सोइ ढोले सोइ, उँधौलीमा होइ

सोइ ढोले सोइ, उँधौलीमा होइ
सुन्नुहोस्

उँधौलीमा अन्नबाली भित्र्याएपछि तिनचुलो पुजेर पूजाआजा गर्दै साकेला नाच्ने गरिन्छ।

भोजपुर :

‘सिंकौली सेउली सेलेले
नाच्दैमा जाउँ है पेलेले’

यतिबेला किरात राई समुदायहरूको प्रमुख चाड किरात येले ५०८३ उँधौली पर्व सुरु भएको छ। प्रकृतिपूजक किरात राईहरूको बाहुल्य रहेको भोजपुरलगायत नेपालका पूर्वी भेगहरूमा उँधौली साकेला धूमधामले सुरु भएको छ। 

उँधौलीमा विशेषगरी भूमिपूजा र कुखुराको बलि दिई पितृपूजा (माङ) गरिने धार्मिक प्रचलन छ। जाडो याम सुरु भएसँगै शीत छल्न बेसी झर्ने पुर्खाहरूको सम्झनामा उँधौली मनाइने गरेको स्थानीय कुलपूजक तीर्थप्रसाद राई बताउँछन्। राईका अनुसार उँधौलीमा राई समुदायहरू सिकारी युगका आफ्ना पुर्खाले सिकार गरेको र कन्दमूल खाएर जीविका गरेको स्मृतिमा कुखुराको बलि दिने, कन्दमूल खाने, काँचो वनतरुलको टीका लगाउने, अन्य उसिनेका वा भुटेर तारेका कन्दमूल भोजनका रूपमा पनि ग्रहण गर्ने चलन रहँदै आएको परम्परागत विश्वास छ। 

‘प्रकृतिपूजक किरात राईहरू आफ्नो माङ (पितृ कुलदेवता)लार्ई पुज्दै जमिनमुनि फलेका कन्दमूललार्ई पुर्खाको प्रसाद मानेर विभिन्न परिकार बनाई खाँदै, माङपितृको पूजा गर्दै साकेला नाच्दै उँधौली मनाउने गर्ने गर्छन््।’ उनले भने। परापूर्वकालदेखि प्रकृतिपूजक किराँत राईहरूले मंसिर पूर्णिमाका बेला सूर्यको गति दक्षिणतर्फ लाग्ने समय भएकाले उँधौलीलार्ई किराती मुन्दुमी भाषामा ‘दोङदावा’ भन्ने गरिएको उल्लेख छ। 

उँधौलीमा अन्नबाली भित्र्याएपछि तीनचुलो पुजेर पूजाआजा गर्दै साकेला नाच्ने गरिन्छ। उँधौली पर्व किरातहरूको संस्कृतिलार्ई पुस्तान्तरण गर्ने बलियो आधार भएको संस्कृतिविद् कमलजंग राईको ठम्याइँ छ। उनका अनुसार हिउँदको धान्यपूर्णिमाका दिनबाट सुरु हुने उँधौली पर्व पुर्खा र जंगली पशुपक्षीहरू लेकदेखि बेंसीतिर झर्ने समय भएको संकेत गर्ने तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ। 

परापूर्वकाल ढुंगेयुगमा किराँती पुर्खाहरूले पृथ्वीमा कृषि युग सुरु गरेको भन्ने आस्थाका साथ यो पर्व चलनचल्तीमा आएको किराँत अगुवाहरूको बुझाइ छ। बालीनाली भित्र्यायाउने समय, प्राकृतिक प्रकोपबाट जोगिन, इष्टदेवता सुम्दिमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामना गर्दै उँधौली मान्ने गरिएको धार्मिक विश्वास छ।

गैरकिरातीबीच भाइचारा बढाउने साकेला

परम्परागत धार्मिक तथा सांस्कृतिक चाडमा किरात राईका विभिन्न समुदायबीच चण्डी नाचको छुट्टै महत्त्व रहेको छ। राईका विभिन्न जातअनुसारका चण्डी नाचलाई साकेला, साकेन्वा, साक्खेवा र साख्खेवाजस्ता विभिन्न नामहरूले चिनिन्छ।

विशेषगरी किराँत राई समुदायहरू विभिन्न जातीय पहिचान झल्काउने पहिरनमा गोलबन्दी भएर परम्परागत शैलीमा साकेला नाच्ने गर्छन्। हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चम्मर, सेउली लिएर ढोल, झ्याम्टा, बिनायोको तालमा एकै सुरमा गोलाकार घेराभित्र विधिवत् सिली (नाचको किसिम)को साकेला नाच्ने गर्छन्। पछिल्लो समय भ्रातृत्व बढाउने साकेला पर्वमा विभिन्न समुदायका मानिसहरूले पनि साकेला नाच्ने गरेका छन्।

केटाकेटीदेखि बूढाबूढीसम्म गाउँदै नाच्दै उँधौली साकेलाको रौनक बढेको छ। किरात राई समुदायमात्र नभई यतिबेला गैरकिरातहरू पनि साकेलाको तालमा नाच्ने, रमाउने गरेका छन्। पछिल्लो समय उँधौली साकेला नाच राईहरूमात्र नभई गैरकिरात समुदायले पनि मनोरञ्जनात्मक नाचको रूपमा लिने गरेका छन्। हतुवागढी होम्ताङका जनक राईले पछिल्लो पिँढीमा आएर सबै गैरकिरातका लागि भ्रातृत्व झल्काउने उत्सवको रूपमा पनि साकेलालार्ई लिने गरेका छन्। ‘यसरी अरू समुदायका मानिसहरूले पनि साकेला नाच्दा, रमाउँदा एक अर्काबीच धार्मिक सहिष्णुता र सद्भाव बढ्ने हुन्छ।’ उनी भन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.