प्रो-क्लब च्याम्पियनसिप टी-२० क्रिकेटको उपाधिका लागि पर्सा-११ र पुलिस भिड्ने
वीरगन्ज : वीरगन्जमा जारी प्रो-क्लब च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि पर्सा-११ र नेपाल पुलिस क्लबबीच भिडन्त हुने भएको छ।
शुक्रबार भएका सेमिफाइनल खेलमा जीत हात पार्दै दुवै टिमले उपाधि भिडन्तका लागि फाइनलमा भेट पक्का गरेका हुन्। सेमिफाइनलमा पर्सा-११ ले त्रिभुवन आर्मी क्लबलाई ३१ रनले र नेपाल पुलिसले भारतको वाण्डर्स क्लब नोयडालाई ४ रनले हराएर फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
नारायणी रंगशालाको क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल भएको खेलमा पर्सा-११ ले दिएको १०० रनको लक्ष्य पछ्याएको आर्मी १६.२ ओभरमा अलआउट हुँदै ६८ रनमै समेटिएपछि पर्सा-११ ले खेल जितेको हो।
आर्मीका लागि कुशल मल्लले २१ बलमा १९ रन, बसिर अहमदले १५ बलमा १० र विनोद भण्डारीले १२ बलमा ९ रनमात्रै जोडे। बलिङतर्फ पर्सा-११ का कप्तान सन्दीप लामिछानेले ३.२ ओभरमा १३ रन दिएर तीन विकेट लिए। अनिल साहले चार ओभरमा २६ रन दिएर दुई विकेट , पवन साहले चार ओभरमा १५ रन दिएर दुई विकेट तथा समसाद अहमदले दुई ओभरमा आठ रन दिएर दुई विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको पर्सा ११ ले १९.४ ओभरमा सबै १० विकेट गुमाएर ९९ रन बनाएको थियो।पर्सा ११ का लागि समसाद मन्सुरीले २२ बलमा १७ रन,अनिल साहले नौ बलमा १५ रन र रूपेश सिंहले नौ बलमा १५ रन जोडे।
बलिङतर्फ आर्मीका सोमपाल कामीले ३.४ ओभरमा २० रन खर्चिएर चार विकेट लिए भने कुशल मल्लले चार ओभरमा २१ दिएर तीन विकेट लिए। साहब आलमले चार ओभरमा १० रन दिएर दुई विकेट हात पारे।
शुक्रबार नै भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा भारतको वण्डर्स क्लब नोयडालाई चार रनको झिनो अन्तरले हराउँदै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो। १ सय १३ रनको लक्ष्यका जवाफी ब्याटिङमा उत्रिएको नोयडा पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८ रनमै समेटिएपछि चार रनले खेल जित्दै पुलिस फाइनलमा पुगेको हो।
नोयडाका लागि बंश बेदीले ४० बलमा ४३ रन बनाए भने अल्पित गुप्ताले १५ बलमा २० रन बनाए।सिद्धार्थ गोस्वामीले २० बलमा १३ रन र उजैर मल्लिकले १९ बलमा १२ रन बनाए। बलिङतर्फ पुलिसका सागर ढकालले चार ओभरमा १७ रन दिएर तीन विकेट लिए। रसीद खानले चार ओभरमा २४ रन दिएर दुई विकेट,ललित राजवंशीले चार ओभरमा २० रन खर्चिएर एक विकेट र शेर मल्लले चार ओभरमा २१ रन दिएर एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १२ रन बनाएको थियो। पुलिसका लागि अर्जुन साउदले ३५ बलमा ४२ रन बनाए। सुनिल धमलाले ४५ बलमा ३४ रन र दिलिप नाथले १३ बलमा १० रनको योगदान गरे।
बलिङतर्फ नोयडाका अल्पित गुप्ताले दुई , सन्जीव चतुर्बेदी, रितिक भट्ट र दियान्स रावतले समान एक-एक विकेट लिए। च्याम्पियनसिपको उपाधिका लागि नेपाल पुलिस र पर्सा इलेभेन बीच शनिबार फाइनल खेल हुनेछ।
पर्सा क्रिकेट संघको आयोजनामा पुष १२ देखि सुरु प्रतियोगितामा नेपालका तीन विभागीय टिमका साथै पर्सा-११ तथा भारतको युपी-११ र वण्डर्स क्लब नोयडा गरी कुल ६ टिमले भाग लिएका थिए।