मित्र सुपर्णखा एक बिहान मेरा घरमा टप्किए। त्यसो त हामीबीच आउने र जाने पहिलेदेखि नै चलिरहेकै हो। तर एकाबिहानै उनीलाई देख्दा अचम्म लाग्यो।
परिचित आगन्तुकलाई अपवादबाहेक जुनसुकै बेला पनि घरभित्र स्वागत गर्ने नेपाली परम्परालाई मैले सहर्ष स्वीकार गरिआएकै थिएँ। त्यसो हुनाले उनलाई पनि मैले स्वागत गरें। उनको मुहारमा मुस्कानको सट्टा आक्रोशको धिपधिपे बत्ती फुरफुर गरेको लक्षण देखेर सोधें, ‘मित्र, आज अलि क्रोधितजस्तो देख्छु नि !’
‘किन नहुनु ! कस्तो छल ! यस्तो पनि समाजवादी बिहे हुन्छ ?’
‘यो अरू बिहे जस्तो हो र ! समाजवादीले गरिदिएको बिहे भनेर पो त।’
म अलिकति मुस्कुराएँ। उनी सन्किए।
‘म गम्भीर कुरो गर्दैछु, तिमी मुस्कुराउने ?’
‘अर्काको बिहेको कुरामा किन गम्भीर हुने ? त्यसैले म मुस्कुराएको।’ मैले भनें।
‘समाजवादी भनेकाले पो रिस उठेको त। समाजवादको बेइज्जत गर्ने ?’
मैले उनलाई सम्झाउने लवजमा भनें, ‘हेर, समाजवादको पनि वर्ग हुन्छ। कुरो रह्यो कुन वर्गको समाजवाद ? हुँदा खाने र हुने खानेको समाजवादमा फरक त हुन्छ नै। समाज मानिसहरूबाट नै बनेको हुन्छ। मानिसले आफ्नो रुचि र हैसियतअनुसार नै आफ्नो समाज रोजेको हुन्छ। बसउठ, संगत पनि त्यहीअनुसार मान्छेले रोजेको हुन्छ।’
उनले बीचैमा कुरा काट्दै भने, ‘त्यस्तो पनि समाजवाद हुन्छ काहीँ ?’
‘त्यस्तै नै हुन्छ मित्र।’
‘अहँ, म यस्तो कुरो मान्दिनँ।’
‘हो, त्यसैले तिमीले दुःख पाइरहेका छौ।’
‘त्यसो भए हिजोका आस्था, हिजोका प्रतिबद्धता, हिजोका आदर्श आदि सब मरे त ?’
‘मरें मित्र, मरें। हिजोका कुरामा अल्झिएर बसे कसैको पनि विकास हुँदैन। र मानिस स्वाभाविक रूपमा विकास चाहने प्राणी हो। एउटा कुरा भनन— तिमी पुँजीपतिसँग मित्रता गाँस्न चाहन्छौ ? तिमीले चाहे पनि उनीहरूले तिमीसँग मित्रता गाँस्छन् ? देखावटीका कुरा बेग्लै हुन्।’
मैले भनें, ‘त्यसैले हो मैले अघि भनेको। समाजवाद हैसियतअनुसारको हुन्छ। हैसियत बढ्दै गएपछि संगत फेरिँदै जान्छ। बोली फेरिँदै जान्छ। रहनसहन फेरिँदै जान्छ। पुरानै कुरामा अल्झिनेहरू जहीँका त्यहीँ हुन्छन्। आआफ्नो श्रेणीअनुसारको समाजवाद हुन्छ। त्यति कुरा नबुझ्नेले जीवनमा कहिले सुख पाउँदैन। सधैं असन्तुष्ट र आक्रोशित भइरहन्छ। तिमी यो कुरा बुझ र आफ्नो विकास कसरी हुन्छ र उपल्लो समाजवादसँग तादात्म्य मिलाउने प्रयत्न गर। महलमा बस्नेले झुपडी हेर्दैन। जसले हेर्छ त्यो मूर्ख ठहरिन्छ।’
‘त्यसो भए हिजोका वाचाहरू सबै मिथ्या हुन् त ?’ उनी अझै आक्रोशित भए।
मैले भनें, ‘त्यै हो राजनीति। सुख पाउने हो भने पुराना कुरा छाड। आजैबाट त्यो बाटो पुग्नतिर लाग।’ उनलाई मेरो कुरा चित्त बुझेनछ। एकछिन घोरिएर भने, ‘ती हामीले पढेका सबै अब मित्थ्या हुन् त ? हामीले बुझेका सबै गलत थिए त ?’
अब त मलाई पनि अलिअलि रिस उठ्न थालिसकेको थियो। मैले अलि कड्किएरै भने, ‘पुराना कुराहरू, थोत्रा पुस्तकहरूको पछि लागेर केही हुँदैन। हिजो उनको सिको गरेर उनका हैसियतको समाजवादको लागि मरिमेट्यौं। आज पनि उनकै सिको गरेर उनकै समाजवादतिर उन्मुख हुन सिक। तिम्रा यी खालका आक्रोश र मलिनता कोसौं दूर भाग्छ।’
उनी त्यति सन्तुष्ट भएजस्तो लागेन। त्यसैले थपें, ‘चाहिने जति मात्र बुझ्ने कोसिस गर। बढी बुझ्न थाल्यो भने दुःखित भइन्छ। त्यसै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै भनेका होइनन्, ‘प्रभुजी, मलाई भेडो बनाऊ। नबुझेजस्तो गर्दा नै सुख पाइन्छ। अहिले जस्तो चलिराखेको छ त्यसैमा लिप्सिऊ।’
उनलाई चित्त नबुझेको प्रस्टै बुझिन्थ्यो। मसँग सन्किएर चिया पनि नखाई उनी जुरुक्क उठे। एकछिन मौन रहे। चारैतिर हेरे। त्यसपछि मलाई अलि फरक दृष्टिले नियाले। त्यसपछि चुपचाप पाइला अघि बढाए।