मध्यपहाडी यात्राको सौगात
एमालेले प्रवाह गरेको विकास र समृद्धिसँगै मिसन २०८४ को राजनीतिक सन्देश रणनीतिक दृष्टिले महत्वपूर्ण छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको मध्यपहाडी यात्रा पुस १ गते पाँचथरको चिवा भन्ज्याङमा पुगेर समापन भएको छ।
यात्राका क्रममा एमालेको शीर्ष नेतृत्वले मध्यपहाडी राजमार्गमा पर्ने २४ र त्यससँगै जोडिएका गरी ३० जिल्लाका जनतासँग प्रत्यक्ष संवाद गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षको अवसरमा संस्थापक पुष्पलालको नाममा नामकरण भएको यस राजमार्गमा गरिएको यो यात्राको महत्त्व विशेष छ।
राजनीतिक दलहरूले सञ्चालन गर्ने प्रायः अभियानहरू राजनीतिदेखि राजनीतिसम्म नै हुने गर्छन्। त्यस पृष्ठभूमिमा यो यात्रा पनि राजनीतिक तीर्थाटनमै सीमित हुने धेरैको अनुमान थियो। तर, ‘समृद्धिका लागि संकल्प यात्रा’को नाम दिइएको यो यात्रा समापनसम्म पुग्दा वास्तवमै समृद्धिको निम्ति कोशेढुंगा सावित हुन पुगेको छ। ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नारा दिइएको यस यात्राको क्रममा करिब आठ लाख नागरिकसँग प्रत्यक्ष र थप दस लाखसँग अप्रत्यक्ष संवाद गरेको एमालेको दाबी छ। पार्टीका सबै पदाधिकारी र स्थायी समितिका सदस्यसहित सयौंको संख्यामा नेतृत्वको लस्कर रहे पनि यात्राको केन्द्रबिन्दु भने अध्यक्ष ओली नै रहे। यात्रा अवधिभर जनतासँग सबैभन्दा बढी संवाद उनैले गरे। औपचारिक सभामा उनी लगभग एकल वक्ता रहे। अनौपचारिक कार्यक्रममा पनि उनी नै छाए। व्यक्ति—व्यक्तिसँग संवाद गर्न अग्रसर भएका उनले कसैलाई पनि भेट्न, बोल्न वा आफ्ना कुरा सुनाउन नपाएको गुनासो रहन नदिन भरमग्दुर प्रयास गरे। धेरै हदसम्म उनी यसमा सफल पनि भए।
उमेरले ७० वर्ष नाघेका र दुई—दुईपटक मिर्गाैला प्रत्यारोपणसहित कडा रोगको गम्भीर उपचार गरेका पूर्वप्रधानमन्त्री ओलीका लागि यो यात्रा पूरा गर्नु मात्र पनि ठूलो चुनौती रहेको चिकित्सकको भनाइ थियो। चिसो मौसम र कतिपय ठाउँमा सामान्य रेखांकन मात्र रहेको उबाडखावड बाटोमा प्रत्येक दिन करिब सय किलोमिटर यात्रा यसै पनि कष्टप्रद हुन्छ। त्यसमाथि हरेक दिन कम्तीमा एउटा ठूलो सभा र अन्य स–साना सभा तथा भेटघाट, स्वागत ग्रहण, निरन्तरको अन्तरक्रिया जोसुकैका लागि थेग्न सक्ने भारभन्दा बढी हो। फेरि आन्तरिक बैठक, परामर्श, अध्ययनसमेत गर्दै केवल तीनचार घण्टाको निद्राको भरमा हरेक दिन उत्तिकै ऊर्जाका साथ प्रस्तुत हुन सक्नु सामान्य होइन। वास्तवमै अध्यक्ष ओलीको यस किसिमको व्यक्तिगत सक्रियता समकालीन नेतामात्र होइन, युवा पंक्तिका लागि पनि चुनौतीपूर्ण र प्रेरणादायी छ।
सन् २०११ भित्र ट्र्याक खोलिसक्ने योजना रहेको यो राजमार्ग कतिपय ठाउँमा नयाँ र कतिपय ठाउँमा विद्यमान सडकसँग जोडेर सम्पन्न गर्ने गरी २०६५ सालमै मन्त्रिपरिषद्बाट रेखांकन स्वीकृत भएको राष्ट्रिय गौरवको आयोजना हो। पूर्वदेखि पश्चिमसम्म पहाडैपहाड छिचोल्ने १ हजार ७ सय ६५ किलोमिटर दूरीको यो मार्गमा १० वटा आधुनिक सहर र विभिन्न केन्द्रको परिकल्पना छ। एक दशकभित्र निर्माण भइसक्नुपर्ने भए पनि यो राजमार्ग कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने कुराको अनुमान गर्न सकिने स्थिति अझै बन्न सकेको छैन। बर्सेनि बजेट वक्तव्यमा यो राजमार्गको नाम उच्चारण हुने गर्छ। तर, निर्माण कार्यमा ठोस प्रगति हुन सकेको छैन।
नेपालको पहाडी भेग र स्थानीय बासिन्दाको जीवनमा कायापलट ल्याउने सामथ्र्य राख्ने यो राजमार्ग विस्तारै छायाँमा पर्दै गएको थियो। तर, एमालेको यो क्याराभान र त्यसक्रममा राजनीतिक अभियानसँगै इन्जिनियरसहितको प्राविधिक टोली र विषय विज्ञको सूक्ष्म अध्ययनले सम्भावनाको ढोका फेरि खोलेको छ।
लगभग शून्यताको अवस्थामा रहेको उजाड मध्यपहाडी भेगका जनतासँग एमालेलाई जोड्न र आशाको नयाँ सञ्चार गराउन भने यो अभियान सफल बनेकोमा सन्देह छैन।
पुष्पलाल लोकमार्ग नाम दिइएको यस मध्यपहाडी राजमार्गले पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको बैतडी जिल्लालाई समेटेको छ। महेन्द्र राजमार्ग र हुलाकी मार्ग पछिको तेस्रो राजमार्गको रूपमा रहेको यो लोकमार्गले मध्यपहाडका ३९ मध्ये २४ जिल्लालाई प्रत्यक्ष जोडेको छ। यसले पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, पूर्वीरुकुम, पश्चिमरुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डँडेलधुरा र बैतडीलाई जोडेको छ। जसमध्ये १९ जिल्ला सदरमुकामलाई छिचोलेर अघि बढेको छ। यसले २ सय २५ बस्तीलाई जोड्छ भने ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्ष लाभान्वित गर्छ। यसलाई मध्यपहाडको समृद्धिको मेरुदण्ड मानिएको छ।
बढ्दो वैदेशिक रोजगारी, तीव्र बसाइँसराइ, कृषि पेसाबाट पलायनको प्रवृत्तिका साथै जलवायु पविर्तनका असरका कारण यसै पनि पहाडी बस्तीहरू उजाड बन्दैछन्। त्यसमाथि सरकारको दूरदृष्टि र विकासप्रतिको निष्ठाको अभावका कारण नेपाली जनतामा चरम निराशा छाइरहेछ। यस्तो अवस्थामा समृद्धिको नयाँ संकल्पले निराश जनतामा केही हदसम्म आशाको नयाँ सञ्चार गराएकोमा दुईमत छैन।
नेपालका कम्युनिस्ट पार्टीहरूको स्थापना, विकास र विस्तारका दृष्टिले पहिलो आधारभूमि पहाडी क्षेत्र नै हो। नेकपा एमालेका सन्दर्भमा त झनै बढी हो। यद्यपि प्रजातन्त्रको स्थापना र लोकतान्त्रिक गणतन्त्रको विकाससँगै जनतासँग जोडिने कार्य चुनावी रणनीतिमा सीमित हुन थाल्यो। नेताहरूको प्राथमिकता पनि बाक्लो जनसंख्या, बढी निर्वाचन क्षेत्र र तुलनात्मक रूपमा सुविधा सम्पन्न स्थानतिर सर्यो। माओवादी जनयुद्धको समयमा उसले गाउँबाट सहर घेर्ने घोषित रणनीति अघि सार्यो। त्यसबेला गाउँमा असुरक्षा बढेको कारण गैरमाओवादीहरूले गाउँ खाली गरे भने शान्ति प्रक्रियामा आएपछि माओवादीले पनि गाउँसँगको सम्बन्ध टुटाउँदै लग्यो। यसले राजनीतिक गतिविधि, सांस्कृतिक उत्सव र विकासको दृष्टिले समेत पहाडी भेगमा शून्यता छाउने अवस्था बन्यो। मुलुकको समग्र विकास र समृद्धिका दृष्टिले यो दुर्भाग्यपूर्ण स्थिति हो।
यस्तो पृष्ठभूमिमा छिचोलेको झन्डै दुई हजार किलोमिटर कच्ची बाटोको यो यात्रामार्फत एमालेले प्रवाह गरेको विकास र समृद्धिसँगै मिसन २०८४ को राजनीतिक सन्देश रणनीतिक दृष्टिले महत्त्वपूर्ण छ। त्यसले कस्तो प्रतिफल दिने हो ? त्यो भविष्यमा देखिने नै छ। लगभग शून्यताको अवस्थामा रहेको उजाड मध्यपहाडी भेगका जनतासँग एमालेलाई जोड्न र आशाको नयाँ सञ्चार गराउन भने यो अभियान सफल बनेकोमा सन्देह छैन।