गठबन्धनमा सत्ता सौदाबाजी
हिजोआज प्रधानमन्त्रीका अभिव्यक्ति थकित र लाचार छन्। बोलीमा पनि उत्साह र नौलोपन छैन।
बालकोटको बार्दलीबाट सुरु भएको कमरेड प्रचण्डको सत्तायात्राले एक वर्ष पूरा गरेको छ। ठीक एक वर्षअघि पुस १० गते नेकपा एमाले, रास्वपा, राप्रपा, जनमत र केही स्वतन्त्र सांसदको समर्थनमा बनेको थियो। कमरेड प्रचण्ड नेतृत्वको सरकारमा अहिले एमाले, रास्वपा, राप्रपाबाहेक नेपाली कांग्रेसलगायतका धेरै दलको समर्थनमा सरकारमा छ। सरकार निर्माणको सुरुआती चरणमा समर्थन गर्ने एमालेलगायत दललाई बीचबाटोमा छाड्दै कांग्रेसलगायत दलको सत्ता साझेदारीमा चल्दैछ।
प्रचण्ड सरकारले यो एक वर्षमा बिताएका दिनको समीक्षा र प्राप्त गरेका उपलब्धि सरकारका बहीखातामा पक्कै होलान्। जनताको नजरमा पनि वर्तमान सरकारले बिताएका दिनको समीक्षा र गरेका उपलब्धिको लेखाजोखा स्वाभाविक हुने नै भयो, छ पनि। संसद्मा संख्याको हिसाबले बलियो वर्तमान सरकारले जनताका पक्षमा बलिया काम गर्यो कि गरेन यो प्रमुख विषय हो। नागरिकको मूल्यांकनको विषय त सरकारले जनता समक्ष गरेका आम प्रतिबद्धता पूरा गर्यो कि गरेन ? गरिब जनताको आर्थिक स्थितिमा परिवर्तन आयो कि आएन ?
बलियो संख्याको दाबी गर्ने सरकारले यो अवधिमा जनताको पक्षमा बलिया कानुन निर्माण गर्यो कि गरेन ? आपत्विपतमा परेका नागरिकले राहत र आहत पाए कि पाएनन् ? अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जान लाम लागेका युवाको भीडभाड कम भयो कि भएन ? औषधि उपचार गर्न नपाई अकालमै मृत्यु हुनेहरूको ज्यान सरकारले बचायो कि बचाएन ? भ्रष्टाचार र महँगी नियन्त्रणमा सरकारले कठोर कदम चाल्यो कि चालेन ? खुल्ला सिमानाका कारण हुने छिमेकीको हस्तक्षेप कम गर्न सरकारले सार्थक पहल कति गर्यो वा गरेन ? यी र यस्ता विषयले देशमा सरकार भए नभएको अर्थ राख्ने हो ?
उमेर ढल्किसकेको बुढो सिंहले जंगलमा दिन बिताए झैंै प्रधानमन्त्रीको सिंहदरबारमा एक वर्ष बित्यो। बुढो सिंहले आफू सुरक्षित हुन अरू तर्साउन हकार गरे झैं प्रधानमन्त्रीका हुँकारले पनि अहिलेसम्म काम गरेकै छ र सरकार सुरक्षित नै छ। तर जनताको जनजीविका र देशका सन्दर्भमा प्रधानमन्त्रीका ती हुँकार हात्ती आयो हात्ती आयो फुस्सा भने झैं भएका छन्। देशका समस्या, जनताका समस्या जहाँका त्यही, जस्ताका त्यस्तै छन् र ऐंझेरु वनमा झाँगिए झैं दिनप्रतिदिन दुगुनाका हिसाबले झाँगिँदै छन्।
सरकार सिंहदरबारमा बसेको छ, प्रधानमन्त्री दिनहुँ छलफलमा व्यस्त देखिन्छन्। एक वर्षदेखि सिंहदरबार र बालुवाटारमा गठबन्धन दलका नेताहरू बाक्लै आवत्जावत चलेकै छ। परिणाम अदालतले दोषी करार गरेकाहरूको सजाय मिनाहाको निर्णय हुन्छ। चर्चित काण्डका फाइलहरू नखोल्ने सौदाबाजी हुन्छ। न्याय प्रणालीलाई सत्ताका निम्ति कसरी प्रयोग गर्न सकिन्छ, तानावाना बुनिन्छन्। फरक मत राख्नेलाई तह लगाउने उपाय र जुक्तिका बारेमा छलफल हुन्छ।
यो सरकारले गठबन्धन बचाउन र गठबन्धन दलका नेताहरूको व्यक्तिगत काम गर्न हिन्दी फिल्मको डाइलग चरित्रार्थ गर्दै एक वर्ष बिताएको छ। सरकार नेतृत्वको पहिलो नौ महिने कार्यकाल दोस्रो दसमहिने कार्यकाल बिताएका कमरेड प्रचण्डको यो तेस्रो कार्यकाल हो। कमरेड प्रचण्डले नयाँ काम गर्छु र राम्रो काम गर्छु भनेको के रै’छ त ? यो एक वर्षको समयमा घोत्लिएर हेर्दा जनताले कही केही भेटाएनन्।
यो एक वर्षको कार्यकालमा न त द्वन्द्वपीडितका पीडा कम भएका छन्, न त बेरोजगार युवाले रोजगारी पाएका छन्। न त संघीयता बलियो भएको छ, न त यो बीचमा राष्ट्रिय गौरवका योजना सम्पन्न भएका छन्। न तै लिपुलेख, कालापानी र लिम्पियाधुराको जमिन भारतले फिर्ता गरेको छ। के भयो त यो एक वर्षमा नयाँ काम ? र के भयो त यो एक वर्षमा राम्रो काम ? कमरेड प्रचण्डको मन बुझाउन पनि यो पंक्तिकारले भन्दिनपर्ने भो। प्रचण्डले नयाँ कामको नाममा संयुक्त राज्य अमेरिका हँुदै चीनको यात्रा गरे। पुत्री गंगा दाहालकी पुत्रीको गोकर्ण रिसोर्टमा भव्य विवाह गरे, जसलाई राम्रो काम मान्नै पर्ने भयो।
होइन भने वर्तमान प्रधानमन्त्रीको अस्थिर स्वभावले देशको राजनीति मात्र अस्थिर भएको छैन। यो एक वर्षमा सिंगो नेपाली समाज अस्थिरताको सिकार हुन पुगेको छ। गुरु घर विद्या सर भने झैं सत्ताका निम्ति सबै जायज भन्ने प्रचण्ड प्रवृत्ति नेपाली समाजमा विस्तारै विस्तार हँुदै गएको छ। राजनीति भनेको सामूहिक स्वार्थ हो भन्ने मान्यता ओझेलमा पर्दैछ। व्यक्तिगत र पारिवारिक स्वार्थ नै राजनीति हो भन्ने भाष्य बन्दैछ। यो एक वर्षको अवधिमा प्रचण्ड सरकारले जनताको हितमा कम र कांग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवको मन बुझाउन धेरै पापड पेलेको देखिन्छ।
सिंहदरबारमा केही समय स्थायी हुन पार्टी, सिद्धान्त र आदर्शसमेतको सौदाबाजी मात्र भएनन्, सत्ताकै निम्ति भारतसमेत रिझाउन गेरुवस्त्र पहिरनदेखि थुप्रै अवाञ्छित गतिविधिसमेत भए। सरकारको लाचारीका कारण यो बीचमा लोकतन्त्र विरोधीहरूलाई गणतन्त्र ठीक छैन भन्ने मौका मिल्यो। प्रचण्ड सरकारले बिताएका यी एक वर्षका ३६५ दिन सुन माफिया, तस्कर, दलाल, घुसखोरी र भ्रष्टाचारीका निम्ति बितेका प्रत्येक दिन स्वर्णिम नै भएको देखिन्छ। तर नेपाली जनता, सिंगो मुलुक र लोकतन्त्रका निम्ति वर्तमान सरकारले केही गर्न सकेको देखिँदैन।
वास्तवमा सरकारले सही नियतका साथ काम गर्न चाहेको भए देश र जनताको पक्षमा धेरै काम गर्न सक्थ्यो। विकासको लय समात्न नसकेको देशलाई विकास र समृद्धिको मार्गमा हिँडाउन सक्थ्यो। प्रचण्ड सरकारले पूरा गरेका यी एक वर्षका प्रत्येक दिन नेपाली जनताका निम्ति स्वर्णिम दिनमा परिणत गर्न सक्थ्यो। तर वर्तमान सरकार र स्वयं प्रधानमन्त्रीको हातबाट त्यो अवसर गुमेको छ। हिजोआज प्रधानमन्त्रीका अभिव्यक्ति थकित छन्, लाचार छन्। प्रधानमन्त्रीकै बोलीमा कुनै उत्साह छैन, नौलोपन देखिँदैन। यथार्थमा सरकारलाई नै थाहा छैन– ‘सरकार कहाँ छ ?’
- शाही, नेकपा एमालेका केन्द्रीय सदस्य हुन्।