बैंक खाताबाट रकम चोरी गर्ने तीन जना पक्राउ
रौतहट : बैंक खाताबाट रकम चोरी गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौर नगरपालिका-४ का २५ वर्षीय जितेन्द्र गिरी, वडा नम्बर ७ का ३७ वर्षीय दिपेन्द्रकुमार साह र गुजरा नगरपालिका-६ घर भई हाल चन्द्रपुर नगरपालिका-१० बस्ने ४२ वर्षीय राजकुमार साह रहेका छन्।
उनीहरूले चार जनाको खाताबाट २४ लाख ३७ हजार ६ सय ८५ रुपैयाँ चोरी गरेका थिए।
गौर नगरपालिका-४ का जयप्रकाश राय चनौको खाताबाट १२ लाख ४६ हजार ४४०, गौर नगरपालिका-७ का मिश्रीलाल साहको खाताबाट ५ लाख, गौर नगरपालिका-२ महादेवपट्टीका विजय किशोर झाको खाताबाट ८० हजार र चन्द्रपुर नगरपालिका-९ का कृष्णप्रसाद तिमल्सिनाको खाताबाट ६ लाख ११ हजार २०८ रुपैयाँ चोरी गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।