कहिले आउँछ मेलम्चीको पानी ?

कहिले आउँछ मेलम्चीको पानी ?

काठमाडौं : काठमाडौं उपत्यकावासी मेलम्चीको खानेपानी नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। मेलम्ची खानेपानी आयोजनाले अस्थायी संरचनाबाट वितरण गर्दै आएकोमा गत असारबाट पानी नपठाएको उनीहरूको गुनासो हो। पानी नपाएको भन्दै काठमाडौं उपत्यका संघर्ष समितिले शन्तिपूर्ण दबाबमूलक र्‍याली निकालेको छ। समितिले पुस २ गतेबाट दबाबमूलक आन्दोलनका कार्यक्रम सुरु गरेको बताएको छ। उपत्यकामा करिब ३२ लाख मेलम्ची खानेपानीका उपभोक्ता रहेको बताइएको छ।

‘मेलम्ची खानेपानीको चलखेल बन्द गर’ भन्ने नारासहित समितिले पानी शीघ्र काठमाडौं उपत्यकामा ल्याउने प्रयोजनको लागि दबाबमूलक र्‍याली गरेको हो। समितिले पुस २ गते कोटेश्वर चोकदेखि तीनकुने हुदेै मीनभवनसम्म दबाबमूलक र्‍याली गरेको समितिका संयोजक गोविन्दराज पन्तले बताए। पुस १ गते पनि समितिले माइकिङ र्‍याली गरेको थियो। गत असारबाट मेलम्चीको पानी धारामा नआएको पन्तले बताए।

हिउँदयाममा उपत्यकामा खानेपानीको अभाव नै हुने गरेको छ। वर्षायाममा बन्द हुने मेलम्ची वर्षा सक्किएलगत्तै वितरण हुँदै आएको थियो। तर, पुस लागिसक्दा पानी नपाएपछि उपत्यकावासी आन्दोलित भएको संयोजक पन्तले बताए। यो सुरुवाती आन्दोलन भएको भन्दै उनले यही शुक्रबारसम्म सरकारले ध्यान नदिए थप कार्यक्रमसहित सडक आन्दोलनमा जाने बताए। 

राष्ट्रिय गौरवको आयोजनामा राष्ट्रको बेवास्ता, मनसुन सकिएको धेरै समय बित्दा पनि पानी उपत्यकामा ल्याउन तत्परता नदेखाउनु, मेलम्ची विकास समिति, खानेपानी मन्त्रालय र आयोजनाको मुहानमा धर्ना दिँदासमेत बेवास्ता गरिनु, आयोजनाको मुहानमा प्राविधिकभन्दा पनि व्यवस्थापकीय समस्या देखिएकोमा हालसम्म त्यसको समाधानको पहल नगरिनु, स्थानीयवासीको अवरोध नहुँदा पनि त्यसैलाई बहाना बनाउनुलगायतका विविध कारणहरू देखाउँदै संघर्ष समिति आन्दोलनमा गएको हो।

मेलम्ची बोर्ड के भन्छ ? 

प्राविधिक कारणले नै मेलम्चीको पानी उपलब्ध गराउन नसकिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। २०८० को असोजमा मेलम्चीमा आएको बाढीले पहुँच मार्ग बगाएको र मुख्य बाँधदेखि अस्थायी संरचनासम्मको सुरुङमा लेदो पसेको छ। मुख्यबाँधदेखि अस्थायी संरचनासम्मको २ सय १० मिटरको डाइभर्सन सुरुङमा लेदो पसेको छ। 

अम्बाथानमा रहेको मुख्य बाँधसम्मको पहुँच मार्ग निर्माण भए पनि मुहानमा थुप्रिएको लेदो हटाउने काम भएको छैन। मुख्य बाँधदेखि अम्बाथान अडिटसम्म नै सफाइ गर्नु पर्नेछ। 

गत असोजमा मेलम्चीमा आएको बाढीले पहुँच मार्ग बगाएको छ। मुख्य बाँधदेखि अस्थायी संरचनासम्मको सुरुङमा लेदो पसेको छ। मेलम्ची बोर्ड भन्छ, ‘त्यसैले पानी आएको छैन।’

‘२०७८ को असारमा आएजस्तै नै बाढी आयो २०८० को असोजमा। बाढीका कारण पहिलाको जस्तै नै अवस्थामा आयोजना पुगेको छ। असोजपछि पहुँचमार्ग भने हेलम्बु गाउँपालिकाको सहयोगमा निर्माण गरिएको छ,’ भन्दै प्रवक्ता पन्तले अस्थायी संरचना पसेको बाढीको लेदो हटाउने सम्बन्धमा काम भइरहेको जानकारी दिए। 

मेलम्ची निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई नै काम गर्न भनिएको छ। तर, ठेकेदार कम्पनीले पनि नमानेको बताइन्छ। 
मन्त्रिपरिषद्ले नै ठेकेदार कम्पनीलाई काम गराउने गरी भेरिएसन (थप लागत) लाई पारित गर्नुपर्छ। तर, यस पटक भेरिएसन पारित भएको छैन। २०७८ को असारमा आएको बाढीपछि काम गर्नका लागि मन्त्रिपरिषद्बाट नै भेरिएसन पारित गरी सिनो हाइड्रोले काम गरेको थियो। यसपटक पनि सिनो हाइड्रो मनाउने काम भइरहेको पन्त बताउँछन्। सिनो हाइड्रो यही डिसेम्बर ३१ मा मेलम्चीसँगको सम्झौता सकिँदै छ। 

यो बीचमा कम्पनीबाट काम गराउन सकिन्छ कि भनेर सिनो हाइड्रोलाई अनुरोध गरिएको हो। अब नयाँ कम्पनीबाट काम गराउनका लागि बोलपत्रको मूल्यांकनको काम अन्तिम चरणमा पुगेको समितिका प्रवक्ताले जानकारी दिए। यस पटकको बाढीपछिको मुहान सफाइ तथा पहुँचमार्ग निर्माणका लागि करिब १२ करोड लाग्ने अनुमान गरिएको छ। 

रकम अभावभन्दा पनि प्राविधिक कारणले पानी पठाउन नसकिएको समिति बताउँछ। काठमाडौंवासीलाई पानी कहिले पठाउन सकिन्छ भन्ने सम्बन्धमा समितिसँग पनि उत्तर छैन। सिनो हाइड्रोले नै काम गरे छिट्टै पानी आउने तर अर्को ठेक्का लगाएर गर्ने हो भने अस्थायी संरचनाबाट पनि मेलम्चीको पानी अनिश्चित जस्तै देखिन्छ। 

आयोजनाबाट पानी पठाए उपत्यकाको घरघरमा पानी पुर्‍याउन पाइपमा कुनै खराबी नभएको आयोजना कार्यान्वयन निर्देशनलायका सूचना अधिकारी इन्जिनियर चन्द्रकुमार श्रेष्ठले बताए।

मुख्यबाँध नै सार्ने एडीबीको सुझावमा सरकार आफैंले अध्ययन गर्ने

बाढीका कारण अनिश्चित बन्दै गएको मेलम्चीको मुख्य बाँध नै सार्न मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी)ले सुझाव दिएको छ। तर, यसलाई नै अन्तिम नमानी सरकारले आफैंले पनि अध्ययन गर्ने तयारी गरेको छ। यसअघि पनि दातृ निकायको अध्ययनको भर परेर मेलम्चीलाई गौरवको आयोजनाको रूपमा अघि बढाइएको थियो। अब पनि दातृ निकायको मात्र भर पर्नु भन्दै आपंmैले पनि अध्ययन गर्ने सरकारले तयारी गरेको समितिका प्रवक्ता पन्तले बताए। 

दुई दशक लामो समयावधि र ६० अर्बभन्दा बढी खर्च भएको आयोजना हो मेलम्ची। मेलम्चीको मुहानदेखि सुन्दरीजल सुरुङमार्गसम्म करिब ३० अर्ब र सुन्दरीजलदेखि उपत्यकाको घरघरसम्म पुर्‍याउन ३० अर्ब गरी करिब ६० अर्बको लागत मेलम्चीमा गरिएको छ। दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने संरचना हो यो। 

यस आयोजनाले पहिलो चरणमा मेलम्ची नदी डाइभर्सन गरी दैनिक १७ करोड लि. पानी पथान्तरण गर्ने र दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्ग्री र लार्के नदीबाट दैनिक थप १७/१७ करोड लिटर थप ३४ करोड लिटरसमेत गरी जम्मा ५१ करोड लिटर पानी थप दुई वटा सुरुङ मार्ग निर्माण गरी प्रथम चरणको सोही २६ किमि लामो सुरुङ मार्गबाट काठमाडौं उपत्यकामा वितरण गर्ने र थप ३४ करोड लिटरको पानी प्रशोधन केन्द्र निर्माण गरिने लक्ष्य रहेको छ।

लामो समयपछि २०७७ चैत्र २० गतेदेखि दुई महिना अस्थायी रूपमा काठमाडौंमा पानी पुर्‍याएको आयोजनामा २०७८ को असार १ गते बाढी पस्यो र बन्द हुन पुग्यो। त्यसयता मेलम्ची आयोजनाको भविष्य के हुने भन्नेमा अनिश्चित छ। बाढीले आयोजनामा २ अर्बको क्षतिसँगै आयोजनाको भविष्य नै अनिश्चित बनाइदियो। उक्त बाढी आएको ९ महिनापछि अस्थायी संरचनाबाट उपत्यकामा पानी पठाइयो। बाढीको जोखिमको मूल्यांकन गर्दै २०७९ जेठबाट मंसिरसम्म आयोजना बन्द गराइयो। वर्षा सक्किएसँगै मंसिरबाट नै उपत्यकामा फेरि पानी छोडियो। करिब ७ महिनापछि २०८० असारबाट बन्द गरिएको मेलम्चीको पानी अहिलेसम्म पठाइएको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.