मानव सेवाआश्रमले राज्यलाई झक्झक्याएको छ : प्रधानमन्त्री दाहाल
हेटौंडा : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मानव सेवाआश्रमले राज्यलाई झक्झक्याएको बताएका छन्। मानव सेवा आश्रमको हेटौंडामा नवनिर्मित भवनको शनिबार बिहान उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्।
उनले मानव सेवा आश्रमले राज्यले गर्नुपर्ने र संविधानले निर्दिष्ट गरेको कामहरु गरिरहेको भन्दै आश्रमको प्रशंसा गरे। ‘मानव सेवाआश्रमले ठूलो काम गरेको छ र राज्यलाई झक्झक्याएको छ’, उनले भने।
साथै उनले नेपाली जनतालाई संविधानले पहिलो पटक सार्वभौम बनाएको बताए।
‘यो युगान्तकारी परिवर्तन हो।’ नेपालको संविधान २०७२ ले आम नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितताबारे पनि बोलेको छ।' , उनले भने, 'संविधानले गरेको यो सुनिश्चिततालाई व्यवहारमा ल्याउन सरकार लागि परेको छ।’
नेपाललाई २०८२ सम्म सडक मानव मुक्त बनाउने सरकारले घोषणा गरेको र उक्त लक्ष्य मानव सेवा आश्रमको सहयोग बिना सम्भव नरहेको प्रधानमन्त्री दाहालले बताए। उनले आश्रमको लागि सातै प्रदेशमा एक-एक वटा सवारी साधन उपलब्ध गराउन सरकारले प्रक्रिया अघि बढाएको बताए।
आश्रमले हालसम्म एक हजार पाँचसय ८१ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गरेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए। त्यस्तै ८ सय ३६ पारिवारिक पुर्नमिलन, एकसय ८४ शरीर शान्त, ५१ सामुदायिक पुर्नमिलन र ३४ जनाको पुनःउद्धार गरेको आश्रमले जनाएको छ।