कर्णालीमा ६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचन

कर्णालीमा ६ जनाको उम्मेदवारी दर्ता
कर्णालीमा सत्ता गठबन्धनका उम्मेदवार। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सुर्खेत : राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धन र नेकपा एमालेका गरी ६ जनाको उम्मेदवारी दर्ता भएको हो । कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार सत्ता गठबन्धनका ३ र एमालेका ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

कर्णालीमा अन्य, दलित र महिला कलस्टर गरी ३ पदका लागि निर्वाचन हुँदैछ । जसका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १/१ सिटमा उम्मेदवारी दिएका हुन् । गठबन्धनको तर्फबाट सोमबार कांगेसका कृष्णबहादुर रोकाय, माओवादीका बिष्णु विक र एकीकृत समाजवादीका सावित्री मल्लले उम्मेदवारी दर्ता गराएका छन् । 

रुकुमपश्चिमका रोकाया कांग्रेस कर्णाली प्रदेश समितिका महामन्त्री हुन् । यस्तै विक माओवादी कालिकोटका नेता हुन् भने मल्ल दैलेखको नारायण नगरपालिकाका पूर्वउप्रमुख हुन् । गठबन्धनबीच अन्यतर्फ कांगेस, दलिततर्फ माओवादी र महिलातर्फ समाजवादीले उम्मेदवारी दिने सहमति अनुसार उम्मेदवारी दर्ता भएको हो ।

 यस्तै, नेकपा एमालेले पनि उम्मेदवारी दर्ता गरेको छ । कर्णालीमा एमालेबाट राष्ट्रियसभा सदस्यका लागि विमलाकुमारी शाही,हिक्मत विक र डिल्लीप्रसाद भट्टले सोमबार उम्मेदवारी दर्ता गरेका हुन् । हुम्लाकी शाहीले महिला, दैलेखका विकले दलित र मुगुका भट्टले अन्य क्लस्टरबाट उम्मेदवारी दर्ता गरेका छन् ।  

उम्मेदवारी दर्ता गर्नका लागि पार्टीका नेता र कार्यकर्ताहरु निर्वाचन कार्यालयसम्म पुगेका थिए । कर्णालीमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित हुने निश्चित छ । कर्णालीमा सत्ता गठबन्धनको मतभार एमालेभन्दा बढी भएकाले पनि गठबन्धनका उम्मेदवारहरुको पल्ला भारी देखिएको हो । ७९ स्थानीय तह रहेको कर्णालीमा स्थानीय तहतर्फ २५ नगरपालिका र ५४ गाउँपालिका गरी १५८ जना मतदाता रहेका छन् । 

जसमध्ये दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ्ग र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि १५६ जनाले मतदान गर्नेछन् । जसको मतभार २ हजार ९६४ हुन्छ । यस्तै प्रदेशसभातर्फ ४० जना सदस्य छन् । जसको मतभार २ हजार १२० हुन्छ । 

यसकारण स्थानीय तह र प्रदेशसभा सदस्यको गरी कर्णालीमा जम्मा ५ हजार ८४ मतभार हुन्छ । कर्णालीमा कांग्रेसको २ हजार ७० मतभार छ । यस्तै माओवादीको मतभार १ हजार ६०१ रहेको छ ।  एकीकृत समाजवादीको मतभार भने २४३ रहेको छ ।

तीन दलको गठबन्धन रहेकाले पनि सत्ता गठबन्धनका उम्मेदवारलाई निर्वाचित हुन सहज छ । कांग्रेसको २ हजार ७०,माओवादीको १ हजार ६०१ र एकीकृत समाजवादीको २४३ गरी कर्णालीमा गठबन्धनको मतभार ३ हजार ९१४ छ ।

यस्तै कर्णालीमा एमालेसँग १ हजार १९५ मतभार रहेको छ । त्यसैगरी राप्रपाको मतभार राष्ट्रिय सभामा ५३ रहेको छ । कर्णालीमा ६ वर्षअघि राष्ट्रियसभा सदस्यमा निर्वाचित भैरवसुन्दर श्रेष्ठ, नरपति लुवार र नन्दा चपाईंको कार्यकाल सकिन लागेकाले खाली हुन लागेको उक्त ३ सीटमा निर्वाचन हुन लागेको हो ।                                                                       
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.