हिंसामा सामाजिक मनोविज्ञान
सृष्टिका आधा हिस्सेदार नारीलाई हेर्ने सामाजिक दृष्टिकोण सकारात्मक बनाउन जरुरी छ।
सृष्टिको रथ धान्ने अर्को पांग्रोलाई हेर्ने दृष्टिकोण समान छ ? अर्थात् नारीलाई हामीले गर्ने व्यवहार समान छ त ? पहुँच र अवसर समान छन् ?
हामीले गर्ने माया, ममता र सद्भावसमान छ ? कानुनमा मात्र समानता आएर व्यवहारमा समानता आउला त ? चर्काचर्का भाषण र तारे होटलका महँगा कार्यक्रमहरूले नारीको जीवनस्तरमाथि उकास्न सक्ला त ? नाम मात्रको समावेशीकरणले नारीलाई सशक्त बनाउन सक्ला ? आज एकपछि अर्को प्रश्न थपिने क्रम जारी छ।
माथिका प्रश्नको उत्तर लेखेर समाधान हुने विषय होइनन्। यी त हाम्रा दैनिकीमा गरिने समान व्यवहार र नारीलाई हेरिने समान दृष्टिकोणले मात्र समाधान गर्न सक्छन्। पुरुषले भन्दा बढी चुनौती, समस्या, पीडा र दुःख भोग्न, समाधान गर्न, जुध्न सक्ने सक्षम नारीले आफैंलाई किन कमजोर देख्छ ? आफ्नो गर्भको भ्रुण छोरी छ भन्ने थाहा पाएपछि गर्भपतन किन गराउँछ ? भर्खर बाबा–आमा बनेका दम्पतीलाई छोरी पाएका रहेछन् भने बधाई दिनसमेत अनकनाउने गर्छौं किन ? दोस्रो दर्जाको नागरिक मान्ने मूलजरो भनेको सदियौंदेखि मनपरी ढंगले चलिआएको पितृसत्ता नै हो। ‘खुट्टा भए जुत्ता कति–कति, मर्दका १० वटी, श्रीमती भनेका रतिक्रियाका खेलौना हुन्’ भन्नेजस्ता आपराधिक भनाइ, गराइ र भोगाइले नारीमाथि शारीरिक रूपमा मात्र नभई मानसिक एवं भावनात्मक रूपमा समेत बलात्कार गरिरहे।
आज सतीप्रथा त छैन तर समाजको नारीलाई हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आउन सकेको छैन। समयअनुसार सूचना प्रविधिमा भएको विकाससँगै अझ बढी नारी हिंसाका स्वरूप फेरिएका छन्। हिंसाका प्रकार झन् विस्तार भएका छन्। पीडित झन् पीडामा पर्ने र पीडकलाई समाजको भाले बनाएर सामाजिक सम्मान दिने दृष्टिकोणमा परिवर्तन आएको छैन। जबसम्म मानसिकता परिवर्तन हुँदैन, जबसम्म हाम्रो दृष्टिकोणमा नारीलाई हेर्ने सकारात्मक दृष्टिकोण हुँदैन, तबसम्म जस्तासुकै अभियान चलाए तापनि हिंसा न्यूनीकरणले गति लिँदैन। आत्मनिर्भरताले नारी हिंसा न्यूनीकरणमा त प्रत्यक्ष रूपमा सहयोग गरेको छ तर पारिवारिक माया, ममता, दम्पतीको सम्बन्धमा बिखण्डनसमेत ल्याएको छ।
आज नारी विभिन्न काममा रोजगारी, व्यापार, व्यवसायलगायतका काम गरेर आफ्नो खुट्टामा उभिने क्रम बढ्दो छ। यो सँगै तिनै नारीको पतिसँग डिभोर्स गर्ने क्रम पनि बढ्दो छ। यसो हुनुको प्रमुख कारण भनेको नारीलाई आफ्नो श्रीमान्ले हेर्ने दृष्टिकोणको खराबी हो। पितृसत्ताले सधैं भाले बन्न सिकाएको लोग्नेले श्रीमती जतिसुकै सक्षम भए पनि, आफूभन्दा ठूलो पदमा जागिर खाए पनि, आफूलेभन्दा बढी मान, सम्मान, प्रतिष्ठा, इज्जतको हकदार भए तापनि उसको लोग्नेको दृष्टिमा ऊ केवल ‘हाउस वाइफ’ मात्र हो। घरको सरसफाइ गर्ने अनि छोराछोरी जन्माउने, हुर्काउने मात्र हो। लोग्नेलाई जुनसुकै बेला सम्भोग गर्न मन लाग्नासाथ तुरुन्तै तयार भइहाल्नु पर्नेभन्दा बढी देख्ने हिम्मत गर्दैन उसले श्रीमतीलाई। अनि सक्षम नारीले यस्ता हर्कतका लोग्नेसँग ‘डिभोर्स’ नगरेर के गरून् त ?
साथीका दम्पती दुवै सरकारी जागिरे छन्। दुवै जना सेकेन्ड कलास अफिसर। श्रीमती अफिस सकेर घरमा आएलगत्तै घरधन्दा थाल्छिन् भने उनका श्रीमान् अफिसको कामबाहेक केही छुँदैनन्। रातभरि श्रीमतीको मोबाइल लिएर सोसल मिडिया चेक गर्दा रहेछन्। अनि कस–कसलाई किन ह्याप्पी वर्थ डे लेखेको, फल्नोसँग हेलो, हाय किन गरेको भनेर रातभर किचकिच गर्दा रहेछन्। उनीहरूका दुइटा छोरा छन्। सम्पत्तिको नाममा भएको घर श्रीमतीको नाममा रहेछ। श्रीमान्ले छोरालाई मम्मीले अर्को बिहे गरी भने त्यो घर तिमीहरूले पाउँदैनौं भन्दै ‘ब्लाक मेलिङ’ गरेर घर छोराहरूको नाममा पास गर्न लगाए छन्। केही महिनापछि थाहा भयो। उनका श्रीमान्ले उपत्यकाबाहिर अर्की श्रीमती राखेका रहेछन्। त्यो श्रीमतीसँग बस्न थालेपछि, अरूले थाहा पाएपछि जेठी श्रीमतीको नाममा भएको घरमा आउन–जान अप्ठ्यारो लाग्ने भएकाले छोराहरूको नाममा पास गर्न लगाए छन्। अहिले ती दम्पतीको डिभोर्स भयो।
माथिको घटना तप्रतिनिधि मात्र हो। यस्ता किसिमका धेरै पीडा आत्मनिर्भर नारीले भोग्नुपरेका छन्। कामकाजी नारीले भान्छाकोठामा श्रीमान्को सहयोग पाउनुको सट्टा उल्टै आफूलाई श्रीमतीले समय कम दिइ भन्ने आरोप लगाउँदै अन्य नारीसँग अनैतिक क्रियाकलापमा लागेका घटना प्रसस्तै छन्। श्रीमती र छोराछोरीको अगाडि घरको काम गर्न लाज लाग्ने तर उनीहरूकै आँखा अगाडि घरेलु कामदार नारीमाथि यौनहिंसा गर्दा आफूलाई मर्द मान्नेहरूको संख्या धेरै छ समाजमा। बर्सेनि ठूला–ठूला तारे होटलहरूमा लैंगिक हिंसाविरुद्धका जस्तासुकै अभियान सञ्चालन गरे पनि जबसम्म पितृसत्ताले सिकाएको भाले संस्कार र प्रवृत्तिमा सुधार आउँदैन, तबसम्म हिंसाको हाँगाबिगा पलाइरहन्छ। यहाँ त जताततै ‘रित्तो आनेमा हात पुछेर’ मर्द अनि ठालु हुनेहरूको पछाडि नै दौडिरहेको छ हाम्रो दृष्टिकोण।
जब मानसिकता नै खराब हुन्छ, हाम्रो हेराइ नै कमजोर हुन्छ तबसम्म समग्र नारीलाई गर्ने व्यवहार सभ्य बन्न सक्दैन। दृष्टिकोण भनेको हरेक व्यक्तिले गर्ने व्यवहारको मुहान हो। यो सफा भयो भने मात्र समतामूलक समाजको निर्माण हुन्छ। यसका लागि हरेकले आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्नुपर्छ। आज पनि नारीलाई पुरुषले मात्र होइन, हामी नारीले समेत हिंसा गर्छौं। हामी बाबाको गल्ती देख्दैनौं, आमाको देख्छौं। दाजुभाइले जे गरे पनि ठीक अनि भाउजू–बुहारीले राम्रो गर्दा बेठीक हुन्छ। छोरोले जे गरे ठीक छोरीले राम्रो गर्दा पनि बेठीक देख्ने मानसिकता र दृष्टिकोणमा परिवर्तनको खाँचो छ।
समग्रमा, हिंसा सामाजिक अपराध हो। सभ्य समाज निर्माणको बाधक हो। जबसम्म हरेक व्यक्तिले राम्रो कामकुरालाई राम्रो भन्ने र नराम्रो कामकुरालाई नराम्रो भन्ने क्षमताको वकालत गर्दैन, तबसम्म हिंसा न्यूनीकरण गर्न सहजता आउँदैन। हिंसा सहने होइन कहने गर्नुपर्छ। स–साना हिंसा गर्दा पीडित चुप्प लागेर बस्यौं भने तिनै पीडकले झन् ठूलो हिंसा गर्न थाल्छन्। अब हिंसाविरुद्धमा शून्य सहनशीलता हरेक घरबाट सुरु गर्नुपर्छ। सृष्टिका आधा हिस्सेदार नारीलाई हेर्ने सामाजिक दृष्टिकोण सकारात्मक बनाउन जरुरी छ।