मौसममा पनि परेको बताउँछन्। भन्छन्, ‘समयमा हिउँ पर्दैन। परेको समयमा पनि अस्वाभाविक रूपमा हिउँ पर्छ।’ उनी यहाँका स्थानीयको परम्परागत अनुमान पहिले सही हुने गरेको भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मेल खान छाडेको बताउँछन्। ‘पहिले स्थानीय आकाशमा कुहिरोको अवस्था र हावाको गति हेरेर हिउँ वा पनी पर्ने अनुमान गर्थे। त्यो अनुमान लामो समयसम्म मेल खाएको बुढा पाकाको अनुभव पनि छ। तर, पछिल्लो समय यो पूर्वानुमानले मेल खाँदैन। यसले यहाँका स्थानीयको दैनिकीमा नै असर गरेको छ,’ उनी भन्छन्।
मौसम फेरिँदा पशुधनमा बढी क्षति
पछिल्लो समय ताप्लेजुङको हिमाली क्षेत्रमा मौसममा आएको परिवर्तन सँगै धेरै कुरामा असर परेको छ। यसबाट स्थानीयले धेरै क्षति पनि बेहोर्नु परेको छ। स्थानीय ५८ वर्षीय शेरबहादुर गुरुङ आपूmले यो उमेर सम्ममा मौसमको फरक–फरक रूप देखेको र त्यसले स्थानीयको दैनिकी र जीविकोपार्जनमा पनि प्रत्यक्ष असर गरेको बताउँछन्। ‘पहिले हाम्रा पुर्खादेखि नै कुहिरो हेरेर र हावाको चाप महसुस गरेर मौसम थाहा पाउन सक्थ्यौं। सबै कुरा ठीकै पनि थियो। तर, अहिले त्यसो हुँदैन। नसोचेको समयमा हिउँ पर्दा याक, चौंरी हिउँले पुरिएर लामो समय बेपत्ता भएका छन् भने कति त मरेका पनि छन्,’ उनले भने, ‘यो मौसमकै कारण स्थानीयले ठूलो नोक्सानी बेहोरिरहेका छन्।’
पछिल्लो समय अस्वाभाविक रूपमा हिउँ पर्दा छिमेकी मुलुक भारतको उत्तरी सिक्किम र भुटानमा धेरै याक र चांैरी मरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरे। ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रका स्थानीयले पनि यस्तो समस्या केही वर्षयता भोग्दै छन्। स्थानीय नुपु शेर्पा नसोचेको समयमा हिउँ पर्दा बर्सेनि याक चौंरी हराउने र मर्ने समस्या जिल्लाको ओलाङ्चुङगोला, याङ्मा र घुन्सामा देखिएको बताउँछन्। भन्छन्, ‘यहाँ पनि त्यस्तो समस्या छ। हामी खर्कमा चौंरी र याक चरोस भनेर छाड्छौं। नसोचेको समयमा हिमपात र वर्षा हुन्छ। मान्छेको जीवन नै जोखिममा राखेर याक चौंरी खोज्न जान्छौं। केही भेटिन्छन्, केही हराउँछन्। कति त पछि हिउँ पग्लेपछि मरेको अवस्थामा पनि भेटिएका छन्।’
दशकौंदेखि अनियन्त्रित रूपमा हरितगृह ग्यास उत्सर्जन भइरहेका कारण नेपालका हिमाली क्षेत्रमा यसको ठूलो असर देखिएको छ। हिमपात र तापक्रम वृद्धि यहाँका समस्या हुन्। पछिल्लो समय फरक मौसमका कारण याक र चौंरीमा विभिन्न रोग पनि देखिन थालेका छन्। यसले स्थानीयलाई आर्थिक रूपमा पनि ठूलो क्षति पुगेको स्थानीय शिक्षक ओम गौतम बताउँछन्। भन्छन्, ‘अहिले हिमाली क्षेत्रका पशुपालक कृषकका धेरै समस्या मौसममा आएको परिवर्तनसँग जोडिएको छ। पहिलेका खर्कहरूमा घाँस नउम्रनु, फरक–फरक समयमा हिउँ पर्नु र पशुहरूमा विभिन्न किसिमका रोग देखिनु मुख्य समस्या हो। यसले किसानलाई ठूलो क्षति पुगेको छ,’ उनी थप्छन्, ‘जलवायु परिवर्तनको असर हो भने यसको अनुसन्धान गरेर समयमा यसबाट जोगिने उपाय यहाँका स्थानीयलाई बताउनुपर्छ।’
कोइला जस्ता बने हिमाल
हिउँ पग्लिएर कालो बन्दै गएको ताप्लेजुङको टिपताला क्षेत्रको हिमाल। तस्बिर : राजेन्द्र श्रेष्ठ।
ओलाङ्चुङगोला बस्तीबाट मंसिरको समयमा बिहानै हेर्दा उत्तरतर्फ चाँदी झैं टल्कने हिमाल देखिन्थे। नजिकै रहेका स–साना पहाड पनि हिउँले आकर्षक देखिन्थे। अनि, चीनको सीमा क्षेत्रतर्फ जाँदा हिउँ पन्छाउँदै जानुपथ्र्यो। तर, अहिले मंसिर सकिन लाग्दासमेत त्यो दृश्य देखिँदैन।
जलवायु परिवर्तनको असरले हिउँ पग्लिएर कालापत्थर जस्तै बनेका छन्। समुद्र सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइ भयो भने पहाडलाई सधैं हिउँले छोप्छ। हिमाल यस्तै हिउँले छोपिएको पहाड हो। तर, अहिले त्यहीँ हिमाल नांगिएर पहाड बनेका छन्। यो मार कञ्चनजंघा हिमाली क्षेत्रले पनि भोगेको छ।
फुङ्लिङ नगरपालिका–८ का सूर्यमान लिम्बु प्रत्येक दिन कञ्चनजंघा, कुम्भकर्णलगायतका हिमालमा आफ्नो आँखा डुलाएर मात्र दैनिकी सुरुआत गर्थे। अब यो अवस्था हराउने पो होकि भन्ने चिन्ता उनलाई छ। किनभने पहिले भारी बोकेर पर्यटकसँग कञ्चनजंघा आधार शिविरसम्म पुगेका उनी अहिले हिउँ नदेखेर आतिएका छन्। भन्छन्, ‘यहीँ हिउँ हेर्न आउने पर्यटक आएनन् भने हामी के गर्ने ?’
ताप्लेजुङका गुरुङ समुदाय हिमालमा हिउँ पातलिँदा अझै आतिएका भेटिन्छन्। किनभने उनीहरूको सम्बन्ध हिमाल र हिउँ अनि भेडा पालनसँग जोडिएको हुन्छ। हिमाल नाङ्गिए पानीको समस्या हुने र चरन क्षेत्रमा घाँस नहुने पीर उनीहरूलाई छ। गुरुङहरू भेडा चराउँदै कञ्चनजंघा र कुम्भकर्ण हिमालका टाकुराहरू चाहर्छन्। ती हिमालका फेदीमा अहिले पानीकै समस्या पर्लाकी भन्ने स्थानीयलाई चिन्ता पर्न थालेको छ। स्थानीय हर्कराज गुरुङ भन्छन्, ‘पहिलेका हिमाल त कोइला जस्ता पो भए। प्रकृतिले किन ठगिरहेछ यहाँ ?’
हर्कराज सानै उमेरमा बुबालाई सघाउन भेडा गोठसम्म पुगेका थिए। अहिले उनी त्यो सानु हुँदाको समयको जस्तो अवस्था हिमाली क्षेत्रमा देख्दैनन्। आजभोलि हिमाल हेर्न लायकको नभएको गुरुङले बताए। भने, ‘हिमाल सेताम्य हुन्थ्यो सधैं। तर, आजभोलि कोइला जस्तै कालो देखिन थालेको छ।’ लिम्बू र गुरुङको अनुभवले यस क्षेत्रमा छोटो समयमा नै चाँडै हिउँ पग्लिएको प्रष्ट पार्छ।
हिमालमा हिउँ पर्न कम हुन थालेपछि चिसो पनि क्रमशः घट्दै गएको उनीहरूको अनुभव छ। पहिले मंसिर–पुससम्ममा अत्याधिक हिमपात र चिसो हुने हुँदा कात्तिक अन्तिमबाट तल्लो क्षेत्र झर्ने स्थानीय र गोठ पनि पछिल्लो समय कमै मात्र झर्ने गरेको गुरुङ बताउँछन्। हिमालमा यस्तो असर परेर हिउँ पग्लन थाले हिमाल सुक्खा हुन्छ। हिमाल काला भए पानीको मुहान सुक्छ। चौंरी याकहरूले पानी खान पाउँदैनन्। जमिन सुक्खा हुँदै गएपछि घाँस उम्रिँदैन। घाँस नभएपछि चौंरी, याक तिर्खा र भोकले मर्ने चिन्ता ताप्लेजुङका हिमाली क्षेत्रका स्थानीयलाई छ।
ताप्लेजुङकै एक हिमाली गाउँ हो याङमा। यस गाउँका समुदायको मुख्य पेसा चौंरी याकपालन हो। उच्च हिमाली स्थान भएकाले अन्न हुँदैन। त्यसैले चौंरी, याक र गोठ नै मुख्य आम्दानीको स्रोत हो। जलवायु परिवर्तनको असर बढ्न थालेपछि यस क्षेत्रका स्थानीय धेरै चिन्तित छन्। हिमालमा हिउँ पग्लेर ढडेलो लागेको जस्तै कालो पत्थर जस्तै हिमाल हुँदै गएपछि स्थानीय चिन्तित बनेको फक्ताङलुङ गाउँपालिका–६ का बसन्त लिम्बू बताउँछन्।
हिमालमा हिउँ नपर्दा यसको असर तल्लो क्षेत्रमा पनि परेको छ। पानी नपर्ने र हुरी बतास मात्र चल्ने भएकाले खरेडीबाट अलैंची बगान जोकाउनै मुस्किल हुने गरेको लिम्बू बताउँछन्। माथिल्लो क्षेत्रमा आलु रोप्ने र समयमा हिउँ र पानी नपरे रोपेको बाली नसप्रने स्थानीयको पीडा छ। विगतका वर्षहरूमा मंसिरको दोस्रो सातादेखि नै हिमाली क्षेत्रमा हिउँ पर्न सुरु हुन्थ्यो। तर, यसवर्ष भने सामान्य मात्रै हिमपात भएको स्थानीय बताउँछन्। समुद्रसतहदेखि ३ हजार ५०० मिटरमा अस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा हिउँ परे बाली सप्रने हुँदा किसान खुसी हुने बताउँछन्। तर, पछिल्लो समय हिमाल नै नांगिन थालेपछि चिन्ता बढेको बताए।
क्षति गर्ने अरू, बेर्होने हिमाली नागरिक
ताप्लेजुङमा नै छ कञ्चनजंघा संरक्षण क्षेत्र। ठूलो क्षेत्रफल ओगटेकाले वनजंगल पनि धेरै नै छन्। स्थानीयहरू जलवायु परिवर्तन बढाउने क्रियाकलापमा पनि संलग्न छैनन्। तर, उनीहरू नै यसको क्षति बेहोर्न बाध्य छन्। फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू यस क्षेत्रका नागरिकलाई ‘नखाएको बिस लागेको’ बताउँछन्। भन्छन्, ‘जलवायु परिवर्तन गर्नमा अन्य ठूला राष्ट्र, जो धनी भनिएकाहरू लागेका छन्। तर, उनीहरूले गरेको असर हामी जस्ता नागरिक र हाम्रा हिमालले भोग्नुपरेको छ।’
उनी यसरी भएको क्षतिपूर्ति स्थानीयले पाउनुपर्ने बताउँछन्। ‘स्थानीयले पछिल्लो समय बाढी, पहिरो र अस्वाभाविक वर्षा सँगै हिमपातको असर भोगिरहेका छन्। उनीहरू कुन समय के गर्ने भन्ने सम्मको दोधारमा छन्। यो विषयमा सरकार मात्रै होइन यसरी क्षति गर्ने मुलुकहरू पनि जिम्मेवार बन्नुपर्छ।’
जलवायु परिवर्तनको असर खासगरी हिमाली क्षेत्रमा बढी छ। यसले स्थानीयवासीको जीवनशैली कष्टकर बनाएको अध्यक्ष लिम्बू बताउँछन्। भन्छन्, ‘हिमालमा हिमरेखाभन्दा माथिसम्म हिउँ पग्लदै गइरहेको छ। जलवायु परिवर्तनले गर्दा वातावरणमा प्रतिकूलता आएको छ। हिउँ समयमै नपर्नु पनि प्रत्यक्ष अप्रत्यक्ष वातावरणमा असर पुर्याएको हुन्छ।’ कञ्चनजंघा हिमशृंखला क्षेत्रमा विश्वकै दुर्लभ जनावर हिउँ चितुवाको विशेष बासस्थान मानिन्छ। हिउँ नै पग्लदै गएपछि हिउँ चितुवासमेत संकटमा पर्न सक्ने उनी बताउँछन्। जलवायु परिवर्तनका असरका कारण हिमाली क्षेत्रमा हिमताल सुक्ने, पानीको मुहान सक्दै जाने, वन–जंगल सुक्खा हुने भएकाले वन जंगलमा ढडेलो लाग्ने क्रमसमेत बढ्दै गएको छ। यो क्रमले वन जंगलमा रहने वन्यजन्तुको समेत स्थानान्तरण हुँदै जाने सम्भावना छ।