रिडीकोट बाङ्ग्या घर रुमाले पत्थर

परम्परा

रिडीकोट बाङ्ग्या घर रुमाले पत्थर

पत्थरले छाएको छानो, रातो र सेतो कमेरो माटोले पोतेको। आकर्षक शैलीबाट बनाएका काठका भयालढोका। हेर्दा पुराना दरबारजस्ता देखिने बाङ्ग्या घर रिडीकोटका पहिचान।

रिडीकोट बाङ्ग्या घर रुमाले पत्थर।

म हुँला सुल्पीको तमाउ, साई भयै अत्तर।।

देउडा गीतमा भनिए झैं रिडीकोटका बाङ्ग्या घर निकै चर्चित छन्। पत्थरले छाएको छानो, रातो र सेतो कमेरो माटोले पोतेको। आकर्षक शैलीबाट बनाएका काठका भयालढोका। हेर्दा पुराना दरबारजस्ता देखिने बाङ्ग्या घर रिडीकोटका पहिचान हुन्।

साँफेबगर बजारबाट करिब ९ किलोमिटर उकालो चढेपछि रिडीकोट गाउँ पुगिन्छ। अंग्रेजीको ‘सी’ आकारका बाङ्ग्या घर कुनै बेला सम्पन्नता र सानका प्रतीक थिए। आधुनिक विकास र बाहिरिया सिकोका कारण बाङ्ग्या घर जीर्ण बन्दै गएका छन्। समयमा संरक्षण नहुने हो भने लोप हुन सक्ने भन्दै संस्कृतिविद्हरू चिन्ता व्यक्त गर्छन्। 

साँफेबगर–मंगलसेन सडक खण्ड रिडीकोट गाउँको बीच भागबाट गएको छ। सडकको दायाँतिर ठूलाठूला घर देखिन्छन्। ती घर परम्परागत कलात्मक शैलीमा निर्माण गरिएका छन्। ती सबै घरलाई बाङ्ग्या घर भने भनिँदैन। सेतो र रातो माटोले पोतेको र सरसफाइ गरिएको करिब १ सय ७५ वर्ष पुरानो बाङ्ग्या घर छ। अहिले रिडीकोटको बाङ्ग्या घरमा शेरु स्वाँरका कान्छा छोरा बालुनरसिंह स्वाँरका छोरा उपेन्द्र स्वाँर बस्दै आएका छन्।

स्वाँरले घरको रेखदेख र संरक्षण गर्दे आएका छन्। बाङ्ग्या घर १ सय ७५ वर्षपहिले एल आकारमा निर्माण गरिएको थियो। ४०/५० वर्ष पहिले घरको एक भागमा आगलागी हुँदा भत्काएपछि एक पाटो मात्र रहेको उपेन्द्र स्वाँरले बताए। उनले भने, ‘पहिले खरले छाएको छानो थियो, घरमा बिहेको कार्यक्रम थियो। बिहेको बेला पट्का पट्काउँदा आगलागी भयो। आगलागीमा घरमा रहेका पुराना ढाल, तरबार, हातहतियारलगायत पुख्र्याेली सामानहरू जलेर नष्ट भयो।  आगलागी भएपछि एलको बाङ्गेको सानो भागलाई भत्कायौं। त्यसपछि त्यो भाग बनाउन जान्ने कोही भएनन् त्यसैले अहिलेसम्म बनाएका छैनौं।’ 

१९९०, २०७२ सालमा र गत वर्ष कात्तिक महिना आएको भूकम्पले समेत केही असर नगरेको स्वाँरले बताए। उपेन्द्र स्वाँरको परिवारले बाङ््ग्या घर कुरेर बसेका छन्। बाङ्ग्या घर भने हुनेखानेहरूले बनाउने गर्थे। राणाशासनका बेला आफ्ना पुर्खाहरूको सम्बन्ध राणाहरूसँग राम्रो भएकाले सरकारी जागिर लप्टन, क्याप्टेनजस्ता पद दिने गरेको स्वाँरले बताए। ‘मेरो बुवा बालुनरसिंह स्वाँर लप्टन हुनुहुन्थ्यो, उनले भने त्यतिबेला राणाहरूले आफूलाई मनपर्ने व्यक्तिलाई सरकारी जागिर दिन्थे। अरू सामान्य मानिसहरू घरभन्दा फरक देखिने घर लगाउनु पथ्र्याे। सोखको कारणले पनि बाङ्ग्या घर बनेको हो।’

त्यत्तिबेला बाङ्ग्या घरबाट शासन चल्थ्यो। बाङ्ग्या घर छेउछाउका अन्य घर पनि स्वाँरकै हुन्। तर ती घरलाई बाङ्ग्या घर भने भनिदैन। छेउछाउका घरहरू कोही बस्दैनन्। वर्षौंपहिले बसाइँसराइ गरेर गइसकेका कारण घर खण्डहर बनेका छन्। केही घरका छाना पूरै भत्किसकेका छन् भने केही भत्कने क्रममा छन्। रिडीकोटका अन्य बाँझा रहेका घर पनि हेर्दे रमाइला र आकर्षण देखिन्छन्। ती घरहरू पनि हराउँदै गएका छन्। बनेका घरसमेत खाली छन्। बसाइँसराइका कारण घरहरू रित्तिँदै छन्। हेर्दै रहर लाग्ने ती घरहरू खण्डहरमा परिणत भएका छन्। दरबारजस्तै देखिने घरहरू झारपातहरू उम्रिएका छन्। यसको एक मात्र कारण हो पूरै परिवारको बसाइँसराइ। रिडीकोट गाउँमा कति घरहरूको त अस्तित्व नै मेटिसकेकोे छ। परिवार पूरै बसाइसराइ गरेर देशका अन्य भू–भागमा गएपछि उनीहरूको पुख्र्यौली सम्पत्तिका रूपमा रहेका रहरलाग्दा घरहरू खण्डहरमा परिणत भएका छन्। 

साँफेबगर नगरपालिका—३ सिद्धेश्वरमा पनि केही बाङ्ग्या घर रहेका छन्। सिद्धेश्वरमा रहेका बाङ्ग्या घरहरू पनि जीर्ण अवस्था रहेका छन्। गाउँबाट अधिकाश मानिसहरू बजारतिर झरेपछि घरहरू भत्किने अवस्थामा रहेको सिद्धेश्वरमा समाजसेवी तथा पूर्वप्रधानाध्यापक ध्वजबहादुर कुँवरले बताए। रिडीकोटको बाङ्ग्या घर बनाउने बालुनरसिंह स्वाँर र प्रभाको बाङ्ग्या घर बनाउने चन्द्रमान कुँवर रहेका उनले बताए। उनले भने, ‘यी बाङ्ग्या घरबाट शासन र प्रशासन चल्थ्यो त्यो बेला। चन्द्रमान र बालु सरकारी मान्छे थिए। चन्द्रमान जिम्मवाल थिए भने बालु नेपाली सेनाका लप्टन थिए। ‘चन्द्रमानको सन्तान मै हुँ। त्यति बेला बाङ्ग्या घरमा बस्नेलाई बाङ्ग्याघरी भनेर बोलाउँथे अहिले पनि बूढापाकाहरू यसरी नै चिन्छन्।’ केही परिवार भने त्यही बाङ्ग्यामा अहिले पनि बस्दै आएका उनले बताए। 

रिडीकोट गाउँ जिल्लामै सबैभन्दा पहिले बसाइँसराइ गरी अन्यत्र जाने गाउँमध्येमा पर्दछ। बढी जस्तो सम्पन्न परिवारको बसोबास रहेको छ रिडीकोटमा। राजनीतिमा पहँुच, जागिर पढाइको सिलसिलामा काठमाडौं धनगढीतर्फ जाने र उतै स्थायी ठेगाना बनाउने क्रम बढेपछि घर बाँझै रहेका छन्। बदलिँदो परिवेशसँगै पक्की घर निर्माण हुन थालेपछि यस्ता परम्परागत घरहरूसमेत हराउँदै गएका छन्।

null

यस्ता बाङ्ग्या घरहरू अछामका विभिन्न स्थानमा छन। त्यस बेलाका हुनेखाने, ठूलाबडा, भलादमीले बाङ्ग्या घर बनाउंथे। बझाङ र डँडेलधुरामा पनि बाङ्ग्या घर रहेको लोक देउडा गायक एवम् संस्कृतिविद् प्राज्ञ यज्ञराज उपाध्यायले बताए। गाउँघरमा हुने खाने ठूलाबडा, मुखियाहरू, भलादमीले मात्र बाङ्ग्या घर बनाउने गरेको उनले बताए। उनले भने,‘ यो बाङ्ग्या घर हाम्रो पहिचान हो, यहाँको संस्कृति र कला हो। यसलाई नाले राखेर बनाइएको घर पनि भनिन्छ।’

यहाँका स्थानीय सरकार र स्थानीयहरूले यस्ता पुराना कलात्मक शैलीका घरहरू संरक्षण गर्नुपर्ने उनले बताए।  फेरि यस्ता घरहरू बन्ने सम्भावना नै छैन। अब आउने पुस्ताले यी घरहरू देख्न पाउने नै छैनन्। आजभोलिका आधुनिक शैलीका घर बन्न थालेपछि पुराना घरहरूको अस्तित्व नै मेटिन थालेको उपाध्यायले बताए। उनले भने, ‘पहिले कडा पत्थरले छाएका घरहरूमा देखिन्थे तर अहिले जताजतै सिमेन्ट सरियाबाला घर देखिन्छन्। पहिले स्थानीय स्रोत साधनको प्रयोग गरेर घर बनाइन्थ्यो। जताजतै सडक पुगेको छ बाहिरबाट आयातित सामानहरू गाउँगाउँ पुग्न थाले। पछिल्ला पुस्ताहरूले भनाइ र फोटोमा मात्र घर देख्न पाउनेछन्।’ 

रिडीकोट निवासी नेपाली कांग्रेसका पूर्व जिल्ला पार्टी सभापति भरतकुमार स्वाँरका अनुसार बाङ्ग्या घर हेर्दा अंग्रेजीको सी र एल आकारका जस्ता देखिन्छन्। ‘घर लगाउने विषयमा रिडीकोटमा प्रतिस्पर्धाजस्तै थियो एकताका, ‘उनले भने, राम्रो डिजाइनको घर कसले लगाउने भन्ने होडबाजी नै चल्थ्यो। सीधा घर सबैको हुन्थ्यो। अलि डिजाइन देखाउन बाङ्ग्याखालका घर बनाइएका हुन्। हेर्दा कुनै महलभन्दा कम देखिँदैनन् बाङ्ग्या घर।’ अहिलेका नयाँ पुस्ताहरू र स्थानीय सरकारले यस्ता कुराको संरक्षणमा लाग्नुपर्ने स्वाँरको भनाइ छ। बसाइँसराइले गाउँ नै जंगलमा परिणत हुन थालेको भन्दै संरक्षण जगेर्ना गर्ने विषयमा कस्को ध्यान जानु उनले भने।

null

सुविधा र अवसर खोजीमा बसाइँसराइ बढेपछि पहाडी क्षेत्रका अधिकांश बस्ती रित्तिन थालेका छन्। दुर्गम क्षेत्रमा मात्र होइन जिल्लाका सहरोन्मुख क्षेत्रबाट पनि तराईमा बसाइँ सर्ने क्रम बढेको छ। पहाडी क्षेत्रका गाउँमा सडक पूर्वाधारदेखि अन्य विकास निर्माण भइरहे पनि बसाइँसराइ रोकिएको छैन। अछामबाट अधिकांश कैलालीमा बसाइँसराइ गर्ने गरेका छन् भने कञ्चनपुर, बर्दिया जिल्लाका बासिन्दाको रोजाइमा पनि यही पर्ने गरेको छ। ग्रामीण भेगको मौलिकता र सुन्दरतालाई जोगाउन परम्परागत शैलीका घर निर्माणमा स्थानीय सरकारले प्रोत्साहित गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.