मौद्रिक नीतिको सकारात्मक सन्देश

मौद्रिक नीतिको सकारात्मक सन्देश

काठमाडौं : लामो समयदेखि हतोत्साह बनेका लगानीकर्ता आक्रामक रूपमा उत्साहित हुँदा नेप्सेमा सर्किट ब्रेक लागेको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा गर्दै अवलम्बन गरेको नीतिगत व्यवस्थाले लगानीकर्तामा उत्साह जागेसँगै आइतबार सेयर बजारमा तेस्रो पटकसम्म सर्किट ब्रेक लागेको हो। 

परिणामस्वरूप सेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा साताको पहिलो दिन कारोबार बन्द भयो। यो ऐतिहासिक रेकर्ड हो। साताको पहिलो कारोबारका दिन बजार खुलेको ५ मिनेटमा ४ प्रतिशतले बजार बढेर पहिलो सर्किट ब्रेक लाग्यो। यसपछि ११ः२५ बजे खुलेको बजार २ मिनेटमै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लाग्यो। जसले ११ः४० बजेसम्म कारोबार रोकियो। फेरि यसपछि १२ः०७ बजे खुलेको बजार ६ प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेपछि आइतबार कारोबार नै रोकियो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर बजारको उतारचढावलाई नियन्त्रण गर्न २०६४ देखि सर्किट ब्रेक लगाउने व्यवस्था थालेको हो। यद्यपि यसबीच केही बुँदा परिमार्जित भएका छन्। नेप्सेले २०७५ सालयता परिस्कृत गरेको व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो एक घण्टामा ४ प्रतिशतले घटे वा बढेमा १५ मिनेटसम्म सर्किट ब्रेक लाग्छ। यसपछि दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ३० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा दिन भरका लागि कारोबार बन्द गर्ने व्यवस्था छ। सोहीअनुसार आइतबार बढेको बजारमा सर्किट ब्रेक लगाउनु परेको हो। यद्यपि यसबीच बजार घट्दासमेत सर्किट ब्रेक लागेको थियो। 

कोभिडको समयमा एक्कासि उकालो लागेको सेयरबजार यसपछि अपेक्षाअनुसार नभएपछि लगानीकर्ता केही निरुत्साहित हुँदै आएका थिए। जसले गर्दा लगानीकर्ताले नियामकीय निकाय राष्ट्र बैंकको नीतिलाई दोष दिँदै आएका थिए। तर केन्द्रीय बैंकले केही लचिलो नीति लिँदा सेयर बजारमा सकारात्मक सन्देश गएको छ। यसको नतिजा आइतबारको अत्यधिक सेयर खरिद मागले पनि देखाएको छ। 

विशेष गरेर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने र कर्जा प्रवाहलाई प्राथमिकता राखेको छ। साथै, राष्ट्र बैंकले घरजग्गा, सेयर धितो कर्जामा ऋणीलाई केही सहजीकरण गरेको छ। जसअन्तर्गत अब बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गर्ने घोषणा गर्‍यो। जबकि यसअघि जोखिम भार १५० प्रतिशत थियो। 

यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थालाई थप ४० अर्बदेखि ५० अर्ब रुपैयाँसम्म कर्जा दिने क्षमता सिर्जना हुने देखिन्छ। केन्द्रीय बैंकले विशेष उक्त नीति लिँदा सेयर कारोबारमा ऊर्जा थपिएको लगानीकर्ता बताउँछन्।  यसैक्रममा नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल अहिलेको मौद्रिक नीतिअन्तर्गत भएका व्यवस्थाले लगानीकर्तालाई विश्वास जगाएको भन्दै खुसी व्यक्त गर्छिन्।

अध्यक्ष पोखरेलका अनुसार मौद्रिक नीतिको मुख्य आकर्षण नै सेयर धितो कर्जाको जोखिमभार घटाइनु र ब्याजदर घटाउने नीति लिनु नै हो। ‘बजारमा सेयर धितो प्रकृतिको मार्जिन कर्जाको क्याप यथावत् भए पनि अन्य नीतिमा सहजीकरण गर्दा लगानीकर्ता उत्साहित भएका छन्। सकारात्मक नीति आएपछि अब विस्तारै बजार बढ्ने अपेक्षा गरेका छौं,’ उनले अन्नपूर्णसँग भनिन्, ‘मौद्रिक नीतिलगत्तै एक्कासि लगानीकर्ता उत्साहित हुनु स्वाभाविक हो। किनभने तीन वर्षदेखि नबेचेर होल्ड गरेर बसेकाहरूले पनि अब किन्दा राम्रो होला भन्ने आशा जागेको छ। यसैले बेच्नेभन्दा पनि किन्नेको आकर्षण बढेको देखिन्छ। 

आइतबारकै जस्तो सेयर बजार सर्किट नै लाग्ने अवस्था नभए पनि केही समय राम्रै हुन्छ कि जस्तो लाग्छ।’ शुक्रबार मौद्रिक नीति आएपछि दुई दिन लगानीकर्तालाई सोच्ने समय मिलेकाले साताको पहिलो दिन आइतबार सेयर बजारमा बढी उछाल आएको उनको भनाइ छ। आम लगानीकर्ताले चाहेको ठ्याक्कै नभए पनि अहिलेको मौद्रिक नीति लगानीकर्ताका लागि हितकारी भएको अध्यक्ष पोखरेलको ठहर छ। 

यसअघि पनि लगानीकर्तासँग पैसा नभएको होइन, सकारात्मक सन्देश चाहिएको छ भन्दै आएका सेयर विश्लेषक नवराज दाहाल मौद्रिक नीतिले राम्रो सन्देश दिएकैले सेयर बजारमा उत्साह आएको बताउँछन्। उनका अनुसार मौद्रिक नीति जारी भएपछिको दुई दिनमा लगानीकर्तासँग खल्तीमा भएको यति धेरै पैसा एकाएक बाहिरिएको छ। ‘यो सकारात्मक सन्देशले लगानीकर्तासँग भएको खल्तीको पैसा निकालेर सेयर किन्न तयार भए। उनीहरूसँग पैसा थियो तर भोलिका दिनमा कस्तो नीति आउला भनेर अलमल्लमा थिए। अहिले नीति राम्रो आयो भनेपछि लगानीकर्ता सेयर किन्नका लागि तयार भए,’ उनले अन्नपूर्णसँग भने, ‘तर लगानीकर्ताहरू बढी नै हौसिएर किने। यत्ति धेरै आक्रामक उत्साह पनि जरुरी नभएको उनको तर्क छ। किनभने विस्तारै किन्दैकिन्दै अन्तिममा सर्किट लाग्ने गरी वा सर्किट नै नलागीकन विस्तारै किनबेच गरिरहेको भए हुन्थ्यो। तर यहाँ बजारमा सेयर किन्नै पाइँदैन कि क्या हो भन्ने सोचले एकैचोटी हाम्फालेको जस्तो देखियो। यत्ति धेरै आत्तिनु पर्दैनथियो। पुँजीबजारका लागि आत्तिनु र मात्तिनु दुवै घातक मानिन्छ।’
लगानीकर्ताको आत्मबल बढ्यो, अबको सेयर कारोबार के होला ?

राष्ट्र बैंकलाई सबैले दोष दिँदै आएका थिए तर हामी पनि पुँजीबजारप्रति सकारात्मक छौं है भनेर केन्द्रीय बैंकले संकेत गरेको सरोकारवाला बताउँछन्। जसले गर्दा लगानीकर्ताको आत्मबल बढेको छ। अहिले सकारात्मक सन्देश आउँदै गर्दा भोलिका दिनमा सेयर किनेर राखेकाहरूले नाफा बढी आइसक्यो अब नाफाबुक गरौं भने केही करेक्सन आउन सक्ने सेयर विश्लेषक नवराज दाहालको अनुमान छ। आइतबार अत्यधिक मागले सर्किट लागे पनि अब सधैं नलाग्दा तर पुँजीबजारले सकारात्मक गति लिने उनको भनाइ छ।

उनी भन्छन्, ‘यसअघि नेप्से १८०० हुँदा किनेको सेयर अबका दिनमा प्रतिकित्ता १००–२०० सम्म नाफा गर्नेतर्फ लागे भने हल्का बिक्रीमा दबाब आउन सक्छ। यस्तो हुनासाथ अहिले आक्रामक भएर किनेकाले कसले छिटो बेच्ने भन्ने होड चल्न सक्छ। यसरी हेर्दा हाम्रो बजार जहिल्यै पनि एकतर्फी हुन्छ।’ पछिल्लो समय कहिल्यै पनि पुँजी बजार दुईतर्फी भएर गएको देखिँदैन। पहिला दुईतर्फी भए पनि अनलाइन ट्रेडिङ आएपछि बजार एकतर्फ भएको छ। घट्यो भने एकोहोरो घट्ने र बढ्यो भने एकोहोरो बढ्ने गरेको उनले बताए। यसर्थ लगानीकर्ताले पनि विगतका इतिहासलाई हेरेर सेयर किनबेचबारे सिकेर, बुझेर मात्रै गर्न उनी सुझाव दिन्छन्। ‘बजारको माहोल सकारात्मक भएकाले अब राम्रो हुने आशा गर्ने ठाउँ छ। किन्ने र बेच्ने योजना बनाएर कारोबार गर्नेलाई पक्कै बजार राम्रो छ।’ उनले सुझाव दिए।

सर्किट ब्रेक भनेको के हो ? कसरी हुन्छ ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्रहरूको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्न सर्किट ब्रेकको अवधारणा ल्याएको हो। धितोपत्र कारोबार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ। यसलाई बजारको भाषामा सर्किट ब्रेकर भनिन्छ। नेपालमा पनि नियामकको स्वीकृतिमा बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले सर्किटको व्यवस्था गरेको छ।

सर्किट ब्रेकर कम्पनी र बजार परिसूचकका लागि फरक सीमा तोकिएको छ। विनियम १७ ले सर्किट ब्रेकरको व्यवस्था गरेको छ। विगतमा ३, ४ र ५ प्रतिशतको बजार सर्किट हाल निरन्तर कारोबार सुरु भएको एक घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट, दुई घण्टाभित्र ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र त्यसपछि कुनै पनि समयमा ६ प्रतिशतले घटे वा बढेमा सो दिनको कारोबार बन्द गर्ने व्यवस्था गरेको छ। कम्पनीतर्फ प्रिओपनिङमा कायम मूल्यमा १० प्रतिशतभन्दा घटी वा बढी हुने गरी सो दिन कारोबार हुनेछैन भन्ने कानुनी व्यवस्था भएता पनि प्रचलनमा अघिल्लो दिन कायम मूल्यको १० प्रतिशत घटी वा बढीसम्म मूल्य कायम हुने प्रचलन छ।

नेप्सेले प्रारम्भिक (प्रिओपनिङ) कारोबारका लागि छुट्ट्याएको’ बिहान १०ः३० देखि १०ः४५ बजेसम्म’को १५ मिनेटभित्र लगानीकर्ता/कारोबारीले धितोपत्रको आदेश प्रविष्टि मात्र गर्न सक्छन्। कारोबार प्रणालीले ‘इकोनोमिक अर्डर क्वान्टिटी तथा इकोनिमिक अर्डर प्राइस’का आधारमा माग र आपूर्तिको सिद्धान्तबमोजिम निर्धारित समयभित्र प्रविष्ट सम्पूर्ण आदेशलाई एकैपटक कार्यान्वयन गर्छ।

विनियमावली बमोजिम प्रिओपनिङ सत्रमा अघिल्लो दिनको अन्तिम मूल्यको ‘५ प्रतिशत घटी वा बढीको मूल्य सीमा’भित्र रहेर आदेश प्रविष्टि गर्न सकिन्छ। यही पाँच प्रतिशत मूल्यांन्तरको लालसाले जोखिम लिने लगानीकर्ता प्रिओपनिङमा आदेश राखेर लालायित हुन्छन्। सामान्यतः धेरै कित्ता र ठूलो कारोबार नहुने भए पनि थोरै कित्ताले फराकिलो मूल्यान्तरको अवसरले गर्दा प्रिओपनिङ अधिक जोखिम लिने र मूल्यान्तर (मूल्य सीमा) मा खेल्ने कारोबारीको प्राथमिकतामा पर्छ।

यस सत्रमा नियमित बजारमा जस्तो धितोपत्रको माग र आपूर्तिको अवस्था जनाउने मार्केट डेप्थ देखिने छैन भने एउटा कम्पनीको किन्ने वा बेच्ने एक किसिमको एउटा मात्र खरिद वा बिक्री आदेश प्रविष्टि गर्न सकिन्छ। अनलाइन लिएकाहरूले प्रिओपनिङमा क्लिक गरेर तोकिएको मूल्य सीमाभित्र सिधै अनि अरुले ब्रोकरमार्फत खरिद वा बिक्री आदेश प्रविष्टि गर्न सक्छन्। यसरी प्रविष्ट आदेशहरू सामान्यतः नियमित कारोबार सुरुभन्दा अगाडि नै कारोबार सम्पन्न वा रद्द हुन्छन्, तर प्रिओपनिङमा कायम मूल्यको दुई प्रतिशतभित्रका आदेशहरू भने नियमित सत्रमा जान सक्छ। 


अहिलेको मौद्रिक नीतिअन्तर्गत भएका व्यवस्थाले लगानीकर्तालाई विश्वास जगाएको छ। यसको मुख्य आकर्षण नै सेयर धितो कर्जाको जोखिमभार घटाइनु र ब्याजदर घटाउने नीति लिनु हो। बजारमा सेयर धितो प्रकृतिको मार्जिन कर्जाको क्याप यथावत् भए पनि अन्य नीतिमा सहजीकरण गर्दा लगानीकर्ता उत्साहित भएका छन्। सकारात्मक नीति आएपछि अब विस्तारै बजार बढ्ने अपेक्षा गरेका छौं।

मौद्रिक नीतिलगत्तै एक्कासि लगानीकर्ता उत्साहित हुनु स्वाभाविक हो। किनभने तीन वर्षदेखि नबेचेर होल्ड गरेर बसेकाहरूले पनि अब किन्दा राम्रो होला भन्ने आशा जागेको छ। यसैले बेच्नेभन्दा पनि किन्नेको आकर्षण बढेको देखिन्छ। आइतबारकै जस्तो सेयरबजार सर्किट नै लाग्ने अवस्था नभए पनि केही समय राम्रै हुन्छ कि जस्तो लाग्छ। आम लगानीकर्ताले चाहेको ठ्याक्कै नभए पनि अहिलेको मौद्रिक नीति लगानीकर्ताका लागि हितकारी छ।
राधा पोखरेल 
अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ 


मौद्रिक नीतिले राम्रो सन्देश दिएकैले सेयर बजारमा उत्साह बढ्यो। यो सकारात्मक सन्देशले लगानीकर्तासँग भएको खल्तीको पैसा निकालेर सेयर किन्न तयार भए। उनीहरूसँग खल्तीमा पैसा थियो तर भोलिका दिनमा कस्तो नीति आउला भनेर अलमल्लमा थिए। अहिले नीति राम्रो आयो भनेपछि लगानीकर्ता सेयर किन्न तयार भएका हुन्।

राष्ट्र बैंकलाई सबैले दोष दिँदै आएका थिए तर हामी पनि पुँजीबजारप्रति सकारात्मक छौं है भनेर केन्द्रीय बैंकले संकेत गरेको छ। जसले गर्दा लगानीकर्ताको आत्मबल बढाएको छ। बजारको माहोल सकारात्मक भएकाले अब राम्रो हुने आशा गर्ने ठाउँ छ। किन्ने र बेच्ने योजना बनाएर कारोबार गर्नेलाई पक्कै बजार राम्रो छ।

नवराज दाहाल, सेयर विश्लेषक 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.