बालबालिकासँग कसरी घुलमिल हुने ?
बालबालिका एकदमै जिज्ञासु हुन्छन्। हामीले झर्को नमानी उत्तार दिनुपर्छ। सकेसम्म प्रयोगात्मक कुराहरूमा जोड्न सक्नुपर्छ।
भनिन्छ, ‘बालबालिका काँचो माटोसरह हुन्। जस्तो चाह्यो त्यस्तै आकार दिन सकिन्छ।’ तर, अहिलेको अवस्थामा बालबालिकाका हरेक कुरा शिक्षकसँग मात्र सीमित हुँदैन। उनीहरूको सामाजिकीकरण, हुर्किने समयको वातावरण अनि साथसंगतले पनि प्रभाव पारिरहेको हुन्छ। ५–६ वर्षको उमेरमा जे सिक्छन् त्यसले उनीहरूको जीवन निर्धारण गर्छ भनिन्छ। हामीले त्यसबेला हरेक तवरले उत्प्रेरित गर्नुपर्छ।
हरेक बालबालिका जन्मिँदै विभिन्न बौद्धिक क्षमता लिएर आएका हुन्छन्। मनोवैज्ञानिक होस् या बाल विकास, हरेक सिद्धान्तले पनि त्यही कुरामा जोड गरेको देखिन्छ। हुने बिरुवाको चिल्लो पात भन्ने उखान हिजोआज झुटो सावित हुन सक्छ। हामीले बालबालिकालाई उनीहरूजस्तै बनेर सिकाउनुपर्ने हुन्छ। नत्र उनीहरूलाई फरक अनुभूति हुन सक्छ। सहानुभूतिभन्दा सहभाव बढी हुनुपर्छ। समाज कार्यको सिद्धान्तले पनि भन्छ कि हरेक व्यक्ति हाम्रा औंलाका छापजस्तै फरक–फरक हुन्छन्। उनीहरूको फरक पहिचान र क्षमता हुन्छ।
बालबालिकाका हरेक क्रियाकलापलाई कक्षामा मात्र होइन बाहिर पनि ध्यान दिनुपर्ने हुन्छ। सपना, व्यक्तित्व, भावना फरकफरक छ भने सबैलाई एउटै तरिकाले हेर्दा पक्कै न्याय हुँदैन। बेलाबेला सम्झाउने–सिकाउने गर्नुपर्छ। सानो कुराले पनि ठूलो समस्या निम्त्याउन सक्छ। संयमता अपनाउनुपर्छ। एउटै कक्षाका ४० बालबालिका छन् भने उनीहरूको भोगाइ ४० प्रकारकै हुन सक्छ। कसैलाई खेल मन पर्दैन, कसैलाई नृत्य, कसैलाई चित्रकला। कसैलाई साहित्य मन नपर्न सक्छ। कसलाई के, कसलाई के मन पर्न सक्छ।
बालबालिका एकदमै जिज्ञासु हुन्छन्। हामीले झर्को नमानी उत्तर दिनुपर्छ। सकेसम्म प्रयोगात्मक कुराहरूमा जोड्न सक्नुपर्छ। त्यसो गर्दा सजिलोसँग सिक्न सक्छन्। दुना, टपरी बनाउने तरिका पढाउनुभन्दा सिकाउन सकियो भने कहिल्यै बिर्सिदैनन्। परम्परागत सीप पनि पुस्तान्तरण हुन्छ। चाहे औपचारिक शिक्षा होस् या अनौपचारिक, हामीले जीवन र दैनिकीसँग जोड्न सक्यौ भने त्यसलाई बालबालिकाले सजिलै लिने गर्छन्।
विदेशी सिद्धान्त जति घोकाए पनि बिर्सिहाल्छन्। हुन त हरेक बालबालिकाले विश्वव्यापी हुने ज्ञान, सीप सिकोस् भन्ने हो। तापनि, हाम्रा विषयगत पाठ्यक्रम समय सान्दर्भिक हुन सकेको छैन। त्यसैले युवाहरू बिदेसिन बाध्य छन्। हरेक कुरालाई हाम्रो संस्कार, परम्परा, सिकाइ, विज्ञानसँग जोड्न सक्नुपर्छ। अंग्रेजी जानेपछि कहाँ कहिले कसरी काम लाग्छ भन्ने सिकाउनुपर्छ। हामीले दिने शिक्षामा व्यावहारिक र प्रयोगात्मक पक्षमा जोड गर्न सक्नुपर्छ। जसले गर्दा बालबालिकाले एकदम प्राथमिकतासाथ सिक्छन् र त्यो सिकाइ दीर्घकालीन हुनेछ।
बालबालिकालाई सधैं एकै ठाउँमा राखेर पढाउनु, सिकाउनु पनि हुन्न। हरेकले जुन ठाउँ गएको हो त्यहाँबाट आफ्नै तरिकाले सिक्न सक्छन्। आआफ्नो आइडल छान्न प्रेरित गर्नुपर्छ। हरेक कुरालाई पछ्याउन लगाउन सकियो भने पनि आफैं सफलतातर्फ लाग्ने गर्छन्। बेला मौकामा फरक ठाउँ लग्नुपर्छ। कल्पनाका कुरा लेख्न सिकाउनुपर्छ। अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्छ।
एक अध्ययनले भनेको छ कि बालबालिकासँग एउटा यस्तो शक्ति हुन्छ, जहाँ बालबालिकामा हरेक व्यक्तिलाई पहिलो पटक देख्दा नै चिन्न सक्ने क्षमता हुन्छ। उनीहरू कोही नचिनेको व्यक्ति भए पनि छिट्टै आकर्षित हुन्छन्। कोही धेरै वर्षदेखि चिने पनि मन पराउँदैनन्। त्यसैले आजका बालबालिका धेरै अगाडि छन्। एकैछिनमा हरेकको बारेमा पत्ता लगाइदिन्छन्। हामी निरन्तर क्रियाशील भयौं भने मात्र उनीहरूले मानसम्मान गर्छन्। मैले उहिले यस्तो गरेको म यस्तो त्यस्तो भन्ने आधारमा उनीहरूले मानसम्मान गर्दैनन्।
बालबालिकालाई साथी भएर सिकाउन सकियो भने मात्र हामीले दिने शिक्षा लाभदायक हुन्छ। पाठ्यक्रम पनि फरक तरिकाले प्रस्तुत गर्न सकिन्छ। हामी सूचना प्राविधि भए पनि स्मार्ट हुन नसकेको हो कि ? ल्यापटप लगेर देखाउँदैमा पनि स्मार्ट भन्न मिल्दैन। हरेक बालबालिकाको लागि उनीहरूको क्षमता बुझाउन र पहिल्याउन प्रयोग गरिने विधि पद्धति पनि त स्मार्ट हो। त्यसैले हाम्रो शैली पद्धतिमा परिवर्तन गर्न सके बालबालिकासँग घुलमिल गर्न सक्छौं। उनीहरूलाई राम्रो बाटोतर्फ अग्रसर गराउन सक्छौं।
केही सुझाव
- सञ्चारका माध्यमको प्रयोग कम गर्ने अनि प्रयोग गर्दा आफूले निरन्तर हेरविचार गर्ने
- विज्ञान, भूगोल, समाज, सामान्य ज्ञानका कुरालाई प्राथमिकतामा राख्ने
- हरेक प्रश्नको उत्तर दिन झर्को नमान्ने
- बालबालिकालाई निरन्तर फरकफरक अभ्यास गराउने/फरक शैली अपनाउने
- उनीहरूको स्मरणशक्ति बढाउन कथा, कविता सुनाउने, चित्र देखाउने र गर्न लगाउने
- धर्म, संस्कार, संस्कृति, परम्पराको ज्ञान दिने र महत्व बुझाउने
- सामाजिक पर्व, कार्यक्रमलगायत मेला पर्वतिर लग्ने, जसले गर्दा उनीहरूले आफैं धेरै कुरा सिक्छन्।
- हरेक दिन सिकेका कुरा भन्न लगाउने र नराम्रा कुराबारे सम्झाउने, सिकाउने
- फरकफरक तरिकाले गृहकार्य दिने
- हरेक कार्यक्रममा सहभागी गराउने
- –हारजितबारे सिकाउने, जसले गर्दा जीवनमा समस्या पर्दा आफूलाई उत्प्रेरित गर्न सिकोस्।
- गाली गर्दै नगर्ने
- रिस नदेखाउने
- मतलव नगरेको अनुभव नगराउने
- एकोहोरो नबोल्ने
- सहानुभूति मात्र नदिने
- आश्वासनमात्र नदिने, पूरा गर्ने।