उपाधि भिडन्तमा गलकोट र ताराखोला
बागलुङ : गण्डकी प्रदेश खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि गलकोट नगरपालिका र ताराखोला गाउँपालिका टोली भिड्ने भएका छन्।
पहिलो सेमिफाइनल खेलमा बिहीबार होटल माउन्टेन भ्यू काठेखोला गाउँपालिका–५ माथि रोमाञ्चक जित निकाल्दै ताराखोला फाइनलमा प्रवेश गरेको हो। ताराखोलाले होटल माउन्टेन भ्यूलाई ३–२ प्रतिस्पर्धात्मक सेटमा पराजित गर्यो।
पहिलो सेटमा २५–२१ को जित निकाल्न सफल ताराखोलाले दोस्रो सेट २०–२५ ले गुमाउन पुग्यो। तेस्रो सेट २५–१७ को सहज जित निकालेको ताराखोलाले चौथो सेटमा प्रतिस्पर्धात्मक २९–३१ ले गुमाउँदा खेल पाचौं सेटमा पुगेको थियो। पाँचौं सेटमा सुरुवातदेखि उत्कृष्ट खेल प्रस्तुत गरेको ताराखोलाले १५–१० को जित निकाल्दै फाइनलमा स्थान पक्का ग¥यो।
दोस्रो सेमिफाइनल खेलमा गलकोट नगरपालिका ढोरपाटन नगरपालिकाविरुद्ध ३–२ को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेको हो। पहिलो सेट २३–२५ ले गुमाएको गलकोट दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–२० ले जित निकाल्न सफल भयो। चौथो सेटमा गलकोटले १५–२५ ले गुमाउन पुग्दा खेल पाँचौं सेटमा पुगेको थियो। गलकोटले पाँचौं सेटमा १५–१२ को जित निकाल्यो।
शुक्रबार तेस्रो स्थानका लागि ढोरपाटन नगरपालिका र होटल माउन्टेन भ्यूबीच खेल हुने सातौं बागलुङ महोत्सवका भलिबल खेल संयोजक संजयकुमार श्रेष्ठले बताए। उनका अनुसार फाइलन खेल शनिबार हुनेछ। विजेताले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ, तृतीय हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना हुने टिमले २५ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने भलिबल खेल संयोजक श्रेष्ठले बताए।