देउडा गीतको उत्पत्तिा खस भाषा र नेपाली माटोबाट भएको हो। जनजनमा माटोको बास्ना छ। माटो हाम्री जननी हुन्।
तल बग्न्या करनाली माथि बग्न्या रेवा
सुन्दर सुदूरपश्चिम र ऐतिहासिक भूमि कर्णालीमा हाम्रा पुर्खाहरूले जतनगरी गाउँदै आएका गौरवशाली गीतहरू हुन्, देउडा। देउडा ती क्षेत्रका सबैथरी मानिसहरूको हँसिलो अनुहार हो, फत्तु (दौरा) सुरुवाल हो, महिलाहरूले लगाउने गुन्यूचोलो र मुन्याठो (कपालमा बाँधेर पिठ्यूँमा लामो गरी कम्मरसम्म छोड्ने सेतो कपडा) हो। साथै टाटु (घाँटी) मा लगाउने चाँदीको माला हो। यतिले कहाँ पुग्छ र देउडाको परिभाषा ? यो त काली कर्णालीको सुन्दरतम भूभागमा बसोबास गर्ने लाखौं संस्कृतिप्रेमीको बोली हो, लोली पनि हो।
देवनागरिक लिपिमा लेखिएको नेपाली नरम भाषाको गरम र गम्भीर अर्थ लाग्ने हुँदा देउडा देवस्तुतिको गहिराइसम्म पुगेको छ। नेपालको सबैभन्दा लामो नदी कर्णालीको व्याख्या माथिको सानो गीतको पंक्तिले मात्र पुग्दैन। कर्णाली नदीको लम्बाइ जति छ, देउडाको अर्थ त्यति नै लामो छ। रारा, सुर्मा, सेफोक्सुन्डोको गहिराइ जति नै देउडा गीत र साहित्यको गहिराइ भएकोले साहित्य र संगीतप्रेमीहरू देउडा विधालाई छोड्न सक्दैनन्, त्यसैमा डुब्न चाहन्छन्।
८/१० वर्षका बालपनका नानीबाबुदेखि ८०/९० वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरू गोलाकार रूपमा खेलिने (नृत्य) खेलमा डेढ कदम उचालेर गीतको भावमा डुबेर घुम्ने कारण पनि यही नै हो। सबैथरी लोकसंस्कृतिप्रेमीहरू किन यसरी देउडा गीत संगीतप्रति मोहित र आल्वादित हुन्छन् प्रश्न गम्भीर छ। राजनीतिमा जनप्रतिनिधिका लागि महिला पुरुष, जनजाति, हिमाल, पहाड तराई भनेर छुट्ट्याउने चलन छ। विभेदकारी नीति अपनाइन्छ, जसका कारण आपसमा झगडा हुन्छ, समाज विभाजित हुन्छ। तर, सर्वप्रिय संस्कृति देउडामा सङ्ग्लो सद्भाव, गहिरो माया र चीरकालसम्मको स्थायी सम्बन्धबाहेक अरू विषय भेटिन्न।
बैतडीका पल्ला कुना गिर्खेलन्या गणो
साई होइझाउ पालौरी साग मै उडन्या चणो।
महाकाली नदीको तीरसम्म फैलिएको बझाङ, दार्चुला र डँडेलधुरा जिल्लाको सीमासम्म जोडिएको बैतडी सहिद जन्माउने जिल्ला हो। अमर सहिद दशरथ चन्दको सालिक छ सदरमुकाम गोठालापानीमा। त्यतिले मात्र पुग्दैन जिल्लाको परिभाषा। कुनैबेला गिरिखेल (हकी खेल) र वर्तमानमा व्रिmकेट खेल्ने, खेलाउने, देउडा खेल पनि खेलाउने भूमि पनि हो, काली कर्णालीका अन्य जिल्ला जस्तै बैतडी। गीतले यही भन्छ। पालौरी साग, माछा र दहीलाई शुभसंकेत मानिन्छ। साई (प्रेमिका) पालौरी साग बनिदिनु म आकाशमा कावा खाँदै उड्ने चरी बनिदिन्छु, क्रिकेट र हकी खेलाडीले खेलप्रति आत्मीय सम्मान देखाए जस्तै। कति गम्भीर अर्थ जोडेको छ यो गीतले। देउडाले सामान्य होइन, गम्भीर अर्थ बोकेको हुन्छ। शब्दशब्दमा अर्थ लुकेको हुनाले देउडाको सुन्दर प्रकृति सबैका लागि पठनीय छन् यी क्षेत्रमा।
मेरा हात छाता छैन नपढ्यै वर्षाद्
आमाले दियाको खानु काशीको प्रसाद।
देउडा गीतले प्राकृतिक भू—वनोटलाई सम्झेर माया दर्शाएझै जन्मदिने महतारी (आमा) लाई पनि उच्च स्थानमा राखी माया गरेको पाइन्छ। आफूसँग छाता नभएको कुरा उल्लेख गर्दै देउडा कवि र गीतकारले र इन्द्र देवतालाई पुकार्दै पानी नपरोस् भन्ने आशयको गीत हो यो। सबैकी जननी आमाले ९ महिनासम्म गर्भमा राखेर कष्टपूर्ण जीवन बिताएको सम्झँदै आमाले पेटभरि खाना नखाएर पनि आफ्ना सन्ततिको पालन गरेको स्मरण यो गीतले दिन खोजेको छ। त्यसैले आमाले जे दिनुहुन्छ, त्यसलाई काशी (बनारस) को र पशुपतिनाथको प्रसादको रूपमा ग्रहण गर्नुपर्ने देखिन्छ। यसका अलावा मातृशक्ति कहिल्यै पनि रित्तिन्न, जन्मदिने आमा परलोक गएता पनि जन्मभूमिको योगदान र प्रेम आफ्ना सन्ततिमाथि जिन्दगीभरसम्म रहन्छ भन्ने बोध पनि दर्शाउछ यो देउडा गीत र देउडा साहित्यले।
मल पोर्सो पढैन हो क्या तल्लासेरीकन
सौरणी लाग्दैन हो कि भौवा मेरीकन।
मौलिक र शुद्ध खाद्यान्न उत्पादनका लागि पोर्सो (गाईबस्तुको मल) खेतहरूमा (सेराहरू) लगाउनु उपयुक्त हुन्छ। सेराखेतमा पोर्सो परेन भने जेठका गहुँ बाली, असोज कात्तिकका धानबाली सुकेर गएझैं दाजुभाइको माया नपाएका व्यक्तिहरू निन्याउरा देखिन्छन्, निष्ठुरी देखिन्छन्, छाडा पनि हुन्छन्। समाजमा गतिहीन व्यक्तिहरूले प्राचीन संस्कृतिमाथि बलात्कार गर्ने गर्छन्। त्यसैले पनि समाज बचाउनका लागि बसुदैव कुटुम्बकम्को शैली प्रयोग गर्नु नितान्त आवश्यक देखिन्छ। भौवा (भाइ) ले दाजुकन (दाइलाई) उचित आदर गर्नु आवश्यक छ, भगवान् रामचन्द्रले लक्ष्मणलाई माया गरेझै समाजका हरेक क्षेत्रका दाजुहरूले अनुजहरूलाई आशीर्वाद दिनुपर्छ भन्ने अर्तीमय गीत हो माथिको।
कुनै व्यक्तिले देउडा गीत खेलबाट उत्पत्ति भएको हो भनेर तर्क दिएको पनि पाइएको छ। महाकालीदेखि कर्णाली नदी र सेरोफेरोसम्मको देउडा गीतको स्थलगत अध्ययन र पुराना नाम चलेका डोटीका चलन्यासाई बझाङ्का मानमल विष्ट जुम्लाका महाशंकर देवकोटा, रत्नाकर देवकोटाहरूको राय, सल्लाहमा खेलबाट देउडा गीतको उत्पत्ति भएको होइन भन्ने तर्क रहिआएको छ।
पंक्तिकारको बुझाइमा पनि देउडा गीतको उत्पत्ति खस भाषा र नेपाली माटोबाट भएको हो। जनजनमा माटोको बास्ना छ। माटो हाम्री जननी हुन्। यसको सुवासबाट गीतहरू जन्मिए, गीतसँगसँगै सयौं भाकाहरू (लयहरू) पनि जन्मिए। तिनै लयका आधारमा र गीतका आधारमा मात्रै देउडा खेल सुरु भएको मानिन्छ। यदि, गीत नजन्मिएर भाकाहरू नआउँदा हुन् त कसरी खेलको जन्म हुन्छ र ?
देउडा गीत केवल महाकालीदेखि कर्णालीसम्मका भूभागमा मात्र सीमित कसरी रहन गए ? कोशीका मैदानी भागमा संस्कृतिकर्मी किन देउडा गीत र संगीतमा रम्न सकेनन् बुझ्न सकेनन् ? खेलमा समावेश त्यस क्षेत्रका विज्ञहरू नलागेर धाननाच र संखुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, इलाम, पाँचथरलगायतका जिल्लाहरूमा मारुनी संस्कृतिप्रति किन मोहित भए ? किन दिनप्रतिदिन मारुनी पनि लोकप्रिय बन्दै गइरहेछ ? यो त माटो, जातजाति, प्राचीन संस्कृति र भू—वनोटको कारणले मात्र लोकप्रिय बनेको हो।
चामल, भला बरमाका गौभला पालिका
दन्त भला, भिनाजुका गाजलु सालीका।
कुन मुलुकको माटोमा के के उब्जनी हुन्छ र कसरी ? प्रश्न सोध्छ देउडा गीतले पारखीहरूलाई। बर्मामा धान धेरै उब्जनी भएझै पाकिस्तानमा गहुँ उब्जनी हुन्छ भनेर गीतले व्याख्या गरेको छ। प्रकृतिमा उब्जनी भएका सबैथरी बिज वनस्पतिको वर्णन देउडा गीतमा गरिन्छ। गीतका सर्जकहरूले सुनेको भरमा र आफ्नै लामो अनुभवको आधारमा गीतका भाव धाराहरूलाई शाश्वतसत्यका आधारमा वर्णन गरेको अनुभव छ। प्रकृतिका सम्पत्ति रूखविरुवाले जंगलमा रात बिताउने जंगली जनावरहरूलाई पनि ओत दिइराखेको छ। संसारमा प्रेमजस्तो उच्च साधन केही छैन। प्रेम गर्न प्रकृतिले नै मानिसलाई सिकाएको हुनाले मानिसहरू मर्यादित प्रेम गर्छन् मन मिलेकाहरूसंग। मानिस—मानिसबीचको असल सम्बन्ध पनि हो देउडा गीत। त्यसैले त भिना—सालीका बीचमा अटुट सम्बन्ध स्थापित गराएको छ माथिको देउडा गीतले।
लेकपानी वर्षन लाग्यो दाउरा बाल तारु
मन् अर्यै मन्दिर जसो जोवन राख्यै फारु।
नेपाल लहरा, पहरा, छहराको देश हो। आफैंमा नदी, पर्वतीय हिमशृंखला, तालहरू झरना र बुकीफूल फुल्ने पाटन (समथल घासे मैदानी भूभाग) को देश भएकोले प्राकृतिक सम्पदाको रूपमा दक्षिण एसियाली मुलुकमा सर्वश्रेष्ठ मानिन्छ। हिमाली भेगमा हिउँ पर्दा तराई भागमा घामले उज्यालिन्छ हाम्रो मुलुक। वर्षामासमा प्रकृतिले नुहाएको बेला सहरको धुवाँ धुलोलाई पखाली दिन्छ।
संसारमा ब्राजिलपछिको दोस्रो ठूलो मुलुक हो जलस्रोतका क्षेत्रमा नेपाल। जलस्रोतबाट उचित फाइदा निकाली देशभरि उज्यालो पारौं। मन, मन्दिरजस्तो स्थिर र पवित्र होस्। तेत्तीसकोटी देवीदेवताको बासस्थान भएको हाम्रो मुलुकमा अशुद्ध कहिल्यै नहोस्। मानिसहरूको जीवन धन्य बनोस्, अशान्ति कदापि नभित्रियोस् भनी शुभकामना व्यक्त गरिएको देउडा गीत हो माथिको।
डाँडा काडा देउडा खेल्छन् हाँसी बस्छ हिमाल
स्वर्गको बगैँचा जस्तो हाम्रो देश नेपाल।