एपीएफसँग हारे पनि पर्सा-११ सेमिफाइनलमा
वीरगन्ज : सशस्त्र प्रहरीको एपीएफ क्लबसँग हारे पनि पर्सा-११ नेपाल प्रो-क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
वीरगन्जस्थित नारायणी रंगशालाको क्रिकेट मैदान बिहीबार भएको खेलमा एपीएफसँग ८ रनले पराजित भए पनि पर्सा-११ रन रेटका आधारमा अन्तिम चारमा पुग्न सफल भएको हो।
एपीएफले दिएको १२९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पर्सा११ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२० रन मात्र बनाएपछि एपीएफले खेल ८ रनले जित्यो। तर रन रेटमा उ पछि परेका कारण पर्सा ११ ले सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। एपीएफले पर्सा-११ लाई ९७ रनमै अलआउट गर्न सकेको भए पर्सा-११ सेमिफाइनलमा पुग्नबाट बञ्चित हुने थियो।
बिहीबारको खेलमा पर्सा-११ का लागि रुपेश सिंहले आक्रमक ब्याटिङ गरे। सिंहले ३७ बलमा अविजित ४६ रन बनाए। अनिल साहले ८ बलमा १६ रन , इमरान शेखले १० बलमा १५ रन र सुरज पटेलले १८ बलमा १५ रन बनाए।
बलिङतर्फ एपीएफका अबिनाष बोहराले चार ओभरमा १५ रन खर्चिएर दुई विकेट, रमेश कुर्मीले चार ओभरमा १८ रन दिएर दुई विकेट र अमर सिंह रोटैलाले चार ओभरमा १५ रन दिएर एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १२८ रन बनाएको थियो। उसका लागि कप्तान प्रदीप ऐरीले अर्धशतकीय पारी खेले।उनले ४२ बलमा ५२ रन बनाए। यस्तै लोकेश बमले ११ बलमा १९ रन र पुरण विश्वकर्माले २३ बलमा १८ रन बनाए।
बलिङतर्फ पर्सा -११ का कप्तान सन्दीप लामिछानेले चार ओभरमा ३५ खर्चिएर दुई विकेट,रुपेश सिंहले तीन ओभरमा १६ रन दिएर दुई विकेट र रन्जित कुमारले दुई ओभरमा १७ रन दिएर दुई विकेट लिए।
सेमिफाइनलमा यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र भारतको वन्डर्स क्लब नोयडा प्रवेश गरिसकेका छन्। शुक्रबार प्रतियोगिताको दुवै सेमिफाइनल खेल हुनेछ। शुक्रबार पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र पर्सा ११ तथा दोस्रो सेमिफाइनल खेलमा वन्डर्स क्लब नोयडा र नेपाल पुलिस क्लबबीच हुनेछ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजक पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए।