रंग फेर्ने बजार
बजार खुलेको छ, अत्यन्तै नौलो बजार। विशालबजारभन्दा फरक। अन्य नाम चलेका ‘सुपरमार्केट’ वा ‘डिपार्टमेन्टल स्टोर’हरूभन्दा पनि ठूलो। नौलो त्यो बजारमा के पाइन्न ? सबथोक पाइन्छ। विभिन्न ‘भेराइटी’का आधुनिक खानेकुरादेखि लिएर ‘डिजाइन डिजाइन’का भ्वाङ परेका कट्टु–पाइन्ट, ज्याकेटलगायतका फेसनदार कपडाहरू।
त्यसो त, यी चिजहरू अन्यत्र फुटपाथकै पसलहरूमा पनि नपाइने होइनन्। तर, यो बजारमा एउटा विशेष खालको वस्तु पाइने अलग्गै खालको विशेषता छ। सम्भवतः विश्वबजारमा कहीँ पनि त्यो वस्तुको उपलब्धता छैन, केवल यही बजारमा मात्रै किन्न पाइन्छ। यसो भन्नेबित्तिकै सायद तपाईंलाई त्यो वस्तुको बारेमा थाहा पाउने उत्सुकता पक्कै जागेको होला। कमसेकम त्यसको नाम सुन्ने हतारो भइसक्यो होला। सुन्नुस्, त्यो वस्तुको नाम हो– छेपारो।
छेपारो !
छेपारोको एउटा खास विशेषता छ, त्यो हो त्यसको रङ।
रङ–रङका छन् छेपाराहरू। तर, रङ–रङको हुनुको पनि एउटा कारण छ। किनकि, तिनले बेलाबेलामा आफ्नो रङ बदलिरहन्छन्। कहिले रातो, रातोबाट एकैछिनमा नीलो, फेरि एकैछिनमा पहेंलो। फेरि अर्को क्षणमा निख्खर कालो, अनि फेरि तत्कालै पूरै सेतो। कुनै समय पर्खिरहनै पर्दैन तिनीहरूले आफ्नो रङ फेर्नलाई, आइपर्नासाथ आवश्यकताअनुसार फेरिहाल्छन्।
छेपाराहरूको एउटा अर्को विशेषता छ। तिनलाई कुनै कानुनले छुँदैन। तिनले जतिसुकै गल्ती गरून्, बारम्बार गल्ती दोहोर्याऊन्, अहँ त्यसको कुनै मतलब रहन्न। साना–ठूला जस्तासुकै अपराध गरे पनि छेपाराहरूलाई कुनै सजाय हुँदैन। अख्तियार भनौं कि जुनसुकै न्यायालय, तिनको घेराबाट ती मुक्त रहेका हुन्छन्।
विशेषताको सन्दर्भ आउँदा, अझ अर्को महत्वतपूर्ण विशेषता छ छेपारोको। संसारमा कहीँ–कतै नभएको संविधान छ तिनका। जुन संविधानबमोजिम त्यही संविधान मिच्ने अधिकार तिनमा निहित हुन्छ। संविधानमा चाहे जेसुकै लेखिएको होस्, एउटै हुङ्कारमा तिनलाई कुल्चने पावर छेपाराहरूसँग छ। जब त्यो संविधानमाथि कुनै किसिमका प्रश्नहरू उठाइन्छन्; तिनीहरू कुनै सफाइ दिन खोज्दैनन्, उल्टो अर्थोक नै केही बोल्न खोज्छन्। र, जब बोल्छन् संविधानमा ‘धारा’ बन्छ। खोके मात्रै पनि ‘उपधारा’ बन्छ। छेपाराहरूको संविधानमा तिनको स्वरभन्दा ठूलो अर्को कुनै आवाज छैन।
बोल्दा छेपाराहरू हाँस्छन् पनि तर त्यो हाँसो सामान्य हुँदैन। साँच्चै भन्ने हो भने छेपाराहरू कहिल्यै हाँस्दैनन्, कत्ति पनि हाँस्दैनन्। तर, जब हाँस्छन् मनपरी हाँस्छन् अर्थात् त्यो हाँसो केवल हाँसो हुँदैन, अट्टहास हुन्छ जुन अत्यन्त मूल्यवान् हुन्छ। त्यसरी अट्टहास गर्दा संविधानमा ‘दफा’ बन्छ। मुस्काए मात्रै पनि ‘उपदफा’ बन्छ। तिनको संविधानमा आफ्नो खुसीभन्दा ठूलो अरूको कुनै सुख छैन।
छेपाराहरूका लागि उनीहरूको बडो अनुकूलको छ त्यो संविधान, बडो चलायमान छ। जसमार्फत भ्रष्टाचार गर्ने क्रियाकलापका लागि विभिन्न काइदाहरू सिकाउन, भन्सारबाट सुन छिराउने सेटिङ गर्न, आफूमाथिको मुद्दामामिलाको कागजपत्र गायब गराउन खप्पिस छन् छेपाराहरू।
सबैभन्दा मुख्य कुरो, छेपाराहरू आफ्नो संविधान मिच्छन् र अनेक हथकण्डा अपनाएर चुनाव उठ्ने टिकट प्राप्त गर्छन्। टिकट प्राप्त गरिसकेपछि तरह–तरहका तिकडम मच्चाउँछन्। त्यही खुसीयालीमा भोजभत्तेर गर्छन्, गुण्डागर्दी गर्छन्, मनग्ये पैसाको चलखेल गर्छन् र चुनाव जित्छन्। चुनाव जित्छन् मात्रै होइन, उच्च स्थानमा पुग्नका लागि आफूजस्तै चुनाव जित्नेहरूलाई–खरिद बिक्री गरेर आफू पहुँचमा पुग्छन्।
त्यसपछि सुरु हुन्छ समाजको–देशको विकास गर्ने थुप्रै किसिमका आयोजनाहरू बनाउने कार्यक्रम। जुन कार्ययोजनाअन्तर्गत बिजुली उत्पादनको क्षमता बढाउने, कृषिजन्य उपज निर्यात गर्ने, बससेवा–रेलसेवा–जलसेवा–हवाईसेवाको विकासलाई तीव्रता दिने कार्य प्रस्तुत गर्छन्। त्यतिमात्रै होइन, शिक्षा–स्वास्थ्य–खानेपानीको उचित तर्जुमा गर्ने, समग्रमा गरिबलाई धनी बनाउने अर्थात् गरिबी नै उन्मूलन गर्नेसम्मको आयोजना प्रस्तुत गर्छन्। तर, भित्रभित्रै अर्कै रचना गरिरहेको भने कसैलाई पत्तो हुन्न।
मित्रराष्ट्रको नाममा बाहिरी देशहरूसँग आफ्नो मातृभूमिमाथि घात हुने किसिमका सन्धि–सम्झौता गर्छन्।
अन्य देशका नागरिकलाई आफ्नो देशको नागरिकता बेच्छन् र त्यही आफ्नो नागरिकलाई भने शरणार्थी बनाएर महँगो भाउमा बेच्छन्।
गज्जबको छ छेपारोको चरित्र ! स–शरीर तिनलाई हेर्नुस् त ! कति निर्लज्ज छन् ती ! ! ऊ ... बडो भलाद्मी पाराले दौरासुरुवाल वा कोट–पाइन्ट र शिरमा भादगाउँले टोपी पहिरेका त छन् तर नियालेर हेर्नुस् त ! सबै निर्वस्त्र छन् छेपाराहरू, बजारमा।