जाडोमा पनि डेंगु : २० जनाको मृत्यु, ७७ जिल्ला प्रभावित

जाडोमा पनि डेंगु : २० जनाको मृत्यु, ७७ जिल्ला प्रभावित

काठमाडौं : गर्मी मौसममा मात्र लामखुट्टेले टोकेर डेंगु संक्रमण हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ ? अब सोंच फेर्नुहोस्। सुरक्षात्मक उपाय अपनाउन थाल्नुहोस्। किनभने, लामखुट्टेले बाह्रै महिना सक्रियता देखाउँदै डेंगु फैलाइरहेको छ। 

तराई (मधेस)का जिल्लावासीलाई पिरोल्ने डेंगुले पहाड र हिमालमा पनि सताउन थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यस वर्ष ७७ जिल्लामै लामखुट्टेको संक्रमण विस्तार भएको छ। यस वर्ष ५१ हजार ९४ जनामा संक्रमण भएको पुष्टि भएको छ। संक्रमितमध्ये २० जनाको ज्यान गएको छ। मुलुकका १५ वटा जिल्ला मात्रै ५ सयभन्दा बढी व्यक्तिले संक्रमण पछिको पीडा अनुभूति गरेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार, यस वर्ष सबैभन्दा बढी कोशी प्रदेशवासीहरू संक्रमणको पीडा अनुभूति गरेका छन्। मन्त्रालयका प्रवक्ता बुढाथोकी भन्छन्, ‘चिसो मौसममा शून्यमा झर्ने डेंगु यस वर्ष जाडोमा पनि देखा परेको छ। यसले स्वास्थ्य प्रणालीमा चुनौती थप्दै गएको छ।’

यस वर्ष कोशी प्रदेशमा सबैभन्दा बढी संक्रमित फेला परेका छन्। कुल संक्रमितमध्ये ५० दशमलव ९ प्रतिशत संक्रमित कोशी प्रदेशका छन्। दोस्रो, गण्डकी प्रदेशमा देखिएको छ। यस प्रदेशमा २४ दशमलव ७ प्रतिशत संक्रमित भएका छन्। तेस्रोमा बागमती प्रदेश परेको छ। यस प्रदेशमा १५ प्रतिशत संक्रमित पुष्टि भएका छन्। चौथोमा सुदूरपश्चिम ४ प्रतिशत र पाँचौंमा लुम्बिनी ३ दशमलव १ प्रतिशत संक्रमित पुष्टि भएको छ। छैटौंमा मधेस प्रदेश रहेको छ। यस प्रदेशमा १ दशमलव ७ प्रतिशत संक्रमित फेला परेका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा संक्रमित देखिएका छन्। यस प्रदेशमा कुल संक्रमितको शून्य दशमलव ६ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको छ। 

यस वर्ष सबैभन्दा बढी संक्रमित सुनसरी जिल्लामा भएका छन्। सुनसरीमा १६ हजार १ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। सबैभन्दा थोरै हिमाली जिल्ला हुम्लामा संक्रमित फेला परेका छन्। कर्णाली प्रदेशको हुम्लामा यस वर्ष २ जना डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

बाह्रै महिना जोखिम ? 

मुलुकमा डेंगु संक्रमण पुष्टि भएको १९ वर्ष भयो। विगतमा गर्मी समयमा मात्र डेंगुको संक्रमण व्यापक हुने गथ्र्यो। जाडो सुरु हुनेबित्तिकै लामखुट्टे हराउँथ्यो। डेंगु संक्रमण पनि विस्तारै ओरालो लागेपछि डेंगुको चर्चा नै सेलाउँथ्यो। ‘तिहारसँगै लामखुट्टे हरायो भन्ने सोंचेको थिएँ,’ नेपालगन्ज–१, धम्बोजीका भुपाल पोखरेल भन्छन्, ‘जाडो सुरु भएको बेला एक्कासि डेंगुको संक्रमण भयो।’ यातायात व्यवसायी पोखरेलले डेंगु भए पनि तीनदिन आरामपछि नै काममा फर्केको बताए।

यस वर्ष मुलुकका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ। १२ महिना नै संक्रमण देखिएको छ। काठमाडौंलगायत सुनसरी, झापा, धादिङ, रामेछाप, चितवन, रुपन्देही, कैलाली, चितवनलगायतका जिल्लामा संक्रमित पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार, गत पुसमा मुलुकभर १ सय ३२ जिल्लामा संक्रमित फेला परेका थिए। अहिले पनि कतिपय जिल्लाका अस्पतालमा संक्रमितहरू अस्पताल भर्ना भएका हुन्। केही संक्रमितको उपचार भइरहेको अस्पतालहरूले जनाएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी भन्छन्, ‘जाडो आयो, संक्रमितको संख्या घट्यो भन्दैमा डेंगु हुँदैन भनेर लापरबाही गर्दा संक्रमणमा पर्न सकिन्छ।’

null

डेंगु संक्रमणले चुनौती दिइरहेका बेला सरकारी चासो र चिन्ता देखिँदैन। १२ भदौ २०६७ मा नै तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पत्रकार सम्मेलन गरी भनेका थिए, ‘डेंगु नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गर्नुपर्ने अवस्था आइसकेको छ।’ यादवले डेंगु नियन्त्रणको अभियानबारे जोड दिँदा ४० जिल्लामा संक्रमण फैलिएको थियो। यस वर्ष ५१ हजारभन्दा बढी संक्रमित पुष्टि भइसक्दा पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बेवास्ता गरेका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार, यस वर्षको संक्रमणको विश्लेषण गर्दा बाह्रै महिना नै डेंगुको जोखिम देखिएको छ। ‘डेंगु नियन्त्रण गर्न सरकारी प्रयास झन्डै शून्यबराबर झैं भयो,’ डा. मरासिनी भन्छन्, ‘त्यसैले डेंगु संक्रमण उच्च भयो।’

छैन अनुसन्धान 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली डेंगुबाट बल्लतल्ल बाँचेको अनुभव सुनाउँछन्। डेंगुका भाइरस चार प्रकार हुन्छन्। डेन–१, डेन–२, डेन–३ र डेन–४ मध्ये कुनचाहिँ भाइरसले आफूलाई गलाएको हो उनले थाहा पाउन सकेका छैनन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार, डेंगु संक्रमितमा उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, जोर्नी र मांसपेशीमा दुखाइ महसुस हुने लगायतका लक्षणहरू देखा पर्छन्। शरीरमा राता बिमिराहरू देखिने, आँखाको गेडी दुख्ने र वाकवाकि लाग्ने एवं वान्ता हुने गरेको पाइएको छ। डा. पुन भन्छन्, ‘सामान्य लक्षण देखिनेबित्तिकै उपचारका लागि अस्पताल आएको पाइयो। यस वर्ष डेंगु संक्रमितहरूमा धेरै जटिलता पाइएन।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं जनस्वास्थ्य विज्ञ डा. मरासिनी विभिन्न समयमा फरक/फरक भाइरस आउटब्रेक हुने बताउँछन्। स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. ज्ञवाली डेंगु संक्रमण गराउने भाइरस मात्र नभई संक्रमितको स्वास्थ्य अवस्थाबारे पनि अध्ययन÷अनुसन्धान गर्नुपर्ने खाँचो रहेको बताउँछन्।  ‘डेंगु संक्रमण गराउने भाइरस र संक्रमित बिरामीको स्वास्थ्य अवस्थाका बारेमा पनि अनुसन्धान गर्नुपर्ने आवश्यकता छ,’ डा. ज्ञवालीले भने। 

कसरी गर्ने नियन्त्रण ?

एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु हुन्छ। एडिज जातका लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडामा पनि हुर्कन सक्छ। जनस्वास्थ्यविज्ञ डा. मरासिनीका अनुसार, डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान निर्मूल गर्नुपर्ने सुझाव दिन्छन्। 

पानी संकलन हुने भाँडाहरू जस्तै ट्याँकी, ड्रम, बाटा, बाल्टिनलगायतका भाँडाहरूमा लामखुट्टे नछिर्ने गरी छोपेर राख्नुपर्ने विज्ञहरूको सुझाव छ। डेंगु संक्रमण गराउने लामखुट्टेको लार्भा हुर्कने स्थानहरू घर, विद्यालयका कुनाकाप्चा, बगैंचा, शौचालय, पलङमुनि, आदि स्थान सफा राख्ने एवं कीटनाशक औषधि छर्कनुपर्ने विज्ञहरूको सुझाव छ। पानी जम्ने ठाउँ एवं पानी संकलन गरिने भाँडा वा वस्तुहरू सफा गर्ने र लामखुट्टेको फुलहरू नष्ट गर्नु पर्ने आवश्यकता देखिएको छ। 

‘सवारी साधनहरू चल्ने टायरहरू चाङ लगाएर राख्नुहुँदैन,’ डा. मरासिनी भन्छन्, ‘तीनै टायरमा लामखुट्टेका लार्भा हुर्किने अध्ययनमा पाइएको छ। पहिलो प्राथमिकता जथाभावि टायर फाल्ने वा लार्भा हुर्कन दिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल डेंगु नियन्त्रणका लागि तीनवटै तहका सरकारबीच समन्वयको खाँचो रहेको औंल्याउँछन्।  

डेंगु संक्रमण द्रुत, खोपको गृहकार्य सुस्त

डेंगु फैलाउने लामखुट्टे सफा पानीमा बस्ने भएकाले भीआईपी लामखुट्टेका रूपमा समेत लिने गरिएको छ। गत वर्ष ७६ जिल्लामा फैलिएको थियो। यस वर्ष ७७ वटै जिल्लामा संक्रमण गराएको छ। डेंगु फैलाउने लामखुट्टे द्रुतरूपमा फैलिरहेको छ। तर, यसको नियन्त्रण खोज र नष्ट गर अभियान मात्र होइन खोप ल्याउने गृहकार्य पनि सुस्त छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, डेंगुको खोप विकसित देशमा उपलब्ध भए पनि नेपालमा उपलब्ध छैन। डा. बुढाथोकी भन्छन्, ‘खोपले डेंगुको जटिलता ९० प्रतिशतले कम, अस्पताल भर्ना ८० प्रतिशतले कम र लक्षण ५० प्रतिशतले कम हुने देखिएको छ। अब नेपालमा पनि खोप भित्र्याउने बारेमा छलफल र गृहकार्य भइरहेको छ।’

जुनदेखि अगष्टलाई महामारीको रूप लिनसक्ने पिक सिजन मानिन्छ। यद्यपि, यसपटक मंसिर मसान्तसम्म पनि संक्रमणहरू देखिरहेको डा. बुढाथोकी बताउँछन्। ‘गर्मी मौसम र तराईमा मात्र देखिने डेंगु बाह्रैमहिना र उच्च हिमालीमा पनि देखिन थालेको छ,’ उनले भने। जलवायु परिवर्तनका साथै बढ्दो जनघनत्व, अव्यवस्थित सहरीकरण, बढ्दो तापक्रम, घरघरमा पानी जम्मा गर्नुपर्ने बाध्यता, लामो समयसम्म भएको वर्षा र प्रीमनसुन अगाडि भएको, बाटोको खाल्डाखुल्डी, टायर, कौशीमा पानी जम्मा गर्ने प्रवृत्तिले डेंगु संक्रमण फैलिँदै गएको डा. बुढाथोकी बताउँछन्।

डेंगु फैलँदा भेक्टर निरीक्षक भएनन् 

डेंगु नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण भूमिका कसको हुन्छ ? विज्ञहरू भन्छन्, ‘कीटजन्य रोग नियन्त्रण स्रोत व्यक्ति अर्थात् भेक्टर कन्ट्रोल सहायक एवं निरीक्षकको।’

डेंगु संक्रमणको नियन्त्रणमा चुनौती बढिरहेको बेला सरकारले उल्टो काम गरेको छ। भेक्टर कन्ट्रोल सहायक एवं निरीक्षकको दरबन्दी नै कटौती गरिएको छ। संघीय तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनका क्रममा दरबन्दी कटौती गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल हचुवा ढंगले भेक्टर कन्ट्रोल अफिसरको दरबन्दीसमेत कटौती गरिएको बताउँछन्। ‘विगतमा जिल्ला जनस्वास्थ्य कार्यालयमा भेक्टर कन्ट्रोल सहायकको दरबन्दी थियो। भेक्टर कन्ट्रोल सहायक र निरीक्षकको दरबन्दी समेत कटौती गर्नु त्रुटिपूर्ण निर्णय हो,’ डा. प्याकुरेल भन्छन्, ‘७७ जिल्लामा डेंगु फैलिँदा आवश्यक भेक्टर कन्ट्रोल निरीक्षक भएनन्। डेंगु नियन्त्रणका लागि स्थानीय, प्रदेश, संघबीच चेन अफ कमान्ड पनि प्रभावकारी हुन सकेन।’ 

हाल मुलुकभर ३५ जना भेक्टर निरीक्षक भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विगतमा कीटजन्य महामारीलाई दृष्टिगत गरी केन्द्रमा दुई विशेषज्ञ र तत्कालीन ५ विकास क्षेत्रमा ५ जना विशेषज्ञको दरबन्दी थियो। अहिलेको नयाँ संरचनामा ती सबै दरबन्दी हटाइएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार, सरकारले भेक्टर कन्ट्रोल सहायक र निरीक्षकको दरबन्दी बढाउनुपर्ने बेला कटौती गरेर उल्टो काम भएको छ।  

लक्षण

  •  असाध्यै टाउको दुख्ने
  •  आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
  •  ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने
  •  शरीरमा बिमिरा आउने
  •  वाकवाकी लाग्ने
  •  पेट दुख्ने
  •  नाक वा गिजाबाट रगत बग्ने
  •  रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ।

बच्ने उपाय

  •  डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ।
  •  पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने।
  •  पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने।
  •  कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने।
  •  फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने।
  •  यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ।
  •  सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ।
  •  लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ।
  •  घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ।
  •  घर वरिपरि सफासुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नुपर्छ।

यस वर्ष जाडोमा पनि डेंगु देखा परेको छ। यसले स्वास्थ्य प्रणालीमा चुनौती थपेको छ।
डा. प्रकाश बुढाथोकी, प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 

डेंगु नियन्त्रणमा सरकारी प्रयास शून्य सरह रह्यो। जसका कारण डेंगु मुलुकभर फैलियो।
– डा. बाबुराम मरासिनी, पूर्वनिर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा  

डेंगु संक्रमण हुने भाइरस र डेंगु संक्रमित बिरामीको स्वास्थ्य अवस्थाका बारेमा पनि अनुसन्धान गर्नुपर्ने जरुरी छ। 
– डा. प्रदीप ज्ञवाली, कार्यकारी प्रमुख, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्,  

डेंगु संक्रमणको समायावधि बढेको छ। लामखुट्टेले तराईदेखि पहाड र हिमालको वातावरणमा पनि आफूलाई  अनुकूल हुने गरी क्षमता विकास गरेको हुन सक्छ। 
डा. शेरबहादुर पुन, संयोजक, क्लिनिकल रिसर्च युनिट, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल 


नियन्त्रणमा समन्वय आवश्यक

- डा. सुशीलनाथ प्याकुरेल 

डेंगु फैलाउने लामखुट्टे ७७ वटै जिल्लामा पुगेको छ। लामखुट्टेले गर्मीसँगै जाडो महिनामा पनि आफूलाई वातावरण अनुकूल बनाउँदै लगेको छ। जलवायु परिवर्तनका कारण पनि लामखुट्टेले आफूलाई हुर्कने वातावरण पाएको हो।

त्यसैले डेंगु नियन्त्रण चुनौतीपूर्ण भएको छ। डेंगु नियन्त्रणका लागि सबैभन्दा पहिले लामखुट्टेको बासस्थानलाई केन्द्रित गरेर अभियान सुरु गर्नुपर्छ। लामखुट्टेको बासस्थानमा लार्भा हुर्कन दिनुहुँदैन। त्यसका लागि लार्भा हुर्कने स्थानहरूको पहिचान गर्नुपर्छ। ती स्थानहरू नष्ट गर्नुपर्छ।

स्थानीय, प्रदेश र संघीय गरी तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य भएमा डेंगु नियन्त्रण गर्न सकिन्छ। चेन अफ कमान्ड प्रभावकारी हुनुपर्छ । 
(डा. प्याकुरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ हुन्।) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.