एनसेललाई यसअघि पनि कारबाही
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई यसअघि पनि कारबाही गरेको पाइएको छ। प्राधिकरण सञ्चालक समितिको २०७८ साउन ३२ गते बसेको बैठकले एनसेललाई कारबाहीको निर्णय गर्दै भदौ ४ गते पत्र पठाएको भेटिएको छ।
एनसेल आजियाटा लिमिटेडले सञ्चालन गरेको ‘गेमलफ्ट’ र हुवाई एप ग्यालरी’ नामका ‘भ्यालु एडेड सर्भिस (भ्यास)’ सेवाहरू ‘अटो रिन्यु’ बाट उपभोक्ताले आफू ठगिन पुगेको गुनासो गरेका थिए। त्यसपछि प्राधिकरणले सत्यतथ्य बुझ्न निरीक्षण तथा जाँचबुझ टोली बनाएको थियो।
उक्त टोलीले अध्ययन गर्दा उपभोक्ताको मञ्जुरी नलिई ‘अटो रिन्यू’ गरेर एनसेलले ठूलो रकम आर्जन गरेको पाएको थियो। एनसेलले २०७५ असोज १५ देखि २०७७ जेठ १८ सम्ममा ११ करोड ३७ लाख ४८ हजार ९ सय ८६ त्यसैगरी २०७५ असोज १५ देखि २०७७ जेठ १८ गतेसम्ममा अटो रिन्यूबाट करबाहेकको ९९ करोड ९२ लाख १८ हजार ८ सय ६३ रुपैयाँ आर्जन गरेको थियो। प्राधिकरणले त्यसबेला उपभोक्तालाई मर्का परेको भन्दै कारबाहीका लागि स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नपाएपछि कारबाही अघि बढाएको थियो।
‘गेमलफ्ट’ र ‘हुवाए एप ग्यालरी’ का ‘डेली रिन्यू’ ‘थ्रि डे रिन्यु’ र ‘मन्थ्ली रिन्यु’का प्याकबाट २०७५ असोज १५ देखि २०७७ जेठ १८ गतेसम्ममा आर्जन गरेको १ अर्ब ११ करोड २९ लाख ६७ हजार ८ सय ४९ रुपैयाँ रकमलाई अबैध मान्दै दूरसञ्चार ऐन २०५३ को दफा ४७ (१) अनुसार क्षतिपूर्तिबापत सम्बन्धित ग्राहकलाई मोबाइल नम्बरमा नै ३ महिनाभित्र फिर्ता गर्न र तत्काल उक्त कार्य रोक्न प्राधिकरणले निर्देशन दिएको थियो।
प्राधिकरणले एनसेलको उक्त कार्य दूरसञ्चार ऐनविपरीत भएको भन्दै ५० हजार रुपैयाँ जरिवानासमेत गरेको थियो।