मासिँदै सल्लाका रुख

मासिँदै सल्लाका रुख
सुन्नुहोस्

गाईघाट : जिल्लाको रौतामाई गाउँपालिका-४ को एउटा बस्तीको नाम हो ‘सल्ले’। जताततै सल्लाको रुखले घेरिएपछि ठाउँको नाम नै सल्ले बजार पुग्न गएको बुढापाकाहरू बताउँछन्। तर, आज त्यो गाउँ उजाड बन्दै गएको छ। ७ दशकअघि नामकरण भएको उक्त बस्ती जुन बोटबिरुवाबाट परिचित भयो त्यो क्रमशः विस्थापित हुँदै गएको छ। ७५ वर्षीय वृद्धा दलबहादुर राई भन्छन्, ‘सल्लाको रुख हैन अब मान्छेको बस्तीले ढाकिसकेको छ।'

बस्ती बढेसँगै सल्लाका रुख फडाँनी भएको स्थानीय बताउँछन्। २०६३/६४ सालमा सडक सञ्जाल जोडिएसँगै खोटाङ जिल्लाको प्रमुख नाका बन्यो र दैनिक करोडको हाराहारीमा व्यापार व्यवसाय हुन थाल्यो। व्यापारिक नाका बनेसँगै बजार विस्तारका क्रममा अझ धेरै सल्लाका रुखहरू कटान भएको स्थानीय बताउँछन्। सल्ले मात्र हैन बोटबिरुवाबाट नामकरण भएका सालथुम्का, सल्लाघारी, सल्लेरी, करमगाछी, सिमलटार, भोर्ले जस्ता ठाउँ हिजोआज उजाड बन्दै गएको स्थानीय बताउँछन्। 

बजार व्यवस्थापनसँगै घनाजंगल मासिँदै गएको र नमुनाका लागि एक/दुई गाछी मात्र राखिएको छ। घनाजंगल तस्करको धन बन्दै गएको स्थानीय बताउँछन्। व्यापारीले रुखलाई नै मार्ने गरी खोटो संकलन, फर्निचरका सामग्री तथा घर निर्माण गर्ने गरेका छन्। बत्ती नहुँदा उज्यालोका लागि प्रयोग हुने सल्लो खाना पकाउनका लागि दाउराका रूपमा पनि प्रयोग गरिन्छ। 

एकातिर घरायसी प्रयोजन त अर्कोतिर जथाभावी सल्लाको बोटमा चोट पारेर अवैध रूपमा खोटो झिक्नाले सल्लाका बोटहरू धमाधम मर्न थालेको स्थानीय कविर मगरले बताए। जसकारण वन क्षेत्र नै जोखिममा परेको स्थानीयको भनाइ छ। खोटो तस्करले सल्लोका साना रुखसमेत छाडेका छैनन्। 

सामुदायिक वनका पदाधिकारी र ठेकेदारको मिलेमतोमा  अवैध रूपमा मनपरी खोटो संकलन हुने गरेका कारण सल्ला मासिँदै गएको स्थानीय बताउँछन्। अवैध रूपमा हुने यसको चोरी निकासीलाई समेत रोक्न नसकिएको ताप्ली गाउँपालिका–१ ओख्लेका प्रेम हमाल बताउँछन्। ‘बारम्बार एउटै रुखबाट खोटो संकलन गर्ने कार्यले रुख नै मर्न थालेका छन्,’ उनले भने, ‘सामुदायिक वनका पदाधिकारी र ठेकेदारको मिलोमतोमा खोटो संकलन गर्दा अहिले सल्ला रुख सुक्न थालेको छन्।’ 

यसरी जिल्लाभित्र रहेका दर्जन बढी सल्ला पाइने वन क्षेत्रबाट अवैध खोटो संकलन कार्य नरोकिने हो भने सल्लो इतिहासमा मात्र सीमित हुने स्थानीयको भनाइ छ। मध्यपहाडी क्षेत्रमा पर्ने उदयपुरको भूभागमा विशेष गरेर कोसी गढतिरमा बढी मात्रामा सल्लाको वन क्षेत्र छ। त्यस वन क्षेत्रमा गठन भएका सामुदायिक वन समूहका पादधिकारीले जिल्ला वनबाट लिएको अनुमतिभन्दा बढी खोटो संकलन गरेर मुनाफा कमाउने गरेका छन्।

नेपाल सरकारको खोटो संकलन कार्यविधि २०६४ विपरीत खोटो संकलन गर्दा धमाधम रुख सुकेर मर्न थालेका हुन्। प्राविधिक हिसाबले रुखको एक भागबाट मात्र खोटो निकाल्नुपर्नेमा बोटको चारै दिशा छेकेर खोटो निकालिएका छन्। 

खोटो संकलक कार्यविधिले खोटो निकाल्ने रुखको जमिनबाट १ मिटर ३० सेन्टिमिटर माथि व्यास भएका रुखबाट मात्र खोटो निकाल्नु पर्ने हुन्छ। तर, व्यवसायीहरूले मापदण्डको कुनै ख्याल नगरी जसरी भए पनि बढि मात्रामा संकलन गर्ने गरी निकाल्ने गरेको स्थानीयको आरोप छ।

कार्यविधिमा खोटो निकाल्ने सल्लाको ३६ इन्चभन्दा कम खोप्नुपर्ने हुन्छ, तर, बढी खोटो निकाल्नका लागि ठूलो प्वाल बनाउँदा सल्लाकै रुख मर्ने गरेको छ। खोटो संकलन योग्य रुखमध्ये प्रतिहेक्टर पाँचवटा स्वस्थ रुखलाई छाड्नुपर्ने हुन्छ। तर, वनमा भेटेका खोटो आउने सबै रुखबाट खोटो निकालिन्छ।

खोटो निकालेपछि रुखको चोटमा गोबर र माटोले प्लास्टर गर्नु पर्ने भए पनि निकाल्नेहरूले त्यसै छाडने गरेका कारण सल्लाको रुख भएको वन क्षेत्र मासिँदै गएको स्थानीय भीमा मगरले बताइन्। रुखलाई जताततै चोट पुर्‍याउने मात्र हैन, एसिडल नामक केमिकलसमेत प्रयोग गरेर भए भरको खोटो तान्ने गरेका छन्। तस्करले धेरै खोटो निकालेर फाइदा लुट्न खोज्दा सल्लेरी वन नै रित्तिने अवस्था भएको स्थानीय बताउँछन्।

स्थानीय सामुदायिक वन समूहको मिलेमतोमा भारतबाट आएका तस्करहरूले खोटो संकलनका नाममा जथाभावी सल्लोका रुखहरूमा क्षति पुर्‍याएका छन्। गएको केही वर्षदेखि थालिएको खोटो संकलनपछि धमाधम रुख मर्न थालेको स्थानीय बताउँछन्। 

स्थानीय सामुदायिक वनहरूले आर्थिक आम्दानीको लोभले खोटो संकलन गर्न दिए पनि जथाभावी गर्नले जंगलमै मासिने चिन्ता बढेको स्थानीय केशर राईले बताए। सम्बन्धित निकायले समयमै यस कार्यलाई रोकेर वन जोगाउनुपर्ने उनले बताए। जिल्लामा २ हजार २ सय हेक्टर क्षेत्रफलमा सल्लाको वन रहेको डिभिजन वन कार्यालयका तथ्यांकमा छ। 

प्रत्येक आर्थिक वर्ष यस क्षेत्रबाट २ लाख किलो खोटो निकाल्न सकिने जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सूचना अधिकृत जागेश्वर साहले बताए। अनुमति दिएको भन्दा बाहेक जथाभाबी खोटो संकलन गरेको सूचना पाएपछि अघिल्लो वर्ष केही ठाउँमा अनुगमन समेत गरिएको उनको भनाइ छ। 

मापदण्डअनुसार खोटो संकलन गर्दा एउटा रुखबाट ३ देखि ४ केजीसम्म निकाल्न सकिने उनले बताए। खोटो संकलनका लागि राष्ट्रिय वन क्षेत्रबाट मात्रै टेण्डर गरिने उनको भनाइ छ। सौन्दर्यको सामान, विभिन्न औषधि र अत्तरहरू निर्माण गर्नका लागि सल्लाको रुख खोटो संकलन गर्ने गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.