धमिलो पानीमा सत्ताको दाउपेच
मुलुकमा राजनीतिक स्थिरता छैन भन्न मिल्दैन किनभने चुनावबाटै जनप्रतिनिधिहरू चुनिएका छन् र तिनै जनप्रतिनिधिले सरकार बनाएका र चलाइरहेका छन् । सरकारको गठबन्धन कहिले कुन कहिले कुन भए पनि सत्ताको साँचो हस्तान्तरणमा राजनीतिक बाटो नै समातिएको छ । सरकारी सूचकहरूले अर्थतन्त्रको बाह्य पाटो मजबुद देखाउँदा देखाउँदै देशको अर्थतन्त्र तहसनहस हुने भय जनमानसमा छ । यो सबै राजनीति सङ्लो नहुनाको उपज हो । दल र नेताहरू देशको अर्थतन्त्र र विकास समृद्धितिरभन्दा सत्ताकै खेलमा मात्रै केन्द्रित हुँदा जनतामा व्यापक निराशा छाएको हो । दल र तिनका नेताहरूप्रति जनताको भरोसा टुट्दै जानुको परिणाम नै जनतामा उकुसमुकुस पैदा भएको हो ।
जुनखाले गुम्फन जनमानसमा छ, त्यसमा खेल्न खोज्नेहरू अनेकथरी छन् । अस्थिरताको मनोविज्ञान व्यापक रूपमा फैलिएको छ । तै सत्ताले चेतेको छैन र केवल आसेपासे पोस्न र दुष्कर्म गर्नेहरूलाई चोख्याउन मात्रै ऊ लागिरहेको छ । जनताका समस्यामा आँखा चिम्लने उसको प्रवृत्तिले कानुनी राजमाथि प्रश्न छ । जसको परिणाम अस्थिरताको वातावरण बनेको छ । त्यही अस्थिरतामा खेल्ने प्रवृत्ति पनि झ्यांगिएको छ । हालैका दिनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो दुनो सोझ्याउनै निम्ति लघुवित्त संस्था पीडितहरूको संवेदनामाथि खेले । काठमाडौंमा उतारेर बिनासित्ति उनीहरूलाई दुःख दिए । सम्भवै नभएको ऋण मिनाहाको प्रलोभनमा पारेर व्यवस्था नै फेर्ने असफल र असम्भव प्रायः दाउ रचे ।
चाहे त्यो शिक्षक आन्दोलनको सन्दर्भ होस् या कर्मचारीकै आन्दोलन किन नहोस्, सरकारलाई दबाब दिने नाममा काठमाडौंमा भीड जम्मा गरियो । त्यसका नाइकेहरूले सत्तासँग चोचोमोचो मिलाए । अरू भने फुस्सा । सहमतिको नाममा भ्रम छरियो । तर खासमा शिक्षक र कर्मचारीसम्बन्धी कानुन संसद्मै थन्किएका छन् । सरकारले एक इन्च अघि सारेको छैन । कर्मचारी र शिक्षक जस्तो सचेत वर्ग त धमिलो पानीमा माछा मार्न खोज्नेहरूसँग झुक्किए भने उखु किसान होऊन् वा मिटरब्याज पीडित किन नझुक्किऊन् । उनीहरूका हकमा पनि त्यसै भयो । काठमाडौं केन्द्रित आन्दोलन गराइयो— उपलब्धि भने शून्य । यी दुवै विषयले अझै पार पाएका छैनन् । मिटरब्याज पीडितसम्बन्धी अध्ययन प्रतिवेदन सरकारले यसै साता बुझ्यो, उखु किसानको भुक्तानी पूरा भएकै छैन । यी सबै अस्थिरताका उपज हुन् र कानुनीराजमाथि उठेको प्रश्न हो । सत्तासँग उठेको नैतिक प्रश्न हो । सत्ता जनताका संवदेनशील मुद्दामा इमान्दार प्रयासमा उत्रिएको सन्देश प्रवाह हुने गरी व्यवहारमै केही नगर्ने हो भने यस्तो प्रवृत्ति अझै मौलाउने निश्चित छ । र, दुईचार जना नेताकै कारणले व्यवस्थालाई कमजोर पार्ने प्रयास हुने नै छ ।