विराटनगर : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान सिटौलाले विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
सिटौलाको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् । कांग्रेसले सिटौलालाई आइतबार सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको हो । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्री रहेका सिटौला गत प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट पराजित भएका थिए । सत्तारूढ गठबन्धनका उम्मेदवार उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको सहयोग लिएर पराजित गरेका थिए ।
सिटौला त्यसअघि २०७४ को निर्वाचनमा पनि लिङ्देनसँग नै पराजित भएका थिए । चुनाब हारेकालाई लैजान नहुने मत कांग्रेसभित्र भए पनि कांग्रेसको गत महाधिवेशनदेखि सभापति देउवालाई सहयोग गर्दै आएका सिटौलालाई कसैले रोक्न सकेन ।
नेपालको शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान गरेका सिटौला पूर्वगृहमन्त्री पनि हुन् ।
उनले २०७२ को संविधान निर्माणमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए । सत्तारूढ गठबन्धनको भागबण्डाअनुसार कोशीमा अन्यतर्फ कांग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भएको थियो ।
माओवादीले कोशीमा महिलातर्फ ओखलढुंगाकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनले पनि मनोनयन दर्ता गरिसकेकी छन्।