ऊर्जामा देखिएको आस
देशको अर्थतन्त्रमा आशा जगाउने प्रमुख स्रोत हो, ऊर्जा । बगिरहेको पानी सदुपयोग गरेरै देशले वार्षिक अर्बौं रुपैयाँ भिœयाउन सक्छ । ऊर्जा क्षेत्रमा भएको प्रगतिले केही आशा पक्कै पनि जगाएको छ । देशमा विद्युत् उत्पादन सुरु भएको एक शताब्दी भइसक्यो । तर २८ सय मेगावाट मात्र विद्युत् उत्पादन भएको छ । आशा जगाउने तथ्यांक भने अबको दशकमा उत्पादन हुने विद्युत्को हो । अबको एक दशकमै २८ हजार मेगावाट भन्दाबढी विद्युत् उत्पादन हुने सरकारी दाबी छ । दाबीमात्र होइन, ठूला परियोजनाका काम धमाधम भइरहेका छन् ।
कमजोर बन्दै गएको अर्थतन्त्र उकास्ने प्रमुख आधार विद्युत् उत्पादनको कामलाई तीव्रता दिन सरकारले सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ । त्यसका लागि निर्माण क्षेत्रमा हुने अवरोध, लगानीको सुनिश्चितता र नीतिगत सुधारमा ध्यान दिनुपर्छ । १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी, १२ सय मेगावाटको बूढीगण्डकी, १ हजार ९ सय २ मेगावाट क्षमताको मुगु कर्णाली, ९ सय मेगावाटको अरुण तेस्रो, १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण, ६ सय ७८ मेगावाटको सुनकोसी तेस्रो जलविद्युत्लगायतका गेमचेन्जर आयोजना निर्माणमा हुने चलखेल र विदेशी स्वार्थबाट हुने अवरोध रोक्न सक्नुपर्छ । साथै निजी क्षेत्रतर्फ हालसम्म ९ हजार १ सय ६४ मेगावाटका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता सम्पन्न भएको छ । यी काम समयमै सम्पन्न गर्न सरकारले सबै अवरोध छिचोल्नु पर्छ । यसको मुख्य समस्या भनेको लगानी हो ।
करिब ५० अर्ब डलरका यी योजना सम्पन्न गर्न स्रोत जुटाउन सरकारले गरेको पहल पर्याप्त छैन । साथै विद्युत् व्यापारका लागि बजारको खोजी अर्को महŒवपूर्ण काम हो । चीन, भारत र बंगलादेश महŒवपूर्ण बजार हुन् । नेपाल र बंगलादेशबीच विद्युत् व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१८ मा विद्युत् क्षेत्रको विकाससम्बन्धी समझदारी भएको छ । यसलाई कार्यान्वयन लैजान पनि ढिला गर्नु हुँदैन । नेपाल–बंगलादेश विद्युत् व्यापार सुरु हुन सके नेपालको बिजुलीले बीबीआएन उपक्षेत्रीय बजार प्राप्त गर्नुका साथै दक्षिण एसियासम्म पुग्ने अवस्था निर्माण हुनेछ । सरकारले यी सबै योजना एकैपटक पूरा गर्न सक्दैन । तर प्रभावकारी योजना र निरन्तरको पहलकदमी अनिवार्य छ । सरकारले लिएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्न लगानी आवश्यक छ । सरकारले देखाउने अबको क्षमताले नै आगामी दशकमा हुने विद्युत् उत्पादन र बजारको भविष्य निर्धारण गर्नेछ ।