ठूलोखोला जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणको काम सकियो
बेनी : २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको सुरुङ जोडिएको (टनेल ब्रेकथ्रु) छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा निर्माणाधिन आयोजनाको दुई हजार सात सय मिटर सुरुङ निर्माण सकिएको हो ।
इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा मुख्य सुरुङ (हेडरेस्ट टनेल) निर्माण गरेको जनाएको छ ।
संयुक्त ऊर्जा लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा २०७८ मंसिरदेखि टनेल निर्माण सुरु भएर शनिबार टनेल ब्रेकथ्रु गरेको आयोजनाका प्रमुख रविन्द्र हमालले जानकारी दिए ।
‘हिमाली क्षेत्र र प्राकृतिक प्रकोपका वावजुद २० महिनामै सुरुङ निर्माण गरिएको छ,’उनले भने ‘सबैभन्दा कठिन मानिने टनेल जोड्ने काम सकिएको छ,ड्याम साईड र विद्यूतगृहमा समेत धमाधम काम भइरहेको छ ।’
७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको यस आयोजनामा आगामी आठ महिनाभित्र निर्माण सकेर विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ । रघुगंगा नदीस्थित फेदीखोलामा मुहान रहने यस आयोजनामा पानीलाई छरीस्थित रघुगंगा नदीको किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ ।
आयोजनामा छ सय मिटर पेनस्टक टनेल रहनेछ । चार सय ९५ मिटर पेनस्टक टनेल खनिसकिएको छ भने एक सय मिटर भर्टिकल पेनस्टक टनेल मध्ये पचास मिटर खन्न बाँकी छ ।
यस आयोजनामा अहिले करिब २२५ जना कामदारले नियमित रुपमा काम गर्दै आएका छन् । गैर आवासीय नेपाली र नेपालीहरुको ३० प्रतिशत लगानी रहेको यस आयोजनामा ७० प्रतिशत बैंक तथा वित्तिय संस्थाहरुको लगानी रहेको छ । यस आयोजनामा नेपाल बैंक लिमिटेडको नेतृत्वमा सनराईज बैंक,राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ बैँकले लगानी गरेको आयोजनाले जनाएको छ ।
यस आयोजनामा गत असारमा आएको बाढीले बाँधतर्फ निर्माणधिन पूर्वाधारमा क्षति पुर्याएपछि आयोजनको निर्माण कार्य केहि पछि धकेलिएको हो । आयोजनाको सिभिल ठेकेदार कम्पनी साकुरा पावर/त्रिपल एस जेभीले आवश्यक जनशक्ति र मेसिन उपकरण परिचालन गरेर आयोजनालाई थप गरिएको लक्ष्यमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ ।
आयोजना सम्पन्न गर्न करिब ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय प्रशारण लाइनमा जोड्नका लागि २३ किलोमिटर लामो प्रशारण लाइन निर्माणको चरणमा रहेको छ