साहित्य जीवनको मार्गदर्शक हुनुपर्छ

साहित्य जीवनको मार्गदर्शक हुनुपर्छ

उपन्यास भन्नासाथ धेरैले ‘बसाइँ’ नाम लिन्छन्। पाठ्यक्रममै राखिएको उक्त कृति सर्वाधिक लोकप्रियमध्ये पर्छ। नेपाली परिवेश उदिनिएको यस कृतिका स्रष्टा लीलबहादुर क्षेत्री यस्ता सिद्धहस्त साहित्यकार हुन् जसले साहित्यका सबैजसो विधामा उत्तिाकै सशक्त कलम चलाएका छन्। उपन्यास, नाटक, कविता, निबन्ध, कथा, समीक्षा-समालोचना हरेकमा उत्तिाकै अब्बल छन् उनी। उपन्यासै चारवटा लेखेका छन्, प्रत्येकका विषय–आयाम पृथक् छन्– ‘बसाइँ’, ‘ब्रह्मपुत्रको छेउछाउ’, ‘अतृप्त’ र ‘प्रतिध्वनिहरू विस्मृतिका’। उनको उपन्यास ‘बसाइँ’को एक पाठ ‘बेंसी’लाई माइकल हटले अंग्रेजीमा अनुवाद गरी नामकरण गरेका छन्– ‘माउन्टेन्स पेन्टेड विथ टर्मेरिक।’ अर्थात्, ‘व्यथै व्यथाले रंगिएको पर्वत’। उमेर उकालो लाग्दै गए पनि उनी लेखन–सक्रियतामै छन्। अझै केही ग्रन्थ निकाल्ने योजनामा छन्। प्रस्तुत छ– ९१ वर्षीय बहुमुखी लेखनजीवी क्षेत्रीसँग असमको गुवाहटीस्थित उनकै निवासमा अखण्ड भण्डारीले हालै गरेको कुराकानीको सम्पादित अंश–


भारतमा जन्मिएर-बसेर नेपाली भाषामा धेरै गतिला, खँदिला र लोकप्रिय कृति लेख्नुभयो। यसको पृष्ठभूमि के हो ? 

मेरो जन्म गुवाहटीमा भयो। तर, म पहाडी ठाउँ सिलङमा हुर्किएँ। त्यहाँ उनीहरूको भाषा हामीले नबुझ्ने, हाम्रो उनीहरूले नबुझ्ने हुन्थ्यो। पुरानो नेपाली समुदाय रहेको त्यस ठाउँमा नेपाली पढ्ने व्यवस्था थियो। मन्दिर थिए। नेपाली पुस्तकका दोकान थिए। त्यो परिवेशले मलाई नेपाली जातिप्रति मोह जगायो। एमएसम्म नेपाली पढ्ने अवसर पाएँ। केही त घरेलु परिवेशले पनि हुन सक्छ। 

घरेलु परिवेश चाहिँ कस्तो थियो ? 
पिताजी हुन त पुलिसमा हुनुहुन्थ्यो। डीएसपीमा अवकाश ग्रहण गर्नुभयो। नेपाली जीवनशैलीभित्रै हुनुहुन्थ्यो। गायत्री जप्नु हुन्थ्यो। रामायण पढ्नु 
हुन्थ्यो। माताजी पनि सँगै हुनुहुन्थ्यो। जसको प्रभाव परिवारमा पर्‍यो।

nullसामाजिक र पारिवारिक परिवेश नै लेखनका पर्याप्त आधार हुन् ?
लेख्ने कुरा वास्तवमा ‘गड गिफ्टेड’ (जन्मजात प्राप्त हुने क्षमता) हो। प्रकृतिले दिएको गुण। जस्तोः कसैले मेहनत गरेर गीतको गेडा त निकाल्ला तर गाउन स्वर चाहिन्छ नै। नत्र सबै तारादेवी हुने थिए।

तपाईंको हकमा ? 
म सिलङमै कक्षा ८ मा पढ्दा सन् १९४९ मा ‘शिव स्तुति’ भन्ने भजन कविताको बुकलेट छापेको थिएँ। त्यसबाट उत्साह र प्रेरणा थपिँदै गयो। लेख्ने 
क्रम बढ्दै गयो।

जतिबेला लेख्न थाल्नुभयो, छाप्न कतिको सजिलो थियो ?
सिलङमा एउटा प्रेस थियो– वाणी प्रेस। मैले त्यसमै छापें। पुस्तकको मूल्य थियो ६ पैसा। ३ सय छाप्न १५ रुपैयाँ लागेको थियो।

त्यो पैसा कहाँबाट आयो ?
टिफिन खाने पैसा जोगाएर राखेको थिएँ। त्यही खर्च गरें।

त्यो कस्तो भजन थियो ?
हिन्दीमा ओम् जय जगदीश हरे भन्ने भजन सर्वत्र प्रचलनमा थियो। त्यस्तै भजन नेपालीमा किन नहुने ? भनेर मैले लेखेको हुँ। बिक्री पनि राम्रै भयो।

उसबेला पत्रपत्रिकामा पनि कृतिहरू छपाउनु भयो होला ? 
पत्रिकामा कृति छापिँदा नाम आउँदै पनि प्रोत्साहन हुन्थ्यो त्यस बखत। पत्रिकाहरूमा मेरा पनि निकै कथाहरू छापिए। वनारसबाट निस्कने पत्रिका ‘युगवाणी’मा सन् १९५२ मा मेरो कथा ‘कर्तव्य’ छापियो। १९५५ मा कविता छापियो। कालिङपोङबाट ‘गोर्खा’ पत्रिका निस्कन्थ्यो। त्यसमा पाँच वटा कथा छापिए। मेरो पहिलो निबन्ध ‘आसाममा गोर्खाली’ पनि त्यसमै छापियो। ६० वर्षभन्दा अघिदेखिका त्यस्तै निबन्ध समेटेर अहिले संग्रह प्रकाशन गर्ने तर्खरमा छु।

पुस्तक प्रकाशन कत्तिको सहज-जटिल थियो ?
त्यसको त कुरै नगरौं। सहज कहाँ हुनु र ? ‘कहिले नफुक्ने गाँठो’ कथा संग्रहका कतिपय कथाहरू पाठ्यक्रममा समाविष्ट थिए। पहिलो संस्करण सकिएपछि कसैले छाप्न चासो लिएनन्। हामीले नै प्रकाशन गर्न कर लाग्यो। २० वटामा अरू ९ कथा थपेर नयाँ संस्करण बनायौं। जे भयो, राम्रै भयो।

तपाईंले उपन्यासै चार वटा लेख्नुभयो– ‘बसाइँ’, ‘ब्रह्मपुत्रको छेउछाउ’, ‘अतृप्त’ र ‘प्रतिध्वनिहरू विस्मृतिका’। सबैका प्रकृति फरक–फरक छन्। तीमध्ये ‘बसाइँ’ सर्वाधिक लोकप्रिय हुनुको कारण के लाग्छ ?
एक नम्बर त ‘बसाइँ’मा जनजीवन दुरुस्त उतारिएको छ। त्यस समयमा त्यसको कदर हुनु स्वाभाविक थियो। नेपालमा शासन व्यवस्था पनि त्यस्तै थियो। त्यसमाथि त्रिभुवन विश्वविद्यालयले पाठ्यपुस्तकमा राखिदियो। प्रमाणपत्र तहमा विद्यार्थी धेरै हुने। सानो किताब सबैले किने। ‘अतृप्त’ पनि यहाँ (असममा) पाठ्यक्रममा छ। तर, स्नातकोत्तर तहमा। विद्यार्थी कम हुन्छन्, कम बिक्छ। दोस्रो कारण– ‘बसाइँ’ एकै बसाइमा पढिसकिने सानो छ।

यसको लेखन पृष्ठभूमि के हो ?
तत्कालीन युद्धका कारण असम, सिलङबाट म झन्डै १० महिनाका लागि पितृथलो तेह्रथुम गएँ। त्यहाँ बस्दा मैले देखेबुझेको जनजीवन मनमा बुनेर ल्याएको थिएँ। त्यसलाई सर्लक्कै उतारेर नेपालीपन दिएको छु यसमा। तर, यो पूरै परिकल्पित उपन्यास हो।

तपाईंलाई आफूले लेखेका कृतिमध्ये लोकप्रिय भएको ‘बसाइँ’ नै उत्कृष्ट लाग्छ कि अरू कुनै ?
गुणवत्ताको दृष्टिबाट वा आफ्नै दृष्टिकोणबाट छान्नु पर्दा ‘अतृप्त’ लाई उत्कृष्ट मान्छु। सबै राम्रा लाग्छन्, सबैभन्दा राम्रो चाहिँ ‘अतृप्त’।

‘अतृप्त’ले तपाईंलाई तृप्त बनाउनुको कारण के हो ?
उपन्यासमा शैलीको विशेष महŒव हुन्छ। शैली गतिलो छैन भने उपन्यास उत्कृष्ट हुन सक्दैन। ‘अतृप्त’मा शैली राम्रो बन्न सकेको छ। समीक्षकहरूले यसको प्रशंसा गरेका छन्। ईश्वर बरालले ‘रत्न संवादयुक्त शैली’ भन्नु भएको छ। गोविन्दराज भट्टराईले पनि सोध्नुभयो, ‘यस्तो कसरी आयो तपाईंलाई ?’ बाहिरको साहित्यको छाप परेको होला भनें मैले। ‘हो, हो, हो, पक्कै’ भन्नुभयो उहाँले।

दोस्रोमा ?
‘अतृप्त’पछि उत्कृष्ट बन्न सकेको कृति हो– ‘प्रतिध्वनिहरू विस्मृतिका’। यो उपन्यासमा मैले बुवाको जीवनीलाई आधार बनाएको छु। यसको लेखन शिल्पलाई धेरैले प्रशंसा गरेका छन्। ‘बसाइँ’ नेपालमा चर्चित भयो। म लेखकको मत चाहिँ यसलाई तेस्रोमा मात्र जान्छ। ‘प्रतिध्वनिहरू विस्मृतिका’ २४० पृष्ठको छ । त्यसलाई गोविन्दराज भट्टराईले संक्षेपीकरण गरेर ६ हजार शब्दको बनाउनुभएको छ, पाठ्यपुस्तकमा राख्न।

साहित्यका सबैजसो विधा– उपन्यास, नाटक, कविता, निबन्ध, कथा, समीक्षा÷समालोचना आदिमा तपाईंले उत्कृष्ट कृतिहरू लेख्नु भएको छ। यो बहुमुखी क्षमताको रहस्य के हो ?
सिर्जना गर्ने भावना, क्षमता र तपस्या छ भने जुनसुकै विधामा लेख्न सकिन्छ। अरू भाषाका साहित्यकारले पनि धेरै विधामा लेखेका छन्। मलाई चाहिँ रहरै रहरले यस्तो बनाएको हो। पहिला नाटकले मलाई तान्यो। नाटक लेख्ने, खेल्ने गरियो। घरको परिवेशले कविता, भजन लेख्न प्रेरित गर्‍यो। पत्रपत्रिकामा १–२ वटा कथा छापिएपछि आख्यान साहित्यमा म तानिएँ।

नाटक लेख्ने र खेल्ने निकै गर्नुभयो ?
लेख्ने भएपछि लेखेर मात्र छुट पाइँदो रहेनछ। लेखकको अन्तरभाव अभिनयबाट मात्र प्रकट हुन सक्दो रहेछ। रेडियोमा काम गर्थें। गुवाहटीमा हलमा नाटक देखाइन्थ्यो। सिनेमा थिएन। गाउँमा मनोरञ्जनको स्रोत थियो नाटक। रेडियोमा नाटक वाचन हुन्थ्यो। तिनमा मेरो सक्रिय भूमिका हुन्थ्यो। लेख्ने पनि सँगसँगै भइरह्यो। सन् १९५६ मा यहाँ मञ्चन गरिएका नाटकको संग्रह ‘लक्ष्य’ प्रकाशित छ। ‘दोबाटो’ साझाले छापेको छ। अरू पनि छन्।

फिल्मको संवाद पनि त लेख्नु भयो नि, होइन ?
सुवास गजुरेलले ‘बसाइँ’ उपन्यासमा फिल्म बनाउने निधो भयो, धेरैले तपाईंले संवाद नलेखी हुँदैन भने। अनि, लेखें।

कुनै एउटा विधामा लेखिरहेको बेला अर्को परिवर्तन कसरी हुन्थ्यो ? पहिल्यै योजना बनाउनु हुन्थ्यो कि अचानक मोडिनु हुन्थ्यो ?
के भावना आएको छ, त्यही थाल्थें। गर्दैै जाँदा अर्कै हुन पनि सक्थ्यो। ‘बसाइँ’लाई पहिल्यै कथा बनाएको थिएँ। उपन्यास भनेर लेखेको होइन। त्यसको शीर्षक थियो– ‘बेंसी’। ‘बसाइँ’को पाँचौं पाठमा ‘बेंसी’ भन्ने शीर्षक पाउनुहुन्छ। त्यही ‘बेंसी’लाई माइकल हटले अंग्रेजी अनुवादमा पुस्तकको नाम बनाएका छन्– ‘माउन्टेन्स पेन्टेड विथ टर्मेरिक।’ अर्थात्, ‘व्यथैव्यथाले रंगिएको पर्वत’।

कसरी उपन्यास बनाउनुभयो नि ?
केही साथीभाइलाई देखाएँ। उपन्यास बनाउन सुझाव दिए। अनि, थपेर उपन्यासको आकारमा ढालें।

त्यसअघि कुनै उपन्यास लेख्नुभएको थियो ?
कक्षा ८ मा पढ्दै एउटा उपन्यास लेखेको थिएँ। त्यसको पाण्डुलिपि थियो। त्यसमा सुनकेशरी रानीको कथा थियो। छाप्नपट्टि गइएन। त्यसले उपन्यास बनाउन प्रेरणा भने दियो।

आफूले लेखेका विधामध्ये छान्नुपर्दा आफैंलाई सबैभन्दा सशक्त कुनमा ठान्नुहुन्छ ?
उपन्यास। उपन्यासले पाएको गरिमा र पृष्ठपोषण अरूले पाएको छैन। पाउँदैन पनि।

तपाईंको लेखाइमा अद्वितीय किसिमको भाषिक सरलता, जीवन, जगत, समाजको सजीव चित्र उतार्नु भएको हुन्छ। कुन वातावरण र मुडमा लेख्ने गर्नुहुन्छ प्रायः ?
कुनै विषयमा लेख्न मानसिक रूपमा मैले सुरु गरें भने खाँदा, बस्दा, हिँड्दा त्यसको प्लट आइरहन्छ। चिन्तन गरेर लेखेपछि गुणवत्ता पनि बढी हुन्छ। चिठी लेख्नु पर्‍यो भने पनि पहिला मानसिक रूपमा लेख्छु। लेख्ने यही समय भन्ने हुन्न। राम्रो लागेर लेख्नु नै मुड हो।

गतिलो साहित्यमा चाहिने गुणहरू के–के हुन् ?
मुख्यकुरो त पाठकको स्तर हेर्नु पर्‍यो। पाठकलाई ख्यालमा राखेर सिर्जनशील साहित्य बनाउनु पर्‍यो। गुणवत्ता त चाहियो–चाहियो। के सन्देश छ, त्यो हेर्नु पर्‍यो। साहित्यका लागि साहित्य होइन, साहित्य जीवनको मार्गदर्शक हुनुपर्छ। जसरी जीवन छरिएको छ, साहित्य पनि उसरी छरिएको र विस्तृत हुनुपर्छ।

उसबेलाका जस्ता खँदिला कृति र गतिला साहित्यकार (जस्तो : लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भानुभक्त आचार्य, तपाईं स्वयम्जस्ता) अहिले नजन्मनुको कारण के होला ?
त्यस किसिमको चिन्तन नै हरायो। जीवनमा जसरी कृत्रिमता बढ्दै गयो, साहित्य, लेखाइ, पढाइ सबै खस्किँदै गए। गुणवत्ता खस्कियो। लेखनमा जीवनको मार्गदर्शन टुट्दै गयो। उदाहरण यही काफी छ– ‘मुनामदन’ कहिल्यै मर्दैन।

तपाईं अर्थशास्त्रको अध्यापक। अर्थविज्ञानको अध्ययनले साहित्यमा अघि बढ्न सहज बनायो कि जटिल ?
अर्थशास्त्रले मानव जीवनको प्रयोजनार्थ बढी दिन्छ। जति पनि अर्थशास्त्रका सिद्धान्त छन्, जीवनसँग जोडिएका छन्। जस्तो ः माक्र्सको द्वन्द्वात्मक भौतिकवाद। यसमा विकासको विषय छ। यथार्थमा अर्थविज्ञान, दर्शन सबैको समायोजित जीवन–अभिव्यक्ति हो साहित्य। जसबाट लिएर साहित्यको माध्यमबाट जीवनको आशा–आकांक्षा समेटिन्छ।

साहित्यमा छिर्ने प्रेरणा कहाँबाट पाउनु भयो ?
भाषाप्रतिको मोह, पहिलो कारण। प्राकृतिक देन, दोस्रो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.