बालबालिका स्कुल जान किन मान्दैनन् ?

बालबालिका स्कुल जान किन मान्दैनन् ?

कक्षा ३ मा पढ्दै गरेको नयन आजभोलि स्कुल जाने बेला भएपछि एक्कासि पेट दुख्यो भन्दै उल्टी (भमिट) गर्न थाल्छन्। दैनिक यस्तो हुन थालेपछि उनका बुबाआमाले उनलाई अस्पताल पुर्‍या । डाक्टरले भनेबमोजिम सबै जाँच भयो। शरीरमा कुनै रोग देखिएन। तैपनि उनको समस्या जस्ताको तस्तै। स्कुल जाने बेला भएपछि मात्र पेट दुख्छ। त्यसपछि ठीक हुन्छ। कसरी स्कुल पठाउने होला, म दिक्क भैसकेँ भन्दै दुखेसो पोख्छिन् नयनकी आमा सरला। 

पेट दुख्ने, टाउको दुख्ने, भमिट हुने, ज्वरो आउने, स्कुल जान्न भन्दै झगडा गर्ने, कतै लुक्नेजस्ता समस्या स्कुल पढ्ने बालबालिकाहरूमा बेलाबेलामा देखिरहन्छ। यस्ता समस्या स्कुल जाने समयभन्दा केही अगाडि उत्पन्न हुन्छन् र समय टरेपछि आफैं हराएर जान्छन्। हेर्दा लाग्छ, बच्चाले नाटक गरिरहेको छ। यसको कारणले उनीहरूको पढाइमा असर पर्ने त छँदै छ, परिवारलाई पनि तनाव बढ्छ। त्यसैले यो बाहाना गर्नु पछाडिको कारण खोज्नु आवश्यक हुन्छ। 

के हो त यसको कारण ?

मान्छेको शरीर बिरामी हुनु स्वभाविक हो। तर, स्कुलको नाम सुन्नेवित्तिकै बिरामी हुनु स्वभाविक होइन। त्यसमा कुनै न कुनै कारण अवश्य हुन्छ। विभिन्न समयमा यस विषयमा गरेको अध्ययनअनुसार बालबालिका स्कुल जान नमान्नुको पछाडि मुख्यतः निम्न कारण रहेको पाइन्छ।

पारिवारिक कारण : परिवारमा बच्चालाई अत्याधिक माया, प्रेम गरिएको छ तर अनुशासन छैन। जे गर्न पनि छुट दिइएको छ भने उसलाई स्कुलको वातावरणमा बस्न गाह्रो हुन्छ। घरमा प्रशस्त खेलौना, सुख सुविधा प्राप्त भएका बालबालिकाहरू पनि स्कुल जान मान्दैनन्।

स्कुलको वातावरण : घरमा जसरी बच्चाले आफूलाई सुरक्षित महसुस गर्छ, त्यसरी नै उसले स्कुलमा पनि सुरक्षा खोज्छ। स्कुलमा गाली गलौज गर्ने, तर्साउने, कुटपिट गर्ने तथा साथीभाइ बिच होच्याउने, जिस्काउने वातावरण भएमा, अनुशासनको नाममा चाहिनेभन्दा बढी नियम कानुन भएमा वा शिक्षक/शिक्षिकाको व्यवहार तथा पढाउने शैली बच्चालाई मन नपरेमा बच्चा स्कुल जान मान्दैन र बहानाबाजी गर्न थाल्छ। 

मनोवैज्ञानिक कारण : स्कुलमा वा स्कुल जाँदा आउँदा कुनै अप्रिय घटना भएमा फेरि पनि त्यो घटना हुने डरका कारण बालबालिका स्कुल जान मान्दैनन्। त्यस विषयमा कसैलाई भन्न नसक्ता, भनिहाले पनि कसैले त्यसप्रति चासो नदेखाउँदा वा उल्टै आफू नै दोषी हुनु पर्दा मानसिक समस्याको स्थितिमा पुग्न सक्छन्। परिवारमा झै-झगडा वा कुटपिट हुने गरेको छ भने आफू स्कुल जाँदा घरमा केही भैसक्छ कि भन्ने डर पैदा हुनाले पनि स्कुल जान मन गर्दैनन्। बच्चा स्कुलबाट फर्कंदा घरमा अभिभावक (विशेषगरी आमा)को उपस्थिति बच्चाले खोज्छ। यदि आमाले ढाँटेर कतै जाने गरेको छ भने बच्चाले आमा छोड्न मान्दैन। स्कुल नजानको लागि बहाना बनाउन थाल्छ। 

शारीरिक समस्या : बारबार बिरामी भइरहने बालबालिकाले पनि स्कुल नजान खोज्छ। आजभोलि सानै उमेरमा आँखा कमजोर भएको पाइन्छ। विशेषगरी साना बालबालिकाले आफूलाई भएको समस्या व्यक्त गर्न जान्दैनन्। त्यसैले स्कुल जान मान्दैनन्।

मोबाइलको लत : आजका बालबालिकाको सबैभन्दा ठूलो समस्या भनेको मोबाइलको लत हो। यसको कारणले स्वास्थ्यमा समस्या, पढाइमा समस्या, पारिवारिक समस्याका साथै सामाजिक समस्या उत्पन्न भएको छ। कोभिडको कारण हरेक बालबालिकाले ग्याजेटको प्रयोग गर्न बाध्य भए। त्यही बाध्यताले कतिपय बालबालिकालाई मोबाइलको एडिक्सनमा पुर्‍याएको छ। यसको कारणले पनि उनीहरू स्कुल नगएर घरमै बस्न रुचाउँछन्। 

समस्याको समाधान
बालबालिकालाई उमेर अनुसारको माया, प्रेमको साथै उचित अनुशासनमा रहन सिकाउनुपर्छ। यसको कारणले स्कुलको अनुशासन सहज लाग्छ। शारीरिक स्वास्थ्य विषयमा विशेष ख्याल राख्नुपर्छ। किनकि बालबालिका बिरामी परिरहन्छन्। बच्चाको आँखामा दृष्टि समस्या (vision problem) छ कि समय समयमा चेकअप गर्नुपर्छ। बच्चासँग जहिले पनि साँचो कुरा बोल्नुपर्छ। अन्यथा उसले जीवनभर अभिभावकलाई आशंकाले हेर्छ।

परिवारमा मोबाइल, टीभीको लागि कुनै निश्चित समय निर्धारण गरी सबैले यसलाई पालना गर्ने नियम बसाल्नुपर्छ। परिवारमा सबैले आफ्नो भावना व्यक्त गर्न सक्ने वातावरण हुनुपर्छ। ता कि उनीहरूले पनि सानैदेखि यसको अभ्यास गर्न पाउन्। यो वातावरणमा हुर्केको बच्चाले कुनै पनि घटनाले कुण्ठित भएर बाँच्नु पर्दैन। स्कुल यातना पाउने ठाउँ नभई धेरै कुरा सिक्ने, खेल्ने, कुद्ने, रमाइलो गर्ने ठाउँ हो भन्ने मानसिकता बालबालिकाको मस्तिष्कमा भरिदिनुपर्छ। स्कुलको वातावरण बालमैत्री बनाउनुपर्छ। यति गर्न सकेमा बालबालिका करले होइन, रहरले स्कुल जान्छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.